शनिबार, १५ वैशाख २०८१

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित

समयपोष्ट २०८० चैत १३ गते ११:४८

Advertisement

जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।

‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्वाधार मूल आधार’ भन्ने नारालाई आत्मसात् गर्दै १८ दिन शिविर सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एलोपेथिक सेवाअन्तर्गत तीन हजार ३८ र आयुर्वेद उपचारतर्फ आठ सय ७८ जनाले सेवा लिएका छन् ।

त्यसैगरी कृषि सेवातर्फ दुई हजार नौ सय १५ र पशुको उपचार शाखाबाट एक हजार नौ सय २६ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा ७५ जना अपाङ्गता तथा ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिकसम्बन्धी ४८ वटा उपभोक्ता समितिले सेवा लिएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त शिविर अवधिमा ५९ वटा व्यापार व्यवसाय तथा संस्था दर्ता गरिएका तथा पञ्जीकरण शाखाबाट सन्ताउन्न जना सेवाग्राहीले सेवा लिएका छन् । शिविरवाट प्रशासनिक कार्यमा तीन सय ५७ जनाले सेवा लिएका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि उक्त गाउँपालिकाले पनि मिर्गौला, पाठेघर परीक्षण र तीनदिने अर्बुद्ध रोग परीक्षण शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री