सोमबार, १७ वैशाख २०८१

कार्यकारी निर्देशक घिसिङद्वारा तनहुँ हाइड्रो निरीक्षण

समयपोष्ट २०७९ चैत ६ गते २०:५०

Advertisement

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहनुभएका घिसिङले जलविद्युत् आयोजनाको हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुभएको हो । सो अवसरमा घिसिङले निर्धारित मितिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

महत्त्वपूर्ण दातृ निकायको ऋण सहभागितामा निर्माणाधीन आयोजना समयमै सकेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा घिसिङको भनाइ थियो । “महत्त्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ”, उहाँले भन्नुभयो । ठेकेदार कम्पनी, परामर्शदाता र आयोजनाले सहकार्य गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठ र आयोजना प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको प्रगतिबारे जानकारी गराउनुभएको थियो । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । सोअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको छ । आयोजनाको प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेशन, भियतनाम, कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण कार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।

प्याकेज १ अन्तर्गतको कार्य विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको प्याकेज २ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते अमेरिकी डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रुपैयाँ रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेदेखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

यो प्याकेजअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको श्रेष्ठले बताउनुभयो ।

आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । छब्बीस वटा टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । चौँतीस दशमलव सात किमि प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ ।

प्रशारण लाइन निर्माणको काम २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री