
सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ । लाइनमा दिउँसो ३ः३० बजे भेटिनुभएका रौतहट वसन्तपुरका बालकिशोर साहले भन्नुभयो,
“कार्यालय बिदा लिएर बिहान ७ बजे लाममा बसेको, अहिले पनि फराम बुझाउने लाइनमै छु ।” लाइसेन्स नवीकरणको कामले यातायात कार्यालय पुग्नुभएका साहले भन्नुभयो, “एक पटक लाममा बसेर हुँदैन, हरेक झ्यालमा लाइन बस्नुपर्छ । फाराम बुझाउने काम आज सकिन्छ कि ?”
यातायातको एकान्तकुना कार्यालयले नवीकरण, दर्ता र लाइसेन्स वितरणको काम गर्छ । त्यसैले एकान्तकुनामा बिहानैदेखि सेवाग्राहीको चाप हुन्छ । नवीकरणको फाराम बुझाए पनि लाइसेन्स कहिले आउँछ भन्ने टुङ्गो नहुने सेवाग्राही साहले बताउनुभयो ।
ठेलमठेल गर्दै लाइनमा उभिनुभएका सिन्धुपाल्चोकका दानबहादुर श्रेष्ठले १४ महिनापछि लाइसेन्स लिन आएको बताउनुभयो । त्यस्तै काठमाडौँ कपनका रामकुमार परियार पनि १३ महिनापछि लाइसेन्स लिन आउनुभएको थियो । उहाँले भन्नुभयो, “लाइसेन्स लिन पनि एक डेढ वर्ष कुर्नुपर्ने, कस्तो विडम्बना हो ? जनताले दुःख पाएको त कसैलाई मतलब छैन, विधि पु¥याएर लाइसेन्स लिन पनि यति गाह्रो ?”
एकान्तकुना कार्यालयमा दैनिक एक हजार पाँच सय हाराहारीमा सेवाग्राही पुग्छन् । एकान्तकुना कार्यालयका अनुसार लाइसेन्स नवीकरणका लागि मात्रै दैनिक तीन सय जनासम्म सेवाग्राही एकान्तकुना पुग्छन् । लाइन व्यवस्थित पार्ने जनशक्तिसमेत कार्यालय परिसरमा देखिँदैन । उता कार्यालयका कर्मचारीको गुनासो छ, पर्याप्त कर्मचारी नै छैनन् । कार्यालयका शाखा अधिकृत वृहस्पति तामाङले भन्नुभयो, “मुख्य समस्या समयमै लाइसेन्स प्रिन्ट हुन नसक्नु नै हो ।” आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया