
अर्थमन्त्री जनार्दन शर्माले दैनिक ५० करोड रुपैयाँ अवैध रुपमा विदेशिन थालेको बताएका छन् ।
रुकुममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले अवैध डिजिटल कारोबार मार्फत रकम बाहिरन थालेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले सरकार सबै शक्ति लगाएर अवैध डिजिटल कारोबार रोक्न लागिपरेको समेत बताए ।
कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको र कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन शुरु गरेको समेत बताए।
‘आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अघि बढाएका छौं,‘ मन्त्री शर्माले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ।’
कूल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै मन्त्री शर्माले आगामी आर्थिक वर्षदेखि बर्सेनि निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।
उनले प्रमुख शहरसँग ग्रामीण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । ‘एउटा शहरबाट अर्को शहरको दुरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौं,’ उनले भने।










प्रतिक्रिया