शनिबार जयनगर–कुर्था रेल उद्घाटन

अन्तत:जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन मिति तय भएको छ ।

Advertisement

शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने तय भएको हो ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्नेछन् । रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो ।

भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

तर, विविध कारण देखाए रेल चलाउन अलमल हुँदै आएको थियो । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई प्रोसिड्योरले सम्बोधन गरेको छ ।

Advertisement

महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि सहमति भइसकेको छ । रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र प्रशिक्षण दिन भारत सहमत छ ।

जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित असोज २०७७ पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो । पछिल्लो महिनामा भने परीक्षणका रुपमा रेल नियमित रुपमा रित्तै चलाउन सुरु गरिएको थियो । केही दिन यता रेल दिन बिराएर चलाउन थालिएपनि यात्रु चढाइएको छैन ।

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतको कोंकण रेल्वेसँग सम्झौता गरेको छ । नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँमा किनिएको थियो । १७ महिनापछि रेलले नियमित यात्रु सेवा दिन सुरु गर्ने भएको छ ।

नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा तीन सय रुपैयाँ भाडा तोकेको छ । त्यस्तै, एक स्टेसनबाट अर्को स्टेसनसम्मको भाडादर १५ रुपैयाँ तोकिएको छ । कुर्थादेखि जयनगरसम्म पाँच स्टेसन र तीनवटा हल्ट रहेका छन् ।

रेल सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशको आर्थिक गतिविधि तथा धार्मिक पर्यटनमा ठूलै टेवा पुग्ने अपेक्षा गरिएको छ । जयनगर–जनकपुर रेल भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच पुग्ने भएको छ । रेल सञ्चालन भएपछि जयनगर हुँदै भारतको राजधानी दिल्ली, पटना, बनारस, कोलकातालगायत विभिन्न सहरहरूमा सहज यात्रा गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री