शुक्रबार, २१ वैशाख २०८१

बीमा नियमावलीलाई अन्तिम रूप दिन प्राधिकरणले सिइओहरुसँग माग्यो सुझाव

समयपोष्ट २०७९ फागुन २१ गते ११:१८

Advertisement

नेपाल बीमा प्राधिकरणले बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग सुझाव माग गरेको छ ।

प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि बीमा नियमावलीले समेट्नुपर्ने विषयहरू सात दिनभित्र लिखित रूपमा पेस गर्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूलाई आग्रह गरेको हो ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावली, २०७९ को अन्तिम चरणमा रहेकोले अध्यक्ष सिलवालले बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूलाई संस्थागत रूपमा लिखित सुझाव दिन आग्रह गरे ।

अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी दिए ।

Advertisement

‘बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा के कस्ता व्यवस्था हुन आवश्यक छ, त्यस सम्बन्धी सुझावको अपेक्षा गरिएको छ । बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ’ अध्यक्ष सिलवालले भने, ‘नेपाली बीमा कम्पनीहरूको पुँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कन्जुस्याइँ गर्नुहुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ ।’

सोही अवसरमा अध्यक्ष सिलवालले वर्षौँदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताए । बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्ने उनको भनाइ छ ।

बीमा व्यवसायको विकास एवम् विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्ण रूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई उनले निर्देशन समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री