शनिबार, ८ वैशाख २०८१

हेर्दाहेर्दै जहाज यसरी भयो खरानी,किन बचाउन सकिएन धेरै यात्रु ?, यस्ता छन् नेपालमा भएका अन्तर्राष्ट्रिय हवाई दुर्घटना

समयपोष्ट २०७४ फागुन २९ गते १:०४

त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

Advertisement

आजको नयाँ पत्रिकामा अच्युत पुरी र टेकराज थामीले यो समाचार लेखेका छन्, यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए । विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका हुन् । हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हु“दा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।

बंगलादेशको आश्वासन
बंगलादेशको नागरिक उड्डयन प्राधिकरणले दुर्घटना जा“चका क्रममा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त मुलुकको दुर्घटना जा“च ब्युरोले आफ्नो मुलुकको जहाज दुर्घटनापछि कारण पत्ता लगाउन सबै प्रकारको सहयोगको वचन दिएको महानिर्देशक गौतमले जानकारी दिए ।

२ घन्टा विमानस्थल अवरुद्ध
जहाज दुर्घटनापछि सोमबार करिब दुई घन्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । यसबीचमा नेपाली सेना, नेपाल प्रहरी तथा विमानस्थलस्थित उद्धार टोली उद्धारमा खटिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मीसहित उच्च सरकारी अधिकारी दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।
छानबिन गर्न समिति गठन
सरकारले युएस बंगला एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग गठन गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनील प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिव तोकिएको छ ।
आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

किन बचाउन सकिएन धेरै यात्रु ?
विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो
दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो । तर, नेपालमा युएस–बंगला भिœयाउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुप¥यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने ।

नेपालमा भएका अन्तर्राष्ट्रिय हवाई दुर्घटना

कालिंगा एयर : २५ फागुन ०११ मा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको थियो । कालिंगा एयरलाइन्सको डिसी–३ विमान बाराको सिमरामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो । दुर्घटनामा परेकामध्ये एकजनाको भने जीवितै उद्धार गरिएको थियो ।
इन्डियन एयरलाइन्स : २ जेठ ०१३ मा इन्डियन एयरलाइन्सको डिसी–३ विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेकामध्ये १९ जनाको भने जीवितै उद्धार गरिएको थियो ।
इन्डियन एयरलाइन्स : इन्डियन एयरलाइन्सको डिसी–३ दुर्घटना भएको दुई वर्षपछि नेपालमा फेरि अर्को विमान दुर्घटनामा प¥यो । ११ चैत ०१४ मा इन्डियन एयरलाइन्सकै डिसी–३ मोडलको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गयो । पट्नेभञ्ज्याङमा भएको दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।
थाई एयरलाइन्स : १६ साउन २०४९ मा नुवाकोटको घ्याङ्गफेदीमा थाई एयरलाइन्सको एयरबस–३१० दुर्घटना हुँदा एक सय १३ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।
पाकिस्तान एयरलाइन्स : नेपालमा थाई एयरलाइन्सको जहाज दुर्घटनामा परेकै वर्ष अर्को ठूलो दुर्घटना भएको थियो । १२ असोज ०४९ मा पाकिस्तान एयरलाइन्सको एयरबस–३१० विमान दुर्घटना हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भट्टेडाँडामा भएको उक्त दुर्घटना नेपालमा हालसम्म भएकामध्ये सबैभन्दा ठूलो हवाई दुर्घटना हो ।
लुप्थान्सा एयरलाइन्स : काठमाडौंकै भस्मेसुर डाँडामा भएको लुप्थान्सा एयरलाइन्सको बी–७२७ (२००) विमान दुर्घटनामा हुँदा पाँचजनाको ज्यान गएको थियो । २३ असार ०५६ मा भएको दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।
टर्किस एयरलाइन्स : नेपालमा
२० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

हेर्दाहेर्दै जहाज यसरी भयो खरानी
सिजन बयम्बु, प्रत्यक्षदर्शी
म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झँै लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ ।
जहाज डोमेस्टिक एभियसनतर्फ रहेको सेनाको ब्यारेकमाथिबाट आउँदै थियो । जहाजले ब्यारेकको मूलगेटनजिकै रोपिएको धुपीको रूख झन्डै छोयो । बत्तिँदै डोमेस्टिक एभियसनको छानातर्फ अघि बढ्यो । छाना नै छोला–छोलाझैँ देखियो । तर, छोएन । जहाज अघि बढ्यो ।
छानाभन्दा ठीक अघि बत्तीका ठूला–ठूला पोल छन् । जहाज त्यही पोलमा ठोकिएलाझैँ भयोे । तर, पोललाई छोएन । जहाज रनवेतर्फ अघि बढ्यो । रनवेमा ल्यान्ड गर्नासाथ ठूलो आवाज निस्कियो । त्यहीवेला कालो धुवाँ पनि सँगै आयो । एकछिनपछि आगो बलेको देखियो, जहाज अघि बढ्यो, तर धुवाँ र आगो आउन रोकिएन । त्यसपछि जहाज दक्षिण–पूर्वतर्फ हुत्तिँदै गयो । केही पर पुगेर रोकिएको देखियो । जहाजबाट अब अवाज आउन बन्द भयो । तर, धुवाँको मुस्लो देखियो । केहीबेर त धुवाँको मुस्लोले आकाश नै ढाक्यो । करिब २० मिनेटसम्म आकाश धुवाँले ढाकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री