शुक्रबार, १६ चैत २०८०

नाता प्रमाणित गर्न वडाध्यक्षले मागे एक बिघा जग्गा

समयपोष्ट २०७४ फागुन १७ गते १:५९

कपिलवस्तु – कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन सकिरहेकी थिइनन् । सरकारले वृद्धाभत्ताबापतका मासिक दुई हजार रुपैयाँ दिने भएपछि कुर्मी बुढेसकालमा नागरिकता बनाउन तातेकी हुन् ।

उनका छोराहरु पनि आमाको नागरिकता बनाउन अग्रसर छन् । चार छोरा र श्रीमानको नागरिकता बनेको छ तर उनको छैन । आमाको नागरिकता बनाउन जुटेका छोराहरु वडाध्यक्षले नाता प्रमाणित प्रमाणपत्रमा हस्ताक्षर गर्न नमानेपछि चिन्तामा परेका छन् ।

वडा नम्बर –६ का वडाध्यक्ष देवानन्द शुक्लाले नाता प्रमाणित गर्न एक बिघा जग्गा दिनुपर्ने सर्त राखेका छन् । जग्गा नदिँदासम्म सिफारिस नगर्ने उनको अडान छ ।

‘वडाध्यक्षले नाता प्रमाणित गर्न १ बिघा जग्गा माग्नुभयो,’ कुर्मीका छोरा सोमइले भने, ‘हामीले जग्गा दिन सकेनौं त्यसैले सिफारिस रोकिएको छ ।’

गाउँ विकास समिति हुँदादेखि नै नागरिकता बनाउन प्रयास गरेको तर नबनेको गुनासो उनले पोखिन् । ‘बुढेसकालमा नागरिकता बनाऊँ भन्ने धोको थियो, अधुरै रहने भयो,’ ७० बर्षीया कुर्मीले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री