आइतबार, १६ वैशाख २०८१

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

समयपोष्ट २०८० चैत १५ गते २२:५९

Advertisement

सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिनुभयो । विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उहाँको भनाइ छ ।
“नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ । प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिहेको छ । प्रदेशले कानुन बनाउँदा प्रदेश अनुसार फरक फरक सवारी कर कायम भएको छ । सो बारेमा छलफल भइरहेको र एकरुपता कायम गर्नुपर्ने आवश्यकता देखिएको छ” प्रवक्ता भुसालले भन्नुभयो ।

यसैगरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल भएको उहाँको भनाइ छ । ‘एक स्थानीय तहमा एक आधारभूत अस्पताल’ निर्माणको कामलाई थप गति दिने विषयमा समेत विकास समस्या समाधान समितिको बैठकमा आवश्यक छलफल भएको छ । त्यसमा देखिएको समस्या समाधान गरिनेछ ।
विकास निर्माणका काममा भएका समस्या पहिचान गरी उपयुक्त समाधान गर्ने र तोकिएको समयमै सम्पन्न गर्न समेत स्पष्ट मार्गनिर्देशन प्राप्त भएको उहाँको कथन छ । प्रधानमन्त्रीको अध्यक्षमा बस्ने विकास समस्या समाधान समितिको बैठक वर्षमा दुई पटक बस्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री