शुक्रबार, १४ वैशाख २०८१

अरुण तेस्रोमा लगानी जुट्यो,स्टेट बैंक अफ इण्डिया र नेपालका दुई बैंकबीच सम्झौता

समयपोष्ट २०७५ चैत १६ गते १९:२१

Advertisement

सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । आज राजधानीमा सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ । सो आयोजनामा स्टेट बैंक इण्डियाले रु ६ हजार ५६० करोड, एभरेष्ट बैंकले रु ८१२ दशमलव ६१ करोड र नबिल बैंकले रु ४८७ दशमलव ५८ करोड लगानी गर्ने भएका छन् ।

लगानी सम्मेलनमा भएको यो नै ठूलो लगानीसम्बन्धी सम्झौता हो । सम्झौतामा सतलज विद्युत् निमगका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका असिस्टेन्ट जनरल म्यानेजर सरोती विनोद कुमार, एभरेष्ट बैंकका डिजिएम गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरे ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ । आयोजनाको कूल लागत रु एक खर्ब १४ अर्ब बराबर रहेको छ । लगानी बोर्ड र आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा प्रवद्र्धक कम्पनीले सङ्खुवासभामा आयोजना निर्माण गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गत वैशाखमा सो आयोजनाको शिलान्यास गरेका थिए । जलप्रवाहमा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइको हो ।

सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ । आयोजनाबाट नेपालले कूल रु एक खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र रु ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ । बोर्डको तथ्याङ्कअनुसार आयोजनाबाट नेपाललाई कूल रु तीन खर्ब ३८ अर्बभन्दा बढी आर्थिक लाभ हुनेछ । विश्वव्यापी खुला प्रतिस्पर्धाबाट सतलजले यो आयोजना निर्माणको जिम्मा पाएको हो । वित्तीय स्रोत जुटाएको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री