आइतबार, २३ वैशाख २०८१

बीमा शिक्षा नेपालमा छँदै छैन 

समयपोष्ट २०७८ फागुन २४ गते १२:५७

Advertisement

प्रभु इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

प्रभु इन्स्योरेन्सको व्यापार–व्यवसायमा पहिलेको भन्दा सुधार भइरहेको छ । कोरोना महामारी नभइदिएको भए सायद योभन्दा पनि धेरै राम्रो हुन्थ्यो होला । अहिले पनि अवस्था सन्तोषजनक नै छ ।

यति धेरै कम्पनीहरु छन् । तपाईंहरु कस्तो रणनीतिका साथ अघि बढिरहनुभएको छ ?

बीसवटा निर्जीवन बीमा कम्पनीहरु छन् । सबैको आ–आफ्नै रणनीति हुन्छन् । हाम्रो पनि आफ्नै प्रकारको रणनीति छ । मुख्य रणनीति भनेको बीमाको जनचेतना जगाउने, बीमाबारे बुझाउने, बीमा गराउने र बीमितलाई सन्तुष्टि दिने नै हो ।

Advertisement

नयाँ कम्पनी थपिएपछि बीमाका नयाँ–नयाँ क्षेत्रमा जानेभन्दा पनि पहिलेदेखि भइरहेको बजारमा प्रतिस्पर्धा गरेजस्तो देखिन्छ नि ?

जति धेरै साधन–स्रोतहरु छन्, तिनीहरु सबै ठाउँमा परिचालित हुनुपर्छ । त्यो बीमामा मात्र लागु हुँदैन हरेक क्षेत्रमा हुनुपर्छ । त्यसैगरी, बीमा कम्पनीहरु थपिएअनुसार यसको दायरा फरक हुनुपर्ने हो तर भइराखेको छैन । अहिले जति छ, त्यसमै लुछाचुँडी भइरहेको छ । यसको प्रमुख कारण भनेको शिक्षाको कमी नै हो । बीमा शिक्षा नेपालमा छँदै छैन । अहिले विभिन्न विश्वविद्यालयहरु खुलेका छन् । त्यसमा बीमाबारे अध्यापन हुन थाल्यो । तर, विश्व विद्यालयस्तरमा राखेरमात्र बीमाको दायरा सोचेअनुरुप बढ्दैन । त्यसका लागि प्राथमिक तहको पाठ्यक्रममा नै बीमालाई समेट्नुपर्छ । विश्वविद्यालय तहमा अध्ययन गर्ने निश्चित समूहमात्र हुन्छ । ती सबैले मात्र पनि बीमालाई समेट्न सक्छन् भन्ने हुँदैन । तर, प्राथमिक तहमा सबै क्षेत्र समेटिन्छ । त्यसकारण प्राथमिक तहबाट नै बीमा शिक्षा जरुरी छ ।

बीमा साक्षरताका लागि सरकारी तह र निजी क्षेत्रबाट के हुुनुपर्छ ?

सरकारी र निजी कम्पनीभन्दा पनि यसमा सबै मिलेर जानुपर्छ । कुनै पनि ठाउँमा एक्लै जाँदा कार्य गर्न त्यति सहज हुँदैन । त्यसैले समूहमा मिलेर जानुपर्छ । मैले मात्र कुनै एक क्षेत्रलाई समेट्न खोजेर यो पूर्ण हुँदैन । समूहमा गयो भने फैलिन्छ । बीमा कम्पनीहरुले मात्र गरेर बीमाको विकास हुन्छ जस्तो पनि लाग्दैन । बीमालाई बुझेका सम्पूर्ण मानिस यसमा लाग्नुपर्छ । यसमा मिडियाको पनि भूमिका उत्तिकै रहन्छ । साँच्चै नै बीमाप्रति उत्प्रेरणा जगाउने हिसाबले मिडियाले प्रचारप्रसार गर्नुपर्छ । व्यक्ति र राष्ट्रकै लागि बीमा आवश्यक छ भन्ने हिसाबले मिडियाले बुझाउन जरुरी छ ।

समयमा वित्तीय विवरण नबुझाउने एघार कम्पनीलाई बीमा समितिले जरिवाना गरेको छ । समयमै वित्तीय विवरण बुझाउन समस्या के छ ?

समयमै कार्यहरु गर्दै जाने हो भने वित्तीय विवरण बुझाउन समस्या छैन । हाम्रो कम्पनीले निर्धारित मितिमै वित्तीय विवरण बुझाउँदै आएको छ । अहिलेको महामारी, जनशक्ति अभावका कारण ढिलो हुन सक्ला, नभए छैन ।

बीमा समितिले हालै जोखिमका आधारित पुँजी लागु गर्दैछ । त्यो कत्तिको आवश्यक छ ?

हामी समयसापेक्षरुपमा चल्नुपर्छ । बीमा कम्पनी भनेकै जोखिम बहन गर्ने संस्था हो । त्यसले जोखिमको विश्लेषण गरेर नै काम गरिरहेको हुन्छ । त्यसकारण यसलाई सहज रुपमा नै लिनुपर्छ ।

निर्जीवन बीमा क्षेत्रमा अलि बढी विकृति देखिन्छ । यसलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

पछिल्लो समय यसमा धेरै सुधार भएको छ । नियमनकारी निकायले जारी गरेको निर्देशनले राम्रो प्रभाव पारेको छ । यसका लागि कसैले केही गर्नुभन्दा पनि हामी आफैले बुझेर नियमको परिधिभित्र बस्नुपर्छ । आफैले महसुस गरेर आफै सुध्रिनुपर्छ ।

प्रभु इन्स्योरेन्सका आगामी योजना के छन् ?

हाम्रो उद्देश्य भनेको निर्जीवन बीमा व्यवसायलाई अगाडि बढाउने नै हो । त्यसका लागि आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्छ । विभिन्न माध्यमबाट जनस्तरमा चेतना अभिवृद्धि गर्ने र ग्राहकहरुलाई सन्तुष्ट बनाउने नै हो । बीमाले के दिन्छ भन्ने कुरा पूर्वनिर्धारित नै हुन्छ । त्यसकारण आम मानिसमाझ पुगेर बीमा मलाई साँच्चै जरुरी छ है भनेर काम गर्ने नै हाम्रो मूल उद्देश्य हो । यी बीस बीमा कम्पनीले गर्ने काम एउटै हो । त्यो क्षेत्राधिकारभन्दा बाहिर कोही जान सक्दैन ।

बीमा क्षेत्रका धेरै सेवाहरु डिजिटाइज हुँदै गएका छन् । अब दाबी भुक्तानीलाई पनि डिजिटाइज गर्न के समस्या छ ?

कुनै बेला भौतिकरुपमै कागजात आवश्यक पर्छन् । त्योबाहेक अन्य त डिजिटाइज भइसकेको छ । पेमेण्टमा यसको सुरुवात भइसक्यो । कागजात पनि डिजिटाइज भएरै आउँछ । यसमा त्यस्तो अप्ठ्यारो अवस्था छैन । तर, प्रविधिमा सबै जनताको समान पहुँच छैन । चुनौती त्यहाँनिर छ । प्रविधि पुगेको ठाउँमा समस्या छैन । अहिले तरकारी किन्न जाँदा मोबाइलबाट हामी पैसा तिर्न सक्छौँ । बीमा क्षेत्रमा नहुने भन्ने छैन । दाबी भुक्तानी लिन पनि हामी सम्बन्धित व्यक्तिको कागजात हेरेर उसको विश्लेषण गर्छौं । त्यो प्रविधिमार्फत् हामी मगाउन सक्छौँ । त्यसकारण समस्या छैन । समयबोध म्यागेजिन, फागुन २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री