आइतबार, २ कार्तिक २०८२

प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज जलविद्युत् आयोजना, ४२ हजार मेगावाटका ३३ आयोजना छनोट

समयपोष्ट २०८१ फागुन २० गते १२:३२


नेपाल विद्युत् प्राधिकरणले देशको ऊर्जा सुरक्षा र दैनिक विद्युत् मागको उतारचढाव व्यवस्थापन गर्न पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढाउने भएको छ। प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभर १५६ वटा सम्भावित पम्प स्टोरेज आयोजना पहिचान गरेकोमा ४२ हजार मेगावाट क्षमताका ३३ वटा आयोजनालाई छनोट र स्तरीकरण गरेको जनाएको छ।

Advertisement

यीमध्ये रुकुम (पश्चिम) को स्यार्पुतालमा ३३२ मेगावाट क्षमताको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त भई सम्भाव्यता अध्ययन भइरहेको छ। त्यस्तै, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ। यस्तै, काठमाडौं उपत्यका नजिकै अवस्थित धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवाखोलामा १५९६ मेगावाट क्षमताको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन हुने भएको छ। यो आयोजनाको हाल डेस्क अध्ययन भइरहेको प्राधिकरणले बताएको छ।

हुलिङटार–दुकिम आयोजनाको विशेषता
हुलिङटार–दुकिम आयोजनाका लागि हुग्दी खोलामा ४५ मिटर र मोवाखोलामा १०३ मिटर अग्ला बाँध निर्माण गरी दुईवटा जलाशय बनाइनेछ। विद्युत् गृह मोवाखोलामा रहनेछ। माथिल्लो जलाशय (हुग्दी) मा भण्डारण गरिएको पानीबाट विद्युत् उत्पादन गरी तल्लो जलाशय (मोवा) मा संकलन गरिनेछ। त्यसपछि अफपिक समयमा पम्पको प्रयोगले तल्लो जलाशयको पानी माथिल्लो जलाशयमा फर्काइनेछ। यो आयोजनालाई पिक समयमा ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ।

पम्प स्टोरेजको महत्त्व
पम्प स्टोरेज आयोजनाले विद्युत्को न्यून माग (अफपिक) वा कम मूल्य भएको समयमा पानीलाई माथिल्लो जलाशयमा भण्डारण गर्छ र पिक समयमा त्यसबाट विद्युत् उत्पादन गर्छ। यसले विद्युत् प्रणालीको स्थिरता कायम गर्न, पिक डिमान्ड व्यवस्थापन गर्न र सरप्लस ऊर्जाको उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। प्राधिकरणका अनुसार यो आयोजनाबाट उत्पादित विद्युत्ले आन्तरिक खपतलाई सहयोग गर्नुका साथै पिक समयमा भारततर्फ महँगो मूल्यमा निर्यात गर्न सकिनेछ।

उत्पादन र लागत
हुलिङटार–दुकिम आयोजनाबाट वार्षिक ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान छ। आयोजनाको प्रतिमेगावाट लागत करिब ७ करोड ७५ लाख रुपैयाँ पर्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ। यो आयोजनाले पहुँच सडक, प्रसारण लाइन र अन्य पूर्वाधारको सुगमता भएको क्षेत्रमा निर्माण हुने भएकाले लागत र समय दुवैमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Advertisement

नेपालमा बढ्दो विद्युत् खपत र सरप्लस ऊर्जाको व्यवस्थापनका लागि पम्प स्टोरेज आयोजनालाई रणनीतिक महत्त्वको रूपमा हेरिएको छ। प्राधिकरणले यस्ता आयोजनामार्फत ऊर्जा सुरक्षालाई बलियो बनाउने र विद्युत् व्यापारमा नयाँ सम्भावना खोल्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री