शनिबार, १५ वैशाख २०८१

‘एक वर्षमा ऊर्जा क्षेत्रमा गुणात्मक प्रगति’

समयपोष्ट २०८० फागुन २३ गते १६:०४

Advertisement

मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, रोकिएका आयोजनालाई गति दिने तथा नयाँ आयोजनाको सुरुवातलगायतका विषयमा भएका प्रगति उल्लेख्य छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको बिदाइका लागि आयोजित कार्यक्रममा मन्त्रालयका सम्वद्ध अधिकारीले एक वर्षमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुण, दुधकोशी जस्ता आयोजना निर्माण शुरु गर्ने तयारी छ । यस्तै, रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म समस्यामा रहेका विद्युत् प्रसारण लाइन समेत निर्माण सम्पन्न भएका छन् । ठूला क्षमताका सवस्टेशनहरु पनि निर्माण सम्पन्न भएका छन् ।

विद्युत् विधेयक सङ्घीय संसद्मा पेश भएको छ । मन्त्रालय सम्वद्ध अन्य विधेयकहरु प्रक्रियामा अगाडि बढेका छन् । कानुनी एवम् संरचनागत सुधारमा विशेष ध्यान दिइएको भन्दै ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले एक वर्षमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

कार्यप्रगतिका हिसाबले पनि यो अवधिमा उल्लेख्य काम भएको जानकारी दिँदै उहाँले तोकिएका लक्ष्य प्राप्तिमा समेत मन्त्रालय अब्बल रहेको बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले समीक्षा अवधिमा मुलुकको जलस्रोत तथा सिँचाइको क्षेत्रमा परिणाम देखिने गरी काम भएको बताउनुभयो ।

जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले आयोगलाई गतिशिल बनाउनका लागि यस अवधिमा परिणाममुखी र सार्थक काम अगाडि बढेको बताउनुभयो । निर्वतमान ऊर्जामन्त्री बस्नेतले आफू गैरप्राविधिक मन्त्री भएपनि ऊर्जा, जलस्रोतको क्षेत्रमा सामूहिक रुपमा कार्यसम्पादन गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले मुलुकको समग्र ऊर्जा क्षेत्रको प्रगतिका लागि यस अवधिमा भएका कामलाई थप गति दिन अझै मेहनतको जरुरी रहेको बताउनुभयो ।

“केही रणनीतिक महत्वका कामहरु यसबीचमा भएका छन् । त्यसले देश र जनताको हितमा काम गर्नेछ । हामीले यसबाट सार्थक परिणाम प्राप्त गर्नेछौँ”, बस्नेतले भन्नुभयो । उहाँले यस अवधिमा मन्त्रालयको समग्र टोलीबाट आफूले सार्थक सहयोग पाएको बताउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत चैतमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री