शुक्रबार, १४ वैशाख २०८१

अंग प्रत्यारोपणमा फड्को

समयपोष्ट २०७३ चैत ८ गते ४:५०

मृगौला प्रत्यारोपण भन्दाबित्तिकै धेरैले डा.पुकारचन्द्र श्रेष्ठलाई सम्झन्छन् । भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रको नेतृत्व सम्हाल्दै आएका उनले हप्तामा ६ वटासम्म मृगौला प्रत्यारोपण गर्दै आएका छन् । त्यसमा ९८ प्रतिशत सफलता पाएको उनी बताउँछन् । पहाडी जिल्ला बाग्लुङमा जन्मिएका उनको चाहना सानैदेखि ठूलो मान्छे बनेर धेरै पैसा कमाउनेभन्दा अरूले भन्दा फरक काम गरेर देखाउने थियो । उनको परिवारमा दुई दाजुमध्ये एक न्यायाधीश र अर्को इन्जिनियर भएकाले उनले फरक क्षेत्रमा जाने मनस्थिति बनाए । त्यसपछि उनी डाक्टर बन्ने सोच लिएर अगाडि बढे । बाग्लुङबाटै एसएलसी सकाएका उनले अमृत साइन्स क्याम्पसमा आईएस्सी गरे अनि एमबीबीएस अध्ययनका लागि बंगलादेश पुगे । एमबीबीएस सकाएपछि तुरुन्त मान्छेको ज्यान जोगाउन सकिने भएकाले उनले मेडिसिनभन्दा सर्जरीमा अगाडि बढ्ने विचार गरे साथै सफल पनि बने ।

Advertisement

कलिलै उमेरमा कलेजो, मृगौला फेल भएर मत्यु हुने मानिसलाई देख्दा उनलाई लाग्थ्यो, प्रत्यारोपण गर्न सके ती मानिसको ज्यान जोगिन्थ्यो । सोही समय छात्रवृत्तिमा बेलायतबाट स्कटिस फाउन्डेसन फर सर्जरी इन नेपाल भन्ने संस्थाबाट नेपालको युवा सर्जनहरूलाई बेलायतमा तालिम दिने अवसर आयो, त्यसमा उनले आवेदन दिए र उनी छनोटमा पनि परे । उनले कलेजोे प्रत्यारोपणसम्बन्धी विषयमा आफू त्यस तालिममा सहभागिता जनाउने बताएपछि उनी सोही विषयका लागि तालिम लिन बेलायत पुगे । बेलायतमा ६ हप्ता बस्दा उनलाई त्यहाँ अब्जर्भरका रूपमा मात्र राखियो । त्यसपछि उनले रिसर्च गर्ने प्रस्ताव त्यहाँ राखे । प्रस्तावको समर्थन पाएपछि उनी रिसर्च गर्नतिर लागे । रिसर्चको क्रममा उनले कलेजो प्रत्यारोपणअघि र पछिका सबै घटना र विषय वस्तुलाई राम्रोसँग अध्ययन गरे । ६ हप्तामा पूरै तथ्यांक निकालेर त्यसलाई विश्लेषण गर्दै उनले रिसर्चको रिजल्ट निकाले । 
 ‘स्वदेश फर्किने अघिल्लो दिन पावर पोइन्टमा रिजल्ट प्रेजेन्टेसन गरे । अन्तर्राष्ट्रिय सिनारियोमा अन्तर्राष्ट्रिय सिरिजसँग कम्पेयर गर्दा तिमीहरूको रिजल्ट यस्तो छ भनेर देखाइदिए,’ उनी सम्झन्छन् । उनको रिजल्टबाट सबैजना प्रभावित भए । स्वदेश फर्किने समय उनलाई पछि कुनै तालिममा आउनुपरे हामीलाई सम्पर्क गर्नु हामी सहयोग गर्छौं भन्दै त्यहाँबाट बिदा गरियो । त्यसपछि फेरि उनलार्ई त्यहाँ बोलाइयो । त्यहाँ उनले दुई वर्षका लागि कलेजो प्रत्यारोपणको तालिम र जागिर दुवै पाए । सुरुवातमा भाषाका कारण उनले निकै समस्या भग्नुपर्यो, बिस्तारै उनी सबैसँग घुलमिल हुँदै गए । छुट्टीको दिन पनि उनी अस्पताल नै पुग्थे । ‘अस्पतालमा प्रत्यारोपण छ भने अपरेसन थिएटरमा घुसिहाल्थे, छैन भने राउन्डमा गएर बिरामीको अवस्था के छ भन्दै घुम्थे,’ उनी भन्छन्, ‘अरूले भन्दा मैले त्यहाँ धेरै मौका पाएँ । बिस्तारै प्रोफेसरले पनि मन पराउन थाले । दुई वर्षपछि स्वदेश फर्कने समयसम्म त म त्यहाँको हिरो नै भइसकेकोे थिएँ ।’ उनको कामबाट अति प्रभावित प्रोफेसरहरूले बेलायतमा नै बसेर काम गर्न आग्रह गरे पनि उनले आफूले सिकेको सीप स्वदेशको सेवामा खर्च गर्ने योजना बनाए । ‘प्रोफेसरहरूले ‘तिम्रो देशमा सीपको प्रयोग गर्ने स्रोत साधन नै छैन, कसरी गर्छौै भन्थे । त्यतिबेला उनकोे जवाफ हुन्थ्यो, ‘यो काम म गएर नै स्थापना गर्ने हो । बरु त्यसका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ ।’ स्वदेश फर्किएर वीर अस्पतालबाट सन् २००८ डिसेम्बर १२ मा पहिलो प्रत्यारोपण सुरु गरेका उनले अहिले हप्तामा ६ वटासम्म प्रत्यारोपण गर्दै आएका छन् । मानव अंग प्रत्यारोपणको अहिलेको अवस्था र यसका जटिलता, सम्भावनाबारे
डा. श्रेष्ठसंग गरिएको कुराकानी उनकै शब्दमा :


pukar 3

अहिले नेपालको मात्र होइन संसारमै नसर्ने रोगले जितिसकेको अवस्था छ । पहिले विदेशमा सरुवा रोग कम र नेपालमा बढी थियो । अब नेपालमा संख्यात्मक हिसाबमा नसर्ने रोगले जितिसकेको अवस्था छ । नसर्ने रोगमा उच्च रक्तचाप र मधुमेह प्रमुख रूपमा आउँछ । यी दुईवटा रोगहरूले थुप्रै अंगहरूलाई नोक्सान पु¥याउँछन् । यी रोगले त अंग फेल नै गराउँछ, त्यसको अंग प्रत्यारोपणबाहेक विकल्प नै हुँदैन । 
नेपालमा अहिले हाम्रो अनुमानमा वार्षिक करिब तीस लाख मानिसमा मृगौलासम्बन्धी रोग रहेको छ भने तीन हजार जनाको मृगौला फेल हुन्छ । यसको अर्थ तीन हजार जनाको मृगौला प्रत्यारापण गर्नैपर्ने अवस्था हुन्छ । त्यस्तै हरेक वर्ष हजारजनाकोे कलेजो फेल हुन्छ । कलेजको फेल हुनुका कारणमा मादक पदार्थ सेवन, हेपाटाइटिस बी, सी रहेको छ । मुटु, फोक्सो कतिजनाको फेल हुन्छ, त्यो हामीलाई अनुमान पनि छैन । मधुमेहमा प्याङक्रियाज फेल हुन्छ । प्याङक्रियाजको प्रत्यारोपणपछि मधुमेह ठीक हुन्छ । यसरी अहिले अंग प्रत्यारोपणको आवश्यकता अति बढी छ ।
 नेपालमा भर्खरै मात्र मृगौला प्रत्यारोपण स्थापित भएको छ भने कलेजो प्रत्यारोपण सुरु भएको छ । अन्य अंग प्रत्यारोपण त हामीले गरेका नै छैनौ र गर्ने तयारी भइरहेको छ । अहिले हामीकहाँ प्रत्यारोपणको सुविधा भनेको सुरुवाती अवस्था हो । मृगौला प्रत्यारोपणमा हामीले विश्वस्तरकै सेवा दिइरहेका छौं । यसमा नेपालको इतिहास करिब आठ वर्षको भए पनि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा हप्ताको ६ वटा सम्म प्रत्यारोपण गर्ने गरिएको छ । यहाँको गुणस्तर हेर्ने हो भने ९८ प्रतिशत हामीले त्यसमा सफलता पाइरहेका छौं  । यो विश्वको सबैभन्दा उत्कृष्ट केन्द्रहरूको नतिजासँग तुलनायोग्य छ । तर, संख्याको हिसाबले तीन करोड नेपालीका लागि एउटा केन्द्रमा मात्र यति संख्यामा प्रत्यारोपण भएर पुग्दैन । यस्ता केन्द्रहरू अब सबै प्रदेशमा स्थापना गर्नुपर्छ ।मृगौला प्रत्यारोपण नेपालमा गुणस्तरीय र अति कम मूल्यमा उपलब्ध भएको छ । तीनदेखि चार लाख रुपैयाँमा नेपालमा मृगौला प्रत्यारोपण हुन्छ । तर, छिमेकी देशमा त्यहाँको सार्वजनिक अस्पतालमै पनि ६ लाख भारतीय रुपैयाँ खर्च हुन्छ । नेपाली छिमेकी मुलुकमा गएर मृगौला प्रत्यारोपण गर्दा तीसदेखि चालीस लाख रुपैयाँ भनेको दस गुणा बढी खर्च हुन्छ । अहिले प्रत्यारोपणको हिसाबमा देशमा उपलब्ध सेवा सीमित भए पनि यसको स्तर र सेवा सुविधा गुणस्तरीय दिन सक्छ र आर्थिक हिसाबमा पनि देशलाई जति मद्दत पुग्न सक्छ, त्यो विदेशमा गएर कहिले पनि हुन सक्दैन ।
 

प्रत्यारोपण गर्न सकिने अंग
कलेजो प्रत्यारोपण भर्खरै मात्र सुरु भयो, यसमा अझ धेरै गर्न बाँकी छ । हामीले विदेशी सहयोगमा कलेजो प्रत्यारोपण गरेका हौं । कोरियाको विश्व प्रसिद्ध टोली सामसुङ मेडिकल सेन्टरको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण थाल्यौं । अझै पनि केहीपटक हामीले उहाँहरूको सहयोग पाउँदै छौं  । यसलाई स्थापित गर्न केही समय लाग्छ । कलेजोको शल्यक्रिया एकदम जटिल किसिमको शल्यक्रिया हो । यसमा अंग दिने र लिने दुवैको जटिल शल्यक्रिया हुन्छ । त्यसैले सुरुकै अवस्थामा हामी नै सबै गर्छौं भन्न सकिँदैन । यसमा कसैको जीवन जोडिएको हुन्छ, त्यसैले सेवाको स्तरको पनि कुरा आउँछ । हामी कसैलाई पनि कुनै किसिमको जोखिम नहोस् भन्ने चाहन्छौं  । कलेजो प्रत्यारोपण शल्यक्रियामा हामी सफल भयौं । अब आगामी दिनहरूमा पनि यही किसिममा होस् । त्यसैले केही समय हामी विदेशी सहयोगमा गर्छौं । 
कलेजो प्रत्यारोपण स्थापित भइसकेपछि मुटुको ओपन हार्ट सर्जरी हामीकहाँ भइरहेको छ । ओपन हार्ट सर्जरी गर्ने तीनजना शल्यचिकित्सकहरू हुनुहुन्छ । दुईजना अमेरिकी र एकजना बेलायती । उहाँहरू १८ वर्ष प्रत्यारोपणसम्बन्धी नै काम गरेर आउनुभएको छ । ओपन हार्ट सर्जरी स्थापित भएर नियमित हुन थालेपछि हामीहरू मुटुको प्रत्यारोपणको तयारीमा लाग्छौं । यसरी अहिले मृगौला प्रत्यारोपण स्थापित भइसकेको छ, कलेजोको पनि सुरुवात भएको छ, यसलाई स्थापित गरेपछि मुटुको प्रत्यारोपण संभव छ । 
कलेजो प्रत्यारोपणका लागि छिमेकी देशहरूमा डेढ करोड नेपाली रुपैयाँ खर्च लाग्ने गरेको हामीले सुनेका छौं । तर, हामीले पहिलोे कलेजो प्रत्यारोपण निःशुल्क गर्यौं। अबको प्रत्यारोपणमा हाम्रो हिसाबमा २५ लाखसम्म खर्च हुने अनुमान गरेका छौं । 


pukar 1

अंग प्रत्यारोपणका जटिलता
सबैभन्दा पहिले अंग प्रत्यारोपण गर्ने व्यक्ति नै अति गम्भीर अवस्थामा हुन्छ । अंगले नै काम गर्न छाडेको व्यक्ति भएकाले बिरामीको अवस्था निकै नै चिन्ताजनक हुन्छ । त्यो अवस्थाबाट गम्भीर बिरामीलाई जटिल शल्यक्रिया गरेर फेरि पहिलेको स्वस्थ अवस्थामा ल्याउनु भनेकै ठूलो चुनौती हो । यो स्वस्थ व्यक्तिको गलस्टोन, मृगौलाको पत्थरी निकालेकोजस्तो अपरेसन होइन । यो अपरेसन भनेको एउटा अंग फेल भएको गम्भीर बिरामीलाई अपरेसन गर्नु भनेको आफैंमा चुनौतीपूर्ण छ । फेरी अर्काको शरीरबाट अंग निकालेर निर्जीवजस्तो भएको अंगलाई गम्भीर बिरामीको शरीरमा जोडेर फेरि प्राण दिने भनेको त निकै चुनौतीपूर्ण कार्य हो । यसका लागि ठूलो जनशक्ति, भौतिक पूर्वाधार चाहिन्छ । 
प्रत्यारोपणमा संक्रमण हुने जोखिम त्यत्तिकै हुन्छ, त्यसका लागि धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि औषधि पनि असाध्यै महँगो छ । अर्काको अंगबाट अंग लिने व्यक्तिको शरीरले त्यो अंगलाई ग्रहण गर्ने सम्भावना कम हुन्छ । हाम्रो बायोलोजीमा त्यो किसिमको प्रतिरक्षा शक्तिले अर्काको अंगलाई अस्वीकार गर्छ । प्रतिरक्षाका लागि शरीरको त्यही पद्धति पनि छ । त्यसकारणले त्यो अंगलाई स्वीकार्य बनाउनुपर्ने बाध्यता छ । त्यसका लागि औषधि सेवन गर्नुपर्छ । त्यो औषधिले प्रतिरक्षा शक्तिलाई ग्रहण गर्ने व्यक्तिको प्रतिरक्षा शक्तिलाई नै कमजोर पारेरमात्र त्यो अंग स्वीकार्य बनाउनुपर्छ र बनाइन्छ । प्रतिरक्षा शक्ति नै कमजोर भएपछि फेरि नचाहिने ब्याक्टेरिया, भाइरसले आक्रमण गर्ने, विभिन्न किसिमको संक्रमणको सम्भावना हुन्छ । अंग स्वीकार्य बनाउनका लागि एकातिर कडा औषधि खानुपर्यो । पैैसा खर्च भयो । त्यसले गर्दा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुने हुँदा थप चुनौतीहरू थपिने भए । यो सबैको सन्तुलन मिलाएर अंग प्रत्यारोपण गर्नुपर्छ । यसलाई मेन्टेन पनि बढी सावधानी अपनाएर गर्नुपर्छ । जथाभावी औषधि दिएर त्यसको डोज क्यालकुलेट नगरी पठाइदिएर हुँदैन । औषधिको डोजको लेबल चाहेअनुसार भएको छ कि छैन भनेर जाँच गर्नुपर्छ । लेबल बढी भयो भने प्रतिरक्षा शक्ति झन् कम हुन्छ । लेबल कम भयो भने त्यसले काम नै गर्दैन । अंग फेरि फेल हुन सक्छ । अंग प्रत्यारोपण कार्यमा चुनौती नै चुनौती छन् । 
 

अंग प्रत्यारोपणमा कानुनी व्यवस्था
पहिले नेपालको अंग प्रत्यारोपण कानुन एकदमै साँघुरो थियो । आफ्नै परिवारभन्दा बाहिर जान नसकिने अवस्था थियो । अहिले नाता पर्ने जति सबैले अंग दान गर्न पाउँछ । प्रत्यारोपण गर्न अंग चाहियो, अंग अरूले दान गर्नुप¥यो । यसअघि अंग दान गर्ने नाता नै यति सीमित थियो कि त्यसका लागि नेपालमा धेरैजसो मानिसको प्रत्यारोपण नभएर बिदेसिनुपर्ने बाध्यता थियो । दस गुणा पैसा तिर्ने, बाहिर गएर दुःख पाउने । स्तरीय केन्द्रमा पुग्छ कि पुग्दैन त्यो पनि चुनौतीपूर्ण कुरा थियो । 
अब नयाँ प्रत्यारोपण कानुनमा अंग दान गर्न सक्ने व्यवस्था यति फराकिलो पारिएको छ कि नाता पर्ने सबैले अंगदान गर्न पाउँछन् । यति धेरै फराकिलो दायरा बनाएर पनि अंग म्याच गरेन भने बिरामीको अर्को परिवारबीच अंग साटासाट गरेर प्रत्यारोपण गर्न सक्ने व्यवस्था अहिलेको नयाँ कानुनमा गरिएको छ । यसरी साटासाट गर्दा कसैलाई पनि हानि भएन । त्यो पनि हामीले गरिसकेका छौं । अर्को सबैभन्दा महत्वपूर्ण कुरा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंग निकाल्ने र प्राथमिकता क्रमअनुसार अंग हालिदिने त्यो पनि नयाँ कानुनमा स्पष्ट व्यवस्था गरिएको छ । 
नेपालमा एकदम सवारी दुर्घटना हुने गर्छ । दिनको पाँचजनाको सवारी दुर्घटनाबाट मृत्यु नै हुने गर्दोरहेछ । एकजना मस्तिष्क मृत्यु भएको मानिसबाट आठवटा अंग प्राप्त हुन्छ । दुईवटा मृगौला, दुईवटा फोक्सो, एउटा कलेजो, एउटा मुटु, एउटा सानो आन्द्रा, एउटा प्याङक्रियाज पाइन्छ । त्यसपछि आँखाको नानी, छाला त्यो त छँदै नै छ । प्राण नै बचाउन आठजना व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । पहिले कानुन नभएर नेपालमा मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग सबै खेर गइरहेको थियो । तर, अब अहिले कानुन बनेको छ । यो कानुन कार्यान्वयन हामी गर्दै छौं । मानव अंग प्रत्यारोपण केन्द्रमा दुई वटा टोली चौबीसै घन्टा पूर्ण तयारी अवस्थामा रहेको छ । 
न्युरो अस्पतालमा मस्तिष्क मृत्यु भयो भने मानव अंग प्रत्यारोपण केन्द्र, जसलाई समन्वय इकाइ तोकिएको छ, उसलाई ब्रेन डेथ भयो भनेर पहिले खबर गर्नुपर्छ । त्यसपछि मानव अंग प्रत्यारोपण केन्द्रको समन्वय इकाइ त्यो केन्द्रमा जान्छ । मस्तिष्क मृत्यु भएको परिवारसँग परामर्श गरेर उहाँहरूले यदि अंग दान गर्न सहमत हुनुभयो भने त्यो अंग निकाल्ने ,नेपाल सरकारले विभिन्न मापदण्ड बनाएको छ, त्यो मापदण्डअनुसार प्राथमिकता राखिएको व्यक्तिले त्यो अंग पाउने व्यवस्था गरिएको छ । मस्तिष्क मृत्युबाट हुने अंग प्रत्यारोपण थालेपछि नेपालले प्रत्यारोपण क्षेत्रमा ठूलो फड्को मार्छ भन्ने मलाई लाग्छ । 
 

अंग दान जनचेतनाको कमी
अंग दान र अंग प्रत्यारोपणका लागि जनचेतना जगाउने उद्देश्यले हामीले हरेक वर्ष विभिन्न किसिमका कार्यक्रमहरू गर्ने गरेका छौं । हामीले हरेक वर्ष अंगदान र्याली निकाल्छौं । अन्तक्र्रिया कार्यक्रम, निःशुल्क स्वास्थ शिविर, अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरको गोष्ठीहरूको आयोजना गर्छौं । हरेक वर्ष वैशाख १ गते अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलकुद आयोजना गर्छौं । खेलकुदको मुख्य उद्देश्य भनेको प्रत्यारोपण गरेकाहरू र प्रत्यारोपण गराउनेहरू जस्तो डाक्टर, नर्स, पत्रकार, राजनीतिज्ञ, समाजसेवीहरूको टोली एकातिर र प्रत्यारोपण गरेका र गराउनेहरूको टोली एकातिर रहेर मैत्रीपूर्ण फुटबल हुन्छ । त्यो फुटबल पनि अंगदाता र प्रत्यारोपण गरेका व्यक्ति कुनै पनि हालतमा अरू स्वस्थ व्यक्तिभन्दा कम छैनन् । उनीहरू शारीरिक र मानसिक दुवै रूपमा समान छन् भनेर उदाहरण देखाउनका लागि आयोजना गरिएको हो । तर, हामीले गरेको यो प्रचार–प्रसारले मात्र पुगेको छैन । यो सन्देश गाउँगाउँमा पुगेको छैन । गाउँका मानिसमा अंग दान ग¥यो भने म आफैँ बिरामी हुन्छु भन्ने भावना रहेको पाइन्छ । मरेको मानिसबाट पनि अंग दान गर्न सकिने व्यवस्था छ तर आजसम्म पनि हामीहरूले त्यो सुरु गर्न पाएका छैनौं । चारवटा ठाउँबाट कल आयो तर कुरा मिलेन । एक ठाउँबाट त हाम्रो उपचार गर्दा खर्च भएको छ, डेढ लाख रुपैयाँ दिनुहोस् भनेर पैसा नै मागियो । मैले कहाँबाट पैसा दिने । यस्ता थुप्रै कुराहरू छन् । मरेको मानिसको अंग जुन खरानी हुन्छ, त्यसलाई दान गरेर अर्को कुनै व्यक्तिको जीवन बचाउन सकिन्छ है भन्ने चेतना जगाउने काम हामीहरूबाट भइरहेको छ तर जनचेतनाको स्तर जहाँसम्म पुग्नुपर्ने हो, त्यो पर्याप्त छैन । गाउँगाउँ, वडावडा, हेल्थपोस्ट लेबलमा यो सन्देश पुग्नुपर्छ । नत्र मस्तिष्क मृत्यु भएको मानिसको आफन्तको अगाडि गएर कुरा गर्दा उनीहरू रिसाउन सक्छन् । मलाई यस्तो दुःख परेको बेला यस्तो कुरा गर्ने भन्ने हुन्छ । चेतनाको अभाव छ र अझै धेरै काम गर्न बाँकी छ । 
अंग दानमा जुन जनचेतनाको कमी छ, मृगौला दान नगरेका हामीजस्ता स्वस्थ व्यक्तिभन्दा मृगौला दान गरेका व्यक्ति बढी बाँचेको चिकित्साविज्ञान अध्ययनमा पाइएको छ । परिवारमा कसैको मृगौला बिग्रिएको छ भने मृगौला दान गर्नुपर्ने अवस्था छ भने नहिच्किचाउनुहोस् । परिवारमा एकजनाको मृगौला फेल भयो भने पूरै परिवारले दुःख पाउँछ । कहिले घरमा शान्ति हुँदैन । त्यसरी पूरै परिवार अस्वस्थ भएर बस्नुभन्दा एकजनाले मृगौला दिँदा त्यो व्यक्ति पनि पहिलेकै अवस्थामा फर्किन्छ र दान गर्ने व्यक्ति पनि अरूभन्दा बढी बाँच्छ । यस्तो पवित्र कार्य नहिच्किचाइ गर्दा सबैको परिवार स्वस्थ हुन्छ । 
 

 पुरुषभन्दा महिला अगाडि
हामीले सुरुको अवस्थामा नब्बे प्रतिशत पुरुषको प्रत्यारोपण ग¥यौं । त्यसमा ८० प्रतिशत दाता महिलाहरू रहे । कुनै प्रश्न नै नगरी आमाले छोरालाई दिने, छोरीले बुवालाई दिने र सबैभन्दा धेरै श्रीमतीले श्रीमान्लाई दिने । श्रीमान्ले दिनुपर्दा म कमजोर छु, मैले कमाइ गर्नुपर्छ, मैले घर चलाउनुपर्छ, म जागिरे छु भनेर श्रीमान् उम्कन खोज्ने तर श्रीमतीले मेरो श्रीमान्को शरीर रह्यो भने पो म बाँचेको अर्थ रह्यो भनेर दान गर्ने गरेको प्रशस्त उदाहरण छन् । समर्पण गर्नेमा महिलाहरू नै बढी हुने गरेको पाइयो । यसो हुँदा पुरुषहरूले शोषण गरे तर महिलाहरूले त्याग गरे । यसले गर्दा यसलाई विभिन्न किसिमले सम्बोधन गर्ने प्रयास गरिरहेका छौं । जस्तो हाम्रो मानव अंग प्रत्यारोपण केन्द्रमा पुरुषले महिलालाई अंग दियो भने हामी ५० हजार रुपैयाँ दिन्छौं । त्यसमा आरोग्यले आधा र अंग प्रत्यारोपण केन्द्र भक्तपुरले आधा बेहोर्छ । 
अहिले नयाँ प्रत्यारोपण कानुनमा महिलालाई पनि धेरै प्रोत्साहन गरिएको छ । जस्तो मस्तिष्क मृत्युबाट आएको अंग कसले पाउने भनेर बनाइएको प्राथमिकताक्रममा त्यसमा पुरुषले एक नम्बर र महिलाले तीन नम्बर पाउँछ । किनभने महिलाहरूले बढी मात्रामा अंग पाउन सकून् । स्वस्थ व्यक्तिले दिदा त पुरुषले लिएको लियै गर्यो तर कम्तीमा मरेको मान्छेको अंग आउँदा महिलाले पाउन सकून् भनेर प्राथमिकताक्रममा महिलालाई अगाडि राखेका छौं  । यसरी सम्बोधन गर्ने कोसिस भएको छ । तर, अहिलेसम्म व्यवहारमा महिलाहरू दाता र पुरुषहरू ग्रहणकर्ता नै भएका छन् । 
 

केन्द्रहरू विस्तार गर्नुपर्ने चुनौती
सरकारले मानव अंग प्रत्यारोपरण केन्द्र भक्तपुरलाई पूर्ण रूपमा सुसज्जित गरेको छ । त्यहाँ भौतिक साधन, जनशक्ति सबै किसिमले अहिले सुरुवाती चरणका लागि सबै ठिक छ । तर, त्यहाँ अब बिरामी थपिए भने भर्ना गर्ने ठाउँ पुग्दैन । सय बेडको मात्र हो त्यो, त्यसैले त्यो दुई वर्षअगाडि नै भरिसकेको छ । अब सबै बेडमा मृगौलाको बिरामीलाई नै ठाउँ छैन । त्यहाँ मेचीदेखि महाकालीसम्म मात्र होइन, भारतबाट समेत बिरामी आउँछन् । उनीहरूलाई उपचार नगरी डिस्चार्ज गर्न भएन । अन्य कलेजो, मुटुका बिरामीहरू र मृगौलाकै अन्य नयाँ बिरामीहरूलाई कहाँ लगेर भर्ना गर्ने भन्ने ठूलो चुनौती छ । त्यसैले त्यहाँ तुरुन्तै स्थानको विस्तार गर्नुपर्ने आवश्यकता छ । त्यस्ता भवनहरू अरू दुईवटा बनाउनुपर्ने अवस्था छ । कलेजो प्रत्यारोपणमा पनि हामीले संख्या धेरै बढायांै भने कलेजोका लागि कम्तीमा पनि एउटा छुट्टै ब्लक चाहिन्छ । 
कलेजोको बिरामी भर्ना गर्दा अपरेसन अगाडि केही दिन र अपरेसन पछाडि पनि केही दिन राख्नुपर्ने हुन्छ । त्यसकारण कलेजो र मुटुका लागि कम्तीमा पनि एक/एकवटा ब्लक चाहिन्छ । अहिलेका लागि चालीस÷पचास बेड हामीले पायौं भने कम्तीमा पनि राहत मिल्थ्यो । भविष्यका लागि त अहिलेको जस्तो तीनवटा भवन बनाउनुपर्छ अनि मात्र पूर्ण क्षमतामा काम गर्न सक्छांै । अहिले हामीलाई धेरै कलेजो प्रत्यारोपण गर्नका लागि स्थान अभाव रहेको छ । अर्को नियमित रूपमा मुटुको उपचार, ओपन हार्ट सर्जरी भइरहेको छ, त्यसका लागि स्थान अभाव भएकाले सेवा विस्तार जुन गतिमा गर्न चाहन्छौं, त्यो पाइरहेका छैनांै । भक्तपुरमा मानव अंग प्रत्यारोपण सुरु गरेदेखि वार्षिक अथवा मासिक रूपमा पहिले मानिस विदेश जान्थे भने अहिले धेरै मानिस स्वदेशमै बसेर उपचार गरिरहेका छन् ।


pukar 2

पैसा स्वदेशमै रोक्न सफल
एकजना मृगौला प्रत्यारोपण गरेको हिसाबमा छिमेकी देशमा जाँदा तीसदेखि चालीस लाख खर्च हुँदोरहेछ । तर, हामीकहाँ जम्मा तीनदेखि चार लाखमा यो सेवा पाइन्छ । स्वदेशमा एकजनाको प्रत्यारोपण गर्दा तीस लाख जोगिँदोरहेछ । कलेजो प्रत्यारोपणमा छिमेकी देशमा डेढ करोड खर्च हुँदोरहेछ । तर, नेपालमा त्यो बाइस लाखजतिमा हुन्छ । त्यसमा पनि सवा करोड जति जोगियो । पोहोर मात्र हामीले सयजना भन्दा बढीको मृगौला प्रत्यारोपण गर्यौं । एकजनाको तीस लाख हिसाब गर्ने हो भने सयजनाको तीस करोड हुने भयो ।

अहिले हाम्रो केन्द्रले मृगौलामा सरकारको तीस करोड रुपैयाँ हरेक वर्ष बचाइदिएको छ भने एकजनाकै सवा करोड त कलेजोमा बचाइदिएको छ । यसपालि त हामीले डेढ सयजनाको मृगौला प्रत्यारोपण गर्ने टार्गेट छ । मानव अंग प्रत्यारोपण केन्द्रले सरकारको हरेक वर्ष पचास करोडदेखि एक अर्ब रुपैयाँ बचाउने अवस्था छ । त्यसले गर्दा यसको सेवा विस्तार गदै भवनहरू बढाउँदै वर्षको तीन सयजति मृगौला, साठीवटा जति कलेजो प्रत्यारोपण गर्ने हो भने मानव अंग प्रत्यारोपण केन्द्रले नेपाल सरकार र नेपाली जनताको डेढ दुई अर्ब रुपैयाँ बचाउन सक्ने हैसियत छ । आजको दिनमा हामीले झन्डै पचास करोडदेखि एक अर्ब रुपैयाँसम्म बचाइरहेका छौं  । 

मृगौला रोग लाग्नबाट बच्ने उपायहरू 
कुनै पनि अंग फेल हुने प्रमुख कारण भनेको मधुमेह र उच्च रक्तचाप नै हुन् । ती रोगहरूको नियन्त्रण तपाईं हाम्रै हातमा छ । मधुमेह र उच्च रक्तचापका लागि दैनिक व्यायाम गर्ने । डाक्टरको सल्लाहअनुसारको खानेकुरा औषधि सेवन गर्ने गर्नुपर्छ । औषधि खानुपर्नेले औषधि खाने, खानेकुरामा मुख बारेर हुनेले खानेकुरामा कन्ट्रोल गर्ने गर्नुपर्छ ।
 त्यसबाहेक नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । कम्तीमा पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । मृगौला ठीक छ कि छैन भनेर साधारण स्वास्थ्य परीक्षण गर्दा रोग सुरुमै पत्ता लाग्न सक्छ । सुरुमै रोग पत्ता लाग्यो भने त्यसको उपचार हुन सक्छ । उपचार भएपछि प्रत्यारोपण नै गर्नुपरेन । यो कुरालाई सबैले विचार गर्नुपर्छ । मलाई केही भएको छैन, म ठीक छु भनेर बस्यो भने मृगौला रोग भनेको अन्तिम अवस्था ९० प्रतिशत ड्यामेज भएपछि मात्र देखापर्छ । अन्तिम अवस्थामा नपुगोस् भन्नाका लागि वर्षको एकपटक साधारण पिसाबको जाँच गर्नुपर्छ । पिसाबमा प्रोटिन छ कि छैन र रगतमा क्रियटिनिन छ कि छैन भनेर जाँच गर्नुपर्छ । त्यो गर्दा मृगौलाको रोग छ कि छैन भन्ने थाहा हुन्छ । त्यस्तै जथाभावी औषधि सेवन गर्नुभएन । नदुख्ने औषधिहरू, एन्टिबायोटिकहरूले पनि मृगौला खराब गराउन सक्छ । त्यसैले डाक्टरको सल्लाहविना औषधि सेवन नगर्ने । शरीरलाई चाहिनेजति पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री