तल्ला तहका २० हजार प्रहरीको बढुवा प्रक्रिया सुरु

सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ ।

Advertisement

सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो । यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको हो ।

सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो ।यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलोपटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ ।

उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ हजार ४ सय १८ जना, प्रहरी हबल्दारबाट प्रहरी वरिष्ठ हबल्दारमा ३ हजार ७ सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हबल्दारमा १५ हजार २ सय ५३ जना बढुवा हुनेछन् ।

Advertisement

यीमध्ये पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ सय ९१ जना, प्रहरी वरिष्ठ हबल्दारमा १ हजार १ सय ७३ जना तथा प्रहरी सहायक हबल्दारमा १ हजार ७ सय ५२ जना बढुवा सिफारिस भएका छन् ।

दरबन्दी सिर्जना भएअनुरूप क्रमशः बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागअन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले लामो समयसम्म वृत्ति विकास हुन नसकेका तल्लो तहका प्रहरीहरूलाई काममा हौसला बढाउन यो निर्णय लिइएको बताए । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री