मानसिक रोगका बिरामी कोहीँ आफैँ अस्पताल छोडेर भाग्छन्,कसैलाई अस्पतालमै छाडेर कुरुवा भाग्छन्
कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई साता पहिले दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् ।
मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । युवकका दाजु औषधि किन्न भन्दै निस्के पनि त्यसपछि फर्किएका छैनन् ।
मानसिक अस्पतालमै दुई महीना भर्ना भएका अर्का एक व्यक्तिलाई पनि उनका छोराले अस्पतालमै छाडेर सम्पर्कविहीन भएका थिए । काम देखाएर अस्पताल बाहिर निस्किएका उनी साँझसम्म नफर्किएपछि अस्पतालले खोजी गर्यो ।
अस्पतालमा भएको नम्बरमा फोन गर्दा फोन बन्द रहेको थियो । एक महीना पहिले मात्रै बिरामीले दिएको ठेगानाका आधारमा सम्पर्क गर्दा फोन उठेन । उनी आफैँले दिएको ठेगानाका आधारमा परिवार फेला पारेर अस्पतालले अहिले उनलाई घर फर्काइदिएको छ ।
मानसिक रोगका उपचारका लागि आफूसँगै ल्याएका आफन्तले छाडेपछि अलपत्र परेका तीन बिरामी अहिले अस्पतालमा छन् । महीनैपिच्छे दुई÷चार बिरामी परिवारका सदस्य वा आफन्तले छाडेर अलपत्र हुने गरेको अस्पतालले जनाएको छ ।
ती बिरामीको उपचार गर्दै आफन्तको खोजी गरिने प्रमुख कन्सल्टेन्ट साइक्राट्रिस्ट अनन्त अधिकारीले बताए । उनका अनुसार साथमा लिएर आएका बिरामी छाडेर कुरुवा भाग्ने अस्पतालमा समस्याका रुपमा रहेको छ ।
उनका अनुसार बिरामीका बुबाआमा, छोराछोरी, दिदीबहिनी, दाजुभाइलगायत नजिकैका आफन्तले नै उनीहरुलाई उसै छाडेर भाग्ने गरेका छन् । लामो समयदेखि मानसिक रोग लागेका बिरामीलाई यहाँ छाडेपछि उपचार पनि हुने र फर्किएर पनि नआउने आफन्तले सोच्ने उनले बताए ।
अस्पतालले बिरामीको उपचार भएपछि उसलाई नै ठेगाना सोधेर आफन्तको खोजी गर्दै आएको छ । बिरामीले दिएको सूचनाका आधारमा प्रहरीमार्फत उनीहरुको घर खोजी गर्ने गरिएको उनले बताए ।
अस्पतालमा कुरुवाले बिरामी छाड्ने समस्यासँगै बिरामी आफैँ अस्पतालबाट भाग्ने समस्या रहेको अस्पतालले जनाएको छ । बिरामीले आफूलाई केही नहुँदा पनि जबर्जस्ती बिरामी भनेको भन्दै भाग्ने गरेका छन् ।
पचास श्ययाको यो अस्पतालमा भर्ना हुन आउने बिरामीको चाप बढिरहँदा श्यया कहिल्यै खाली नहुने अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि अस्पताल आउँछन् ।
प्रतिक्रिया