बुधबार, २ जेठ २०८१

इलाम उपनिर्वाचन : मतान्तर बढाउँदै सुहाङ

समयपोष्ट २०८१ वैशाख १७ गते ८:५९

Advertisement

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको छ ।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार चार सय ८७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का पाँच हजार आठ सय ४४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार दुई सय ६२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार दुई सय ६९ मत प्राप्त गर्नुभएको छ । अहिले माङसेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ ।

इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ÷छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा (१० बाहेक) गरी ४२ वडा पर्दछन् ।

Advertisement

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याउनुभएको थियो । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार हुनुहुन्थ्यो । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री