चैत पहिलो सातादेखि काबेली–३ को विद्युत् उत्पादन

२१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत् परियोजनाको विद्युत् उत्पादन आउँदो चैत पहिलो साताभित्रै सुरु हुने भएको छ। ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा निर्माणाधीन यो परियोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको बताए। उनले भने, “निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हामी चैत पहिलो सातासम्म विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छौं।” यो परियोजना काबेली हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ।
परियोजनाको निर्माण २०७९ माघदेखि सुरु भएको थियो र चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सिरिजंघा गाउँपालिकाको वडा ५ पेदाङ, वडा ६ मामाङखे र वडा ७ खेबाङमा आयोजनास्थल रहेको छ। मामाङ्खे र खेबाङको सिमानामा बहने ओथम्मा गहिरी मुहानदेखि ५.१२८ किलोमिटर लामो सुरुङमार्फत विद्युत् गृहमा पानी पुर्याइएको छ। यहाँ उत्पादित विद्युत् पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए अमरपुर सबस्टेसनमा जोडिनेछ।
आयोजनाका वरिष्ठ इन्जिनियर सिद्धान्त थपलियाका अनुसार विद्युत् गृहदेखि ३१ वटा टावरमार्फत प्रसारण लाइनमा बिजुली पुर्याइनेछ। परियोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख रहेको ढुंगानाले जानकारी दिए।
यो परियोजना एनएमबी, प्रभु र नबिल बैंक लिमिटेडको साझेदारीमा निर्माण भएको हो। यसअघि यही खोलाबाट १३.५ मेगावाटको सुपर काबेली ‘ए’ र १२ मेगावाटको सुपर काबेली परियोजनाबाट विद्युत् उत्पादन सुरु भइसकेको छ।




























प्रतिक्रिया