शनिबार, १५ वैशाख २०८१

प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

समयपोष्ट २०८० चैत १६ गते १२:४८

Advertisement

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् । गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।

प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।

छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ ।

व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । हतियार नवीकरण र कानूनी अभ्यासको विष्लेषण गरेर ऐनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्न समितिलाई भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री