आइतबार, ६ जेठ २०८१

भारत सरकारद्धारा तराई क्षेत्रमा निर्माण सम्पन्न सडकहरु नेपाललाई हस्तान्तरण

समयपोष्ट २०७७ चैत १८ गते १८:५४

Advertisement

भारत सरकारले तराई क्षेत्रमा निर्माण सम्पन्न सडकहरु नेपाललाई हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबिच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई उक्त सडक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, उप—सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा उपस्थित थिए ।

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको ८०० करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुनेछन् ।

Advertisement

यी सडकहरुलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोड्दछन् । नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पुर्याएको छ ।

नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ । यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेड (NHIDCL) लाई चयन गरिएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ । भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा सडक प्याकेजका नाम, लम्बाई र स्थान यस प्रकार छन्ः

सडकको नाम लम्बाई (किमि) जिल्ला
१.मनमत—कलैया—मटियर्वा,प्याकेज १ १५.०० बारा
२.मनमत—कलैया—मटियर्वा,प्याकेज २ ११.६६ बारा
३.बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १ १७.०० धनुषा
४.बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २ १५.३१ धनुषा
५.जनकपुर— यदुकुहा १६.६३ धनुषा
६.माइस्थान—गौशालाबजार—सम्शी २६.९४ महोत्तरी
७.जलेश्वर—हर्दी २७.२६ महोत्तरी
८.लमही—कोइलाबास ३३.४७ दाङ्
९.कानेपोखरी—रङ्गेली २५.४० मोरङ्ग
१०.कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी १७.२८ सप्तरी
११.तामागढी—सिम्रौनगढ, प्याकेज १ २०.०० बारा
१२.तामागढी—सिम्रौनगढ, प्याकेज २ १९.७४५ बारा
१३.बीरगंज—ठोरी, प्याकेज १ २५.६० पर्सा
१४.बीरगंज—ठोरी, प्याकेज २ ३०.०० पर्सा

प्रतिक्रिया

सम्बन्धित सामाग्री