शुक्रबार, ७ वैशाख २०८१

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीको निर्देशन, सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने

समयपोष्ट २०७४ फागुन २७ गते ५:४९

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गर्ने दोषी माथि कार्वाही गर्न निर्देशन दिएका छन् ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयबाट आइतबार जारी विज्ञप्तिमा कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको उल्लेख छ ।

विज्ञप्तिमा घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको उल्लेख छ ।

फागुन २४ गते बिहिबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेका थिए । प्रहरीले रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको थियो । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन नसक्ने प्रधानमन्त्रीको भनाई छ ।

हाल उपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ –यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ ।’

यस्ता अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्त हुने अपेक्षा समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री