मंगलबार, ११ वैशाख २०८१

अपाङ्गता श्रीमान्को हेरचाह गर्ने नै आगोमा जलेपछि…

समयपोष्ट २०७८ वैशाख १० गते १६:२६

Advertisement

तनहुँको म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते हुनुभयो । पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण रुपमा अपाङ्गता हुनुभयो । यसयता उहाँ ओछ्यानमा थला पर्नुभएको छ ।

भण्डारीको हेरचाह तथा पालनपोषण श्रीमती कल्पना पौडेल भण्डारीले गर्दै आउनुभयो । श्रीमान्को रेखदेख, हेरचाह र परिवारको पालनपोषणको जिम्मेवारी पनि कल्पनाको काँधमा आइलाग्यो । घरमै पसल सञ्चालन गरी परिवारको गुजारा चलाउँदै आउनुभएकी कल्पनाको जीवनमा गत वैशाख ३ गते दोस्रो ठूलो बज्रपात आइप¥यो । ग्यास पड्किएर घरमा आगलागी हुँदा कल्पनाको शरीरका विभिन्न भाग जलेको छ ।

श्रीमान्को हेरचाहमा व्यस्त हुनुपर्ने उहाँ आफैँ उपचारका लागि अस्पताल भर्ना हुनुपरेको छ । उहाँको हाल गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । अरुको सहराबिना शरीर चलाउन तथा दैनिक कार्य गर्न नसक्ने अवस्थामा श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपिएका दीपकले बताउनुभयो । “एकातिर आफ्नो पीडा त छँदै थियो, श्रीमती पनि जलेर घाइते भएपछि थप पीडा थपियो”, उहाँले भन्नुभयो, “हेरचाह गर्ने मान्छे नहुँदा मलाई पनि समस्या भइरहेको छ ।”

उहाँले श्रीमतीको उपचारका लागि आर्थिक अभाव भएपछि सबैसँग सहयोगको अपिल गर्नुभएको छ । “घरमा पसल सञ्चालन गरेर गुजारा चलिरहेको थियो, श्रीमती नै घाइते भएपछि उसको उपचारका लागि पनि पैसा छैन,” भण्डारीले भन्नुभयो, “सबैले सहयोग गरिदिए छिटो निको हुन्थ्यो की ।”

यसैबीच अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँले आगलागीबाट घाइते कल्पनाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । रिसेडका अगुवा ईश्वर बाँस्तोला र किशोर न्यौपानेले उहाँको उपचारका लागि रु ६ हजार आर्थिक सहयोग गर्नुभएको छ । संस्थाका अध्यक्ष पदमबहादुर परियारले कल्पनाको उपचारका लागि आवश्यक समन्वय तथा सहयोग गरिरहनुभएको छ ।

कल्पनाको उपचारका लागि सहयोग गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थाहरुले मुक्तिनाथ विकास बैङ्कको ००७२०६००१०५१२६०००००१ खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री