
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। सङ्खुवासभाको नतिजासँगै यो प्रक्रिया पूरा भएको हो।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ निर्वाचन क्षेत्र जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाल कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट प्राप्त गरेको छ। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएसँगै स्वतन्त्रतर्फ पनि १ सिट आएको छ।
प्रतिनिधिसभामा कुल २७५ सांसद चयन हुने व्यवस्था छ जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिकबाट निर्वाचित हुन्छन्। फागुन २१ गते भएको मतदानपछि प्रत्यक्षतर्फको नतिजा अब सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना जारी रहेको छ। मङ्गलवार बिहानसम्म १ करोड ३ लाख १० हजार ३३० मत गणना भइसकेको छ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै झन्डै आधा हिस्सा कब्जा गरेको छ। नेपाली कांग्रेसले १६ लाख ७६ हजार ३१० मतसहित दोस्रो स्थानमा छ भने नेकपा एमालेले १३ लाख ९१ हजार ६९८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ। नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार १७८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार ९९ मत ल्याएका छन्। एक लाखभन्दा बढी मत प्राप्त गर्ने अन्य दलमा जनता समाजवादी पार्टी नेपाल १ लाख ७० हजार १३१ मत र राष्ट्रिय परिवर्तन पार्टी १ लाख ६५ हजार १०० मतसहित छन्।
जनमत पार्टीले ७५ हजार ७३५ मत, एकल चिन्ह जाँतो लिएको गठबन्धनले ६० हजार ५५१ मत, नेपाल मजदुर किसान पार्टीले ४१ हजार ८९४ मत र राष्ट्र निर्माण दल नेपालले ३७ हजार ८६२ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाले २९ हजार २२६, नेपाल जनता संरक्षण पार्टीले २६ हजार ९९४, प्रगतिशील लोकतान्त्रिक पार्टीले २३ हजार ४७९ र नेपाल कम्युनिस्ट पार्टी माओवादीले २३ हजार २६४ मत ल्याएका छन्।










प्रतिक्रिया