शुक्रबार, १४ वैशाख २०८१

संसद बैठकलाई सम्बोधन गर्दै देउवाले भने- संविधानका आधारभूत संरचनामा परिवर्तन भए स्विकार्य हुँदैन

समयपोष्ट २०७४ फागुन २२ गते ७:१३

नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भन्नुभयो ।
स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम कोही कसैबाट नहोस् भन्दै उहाँले सबै निकाय संविधानले तोकेअनुसारको दायित्व पूरा गर्न सफल हुने अपेक्षा गर्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासको आधार तयार भएकाले जलस्रोत र भौतिक पूर्वाधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “पर्यटन तथा जलस्रोतको विकासका लागि एकीकृत प्रयास तथा सहकार्य जरुरी छ, लगानीमैत्री वातावरण बनाउन सके वैदेशिक लगानीसमेत बढ्न सक्छ”, उहाँले भन्नुभयो ।

काँग्रेसका सभापति देउवाले नेपालको परिवर्तन काँग्रेसको नेतृत्वमा नै भएको हो भन्दै संविधान कार्यान्वयनसमेत काँग्रेसको नेतृत्वमा नै भई नेपालको राजनीतिक प्रक्रिया अगाडि बढेकामा सन्तोष व्यक्त गर्नुभयो । काँग्रेसले विपक्षी पार्टीको भूमिका संसद्मा सकारात्मक तवरले खेल्ने स्पष्ट पार्दै उहाँले सरकारलाई आफ्नातर्फबाट पूरापूर सहयोग हुने विश्वास दिलाउनुभयो ।

संविधानको कार्यान्वयनमा सकारात्मक सहयोग उपलब्ध गराइने बताउँदै नेता देउवाले आर्थिक समृद्धिको दिशामा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री