मंगलबार, ११ वैशाख २०८१

२ रुपैयाँको सिक्काबाट २ मि.लि पानी , उपत्यकाका २० स्थानमा ‘वाटर एटीएम’ मेसिन

समयपोष्ट २०७५ फागुन २१ गते १९:०३

Advertisement

बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ ।

नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटीएमको खानेपानी मन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटीएमबाट पानी झारेर पिएकी थिइन् ।

काठमाडौँ उपत्यकाका २० स्थानमा वाटर एटीएम मेसिन जडान गरिनेछ । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिए । वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ ।

उक्त एटीएमबाट २०० मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । दुई सय मिलिलिटर पानीको मूल्य रु दुई र एक लिटर पानीको मूल्य रु १० राखिएको छ । उक्त एटीएममा रु दुईको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था मिलाइएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर नयाँ प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौतासमेत भएको छ । सो अवसरमा मन्त्री मगरले बाटोमा हिड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्दै पिउने पानीको गुणस्तरलाई ध्यान दिन बोर्डलाई निर्देशनसमेत दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री