शुक्रबार, १६ चैत २०८०

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

समयपोष्ट २०७७ चैत २९ गते २१:१६

Advertisement

काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरले २५ हजार लिटर पानी ओसारेको थियो । आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको थियो । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घसंस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण, खानेपानी, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मेलम्ची खानेपानी आयोजनालगायतको समन्वयमा आगलागी नियन्त्रण गरिएको हो । हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ । साँझसम्ममा आगलागी नियन्त्रणमा आएको पोखरेलको भनाइ छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत हो ।

आज बिहान ९ बजेबाट लागेको आगो, तीन दमकल र सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर साँझ नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ । बूढानीलकण्ठ नगरपालिका–१, तौलुङबाट शुरु भएको आगलागी क्रमशः फैलिँदै गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री