शुक्रबार, १६ चैत २०८०

दाबी भुक्तानीमार्फत् कोरोना बीमाप्रतिको भ्रम चिर्दै लगेका छौं

समयपोष्ट २०७७ फागुन २५ गते १२:०५

Advertisement

निर्जीवन बीमा क्षेत्रलाई कोरोनाले कस्तो प्रभाव पार्यो ?
निर्जीवन बीमा क्षेत्रलाई मात्र नभई कोरोनाको प्रभाव सारा विश्वलाई नै परेको छ । यसबाट प्रत्येक व्यक्ति, प्रत्येक घर प्रभावित बनेका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीको समयमा कोरोना बीमाको अवधारण ल्यायौँ । उदाहरणयी हुँदाहुँदै पनि एउटा निश्चित विन्दुमा पुगेपछि हामीले सक्दैनौं भनेर हात उठाउँदा हामीलाई राज्यले सहयोग ग¥यो र राज्यले यसको क्षतिपूर्ति दिने भन्यो । नेपाल सरकारले बीमा क्षेत्रमा नीतिगतरुपमै बीमाको बेग्लै प्रडक्टलाई सहयोग गर्यो । त्यो सबैका लागि उदाहरणीय बनेको छ ।

त्यसअनुसार काम गर्दै जाँदा ३ अर्ब ६० करोड रुपैयाँ जतिको दाबी भुक्तानी गरिसकेका छौं । बाँकी दाबीहरु बिस्तारै भुक्तानी भइरहेका छन् । बीचको अवधिमा बीमा कम्पनीहरु डुब्छन्, उनीहरुले थेग्न सक्दैनन् भन्ने खालका कुराहरु पनि आए । बीमा कम्पनीहरुले साँच्चै थेग्न सक्दैननन् कि भन्ने एक खालको त्रास पनि देखियो । तर, अहिले पहिलेको जस्तो चाप छैन । ढिलै भए पनि हामीले फटाफट तिर्दै गइरहेका छौं । कोरोनाका कारण मानिसहरुले दुःख पाए तर पनि ६ सय रुपैयाँले त्यति रकम पाउनु भनेको ठूलो कुरा हो । मानिसहरुको सानातिना भइपरी आउने खर्च व्यहोर्न त्यसले धेरथोर मद्दत गरेको छ ।

कोरोना बीमा सुरु भएदेखि नै एक किसिमले विवाद जस्तो पनि देखियो । यसमा बृहत् छलफल भएन कि, के लाग्छ यहाँलाई ?
कुनै पनि नयाँ चिजको सुरुवात गर्दा केही कठिनाइहरु आउँछन् नै । कहीँ नभएको चिज हामीले यहाँ कोरोना बीमा ग¥यौं । बीचमा नकारात्मक कुराहरु आए पनि त्यो सकारात्मकतर्फ गइसकेको छ । अर्को, जसले बीमाको नाम नै सुनेका थिएनन्, कोरोना बीमाले गर्दा उनीहरु पनि बीमासँग परिचित हुने मौका पाए । यसलाई कोरोना बीमाको सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । कोरोना बीमा गरेबापतको रकम पाउँदैनन् भन्ने जुन हल्ला चलाइएको थियो, हामीले दाबी भुक्तानीमार्फत् यसलाई चिर्दै लगेका छौं । आम मानिसमा बीमाप्रतिको विश्वास पनि बढेको छ । आगामी दिन त्यो बीमालाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न सकिन्छ ।

समग्र बीमा क्षेत्रलाई डिजिटलाइज गर्न कोरोना महामारीले कस्तो भूमिका खेल्यो ?

हामीले दुई वर्षअगाडि नै ‘हात–हातमा बीमा, इन्स्योरेन्स डिजिटल्ली’ भनेर लञ्च गरी नै सकेका थियौं । हाम्रो पोर्टलबाट एप्स डाउनलोड गरेर वेबसाइटमा गएपछि रियल टाइममा पोलिसी पाउने स्थानमा हामी पुगिसकेका छौं ।

हरेक कुराका सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन् । तर, कोरोना महामारीले बीमा क्षेत्रमात्र नभई अन्य क्षेत्रलाई समेत डिजिटलाइज्ड गर्न ठूलो भूमिका निर्वाह गरेको छ । यसले वर्क फ्रम होमको कन्सेप्ट ल्याइदियो । बीमा क्षेत्रलाई डिजिटलाइज गर्नुपर्यो भन्ने निर्देशन पनि हामीलाई बीमा समितिले दिएको छ । धेरै कम्पनीहरु कसरी अगाडि बढ्ने भनेर लागिरहेका छन् । यस सगरमाथा इन्स्योरेन्सको हकमा कुरा गर्दा हामीले दुई वर्षअगाडि नै ‘हात–हातमा बीमा, इन्स्योरेन्स डिजिटल्ली’ भनेर लञ्च गरी नै सकेका थियौं । हाम्रो पोर्टलबाट एप्स डाउनलोड गरेर वेबसाइटमा गएपछि रियल टाइममा पोलिसी पाउने स्थानमा हामी पुगिसकेका छौं । त्यो सर्टेन सेग्मेण्टमा छ । बिस्तारै त्यो कुरालाई हामी अगाडि बढाउँछौँ । सायद अन्य कम्पनीहरुले पनि अगाडि बढाउनुहुन्छ होला । बीमाको पहुँच पु¥याउन छुट्टै किसिमको एपको जरुरत हुन्छ । त्यसका लागि याक्टको जरुरत पर्छ । त्यो याक्ट हाम्रोमा छैन । अहिलेको याक्ट पास भयो भने त्यसमा आउँछ होला । त्यसपछि हामी अगाडि बढ्छौं ।

अहिले गाउँ–घरका मानिसहरुमा समेत इन्टरनेटको पहुँच विस्तार भइसकेको छ । त्यसमा फोकस गरेर गयौँ भने कृषि क्षेत्रका लागि अझ सहज हुन्छ । त्यसमा त्यति धेरै इफोर्ट लगाउनु पर्दैन । डिटेल भरेर पठाएपछि आइडेन्टीफाई भेरिफिकेसनका लागि सजिलो हुन्छ । पोलिसी अनलाइनबाट इस्यु गरेपछि सजिलो हुन्छ । यो माध्यमबाट गर्दा ग्रामीण क्षेत्रमा जाँदा लाग्ने खर्च पनि हुँदैन । सरल, सहज र सुलभ तरिकाले गर्न सकिन्छ । यसलाई फोकस गर्न जरुरी छ । अहिले क्यूआर कोडले पनि धेरै पिकअप लिइसकेको छ । मानिसहरुले क्यासको ठाउँमा कार्ड बोक्न थालिसकेका छन् । बिस्तारै यो विकास हुँदै जान्छ ।

तपाईं बीमक सङ्घको महासचिव पनि हुनुहुन्छ । नेपालमा निर्जीवन बीमा क्षेत्रका चुनौती के हुन् ?
निर्जीवन बीमा क्षेत्रको स्कोप बढ्दो छ । जीवन बीमा क्षेत्रको पहुँच २५ प्रतिशत हाराहारी पुगिसकेको छ भने निर्जीवन बीमा आठ–दस प्रतिशतको हाराहारीमा छ जस्तो लाग्छ । कोरोना महामारीकै समयमा पनि बीमा व्यवसाय घटेको छैन । बरु दस–बाह्र प्रतिशतले बढेको छ । जनताले बीमाको उद्देश्य बुझेका रहेछन् भन्न मिल्छ । बीमाबारे अझै जनचेतना जगाउन हामीले काम गर्नुपर्छ, हाम्रो चुनौती त्यही हो । रिइन्स्योरेन्सको कुरा गर्दा रिइन्स्योरेन्सको अन्तर्राष्ट्रिय प्राक्टिस भनेको सबै जोखिम एउटै कम्पनीमा राखिएको हुँदैन । त्यसलाई स्प्रेड गरिएको हुन्छ । त्यसलाई रिस्क ट्रान्सफर्म मेकानिजम भनिन्छ । कुनै पनि रिइन्स्योरेन्स कम्पनीले आफै सतप्रतिशत लिँदैनन् । उसले पनि क्षति भइहाल्यो भने भनेर कुनै अन्य कम्पनीमा व्याकअप राखिरहेको हुन्छ । इन्स्योरेन्स कम्पनीले स–साना जोखिमहरु एउटाले अर्कालाई ट्रान्सफर्म गर्ने गरिरहेकै हुन्छन् । रिइन्स्योरेन्स कम्पनी पनि व्यवसाय गर्नै बसेका हुन् । राम्रो रेट छैन । क्लेम बेस हाई छ भने कि मार्केट लिँदैन कि कण्डिसन थपघट गर्न सक्छन् । पहुँच बढाउन सक्छन् । त्यसकारण अण्डरराइटिङ चनाखो भएर गर्नुपर्छ । एउटा राम्रो कुरा के भने यो बीचमा हामीले केही प्रतिशत नेपाली माध्यममै राख्दा केही भाग क्यापिटलाइज हुनबाट रोक्न मद्दत गरेको छ ।

अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न यहाँहरुले आचारसंहिता बनाउनुभएको थियो । त्यो कत्तिको प्रभावकारी भइरहेको छ ?
थर्ड पार्टी पुलका लागि त्यो सफल मोडल नै भन्नुपर्छ । ग्राहकहरुलाई काम पनि छिटो हुने र बीचमा भएको अस्वस्थ प्रतिस्पर्धा रोकिएको छ । ट्यारिफ रेटमा अझै केही समस्या छ । त्यसलाई रोक्न हामीले आचारसंहिता बनाएर बीमा समितिलाई दिएका छौँ । बीमा समितिमा नयाँ अध्यक्ष आउनुभएको छ । यसलाई इनिसियसन लिएर उहाँले काम गर्नुहुन्छ जस्तो हामीलाई लाग्छ ।

बीमा समितिले लगानी दायरा केही विस्तार गरेको छ । त्यसमा कार्यान्वयनको पाटो अलि कमजोर जस्तो देखिन्छ त्यसमा समस्या के छ ?
यो हाम्रो पब्लिक रुल कम्पनी हो । हाम्रो जवाफदेहिता स्टेक होल्डर पब्लिकलाई नै हुन्छ । पहिलेको दाँजोमा त्यो दायरा बढाउनुभएको छ । पर्यटन, जलविद्युत्मा जुन दायरा छ, त्यसमा लगानी गर्दा स्टेक अलि कम भएको हुनाले त्यसलाई रिभ्यू गर्ने कि भन्ने खालको कुरा हो । त्यति बेला त्यो बनाउँदा २५ करोड पुँजी भएको बेलाको थियो । अब एक अर्ब भयो । दायरा खुल्यो भने अलि सजिलो होला । यो कुरालाई उहाँहरुले सकारात्मकरुपमा लिनुभएको छ । त्यो परिवर्तन हुन्छ जस्तो लाग्छ ।

बाहिरतिर बीमा कम्पनीहरुले म्युचुअल फण्ड, बीमा बण्ड गर्ने हुन्छ । यहाँ पनि त्यो कुरा भएको छ । उहाँहरु त्यसमा सकारात्मक हुनुहुन्छ । जलविद्युत्, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानीका दायरा उहाँहरुले बढाइदिनुहुन्छ जस्तो लागेको छ । त्यसमा कुराहरु भइरहेका छन् ।

बीमा समितिले केही समयअघि ल्याएको लघुबीमा कत्तिको प्रभावकारी भएको छ ?
पहिलेको दाँजोमा लघुबीमा राम्रो भएको छ । सरकारले सुरुवाती चरणमा ५० प्रतिशत दिएको थियो । पछि ७५ प्रतिशत सब्सिडाइज दियो । अन्न, फलफूलहरुको दाँजोमा अहिले पनि गाई, भैंसी, बाख्राको रेसियो धेरै छ । त्यसको पनि बिस्तारै बढ्दै छ । सरकारले पनि त्यसमा राम्रो सपोर्ट गरेको छ ।

अहिले हामीले बीउ–बिजन र लागत खर्च दिइराखेका छौं । तर, कुनै किसानले उब्जनि गरिसकेर अन्तमा पाउनुपर्ने समयमा कुनै नोक्सानी भयो भने उहाँहरुले खाली बीउ–बिजन र लागतमा मात्र पाउनुहुन्छ । अर्कोे वेदर बेस इन्डेक्स भन्ने पोलिसी हुन्छ । अहिले हामीले ट्रायल फेजमा स्याउको खेतीमा गरेका छौं । त्यसमा सरकारले कम्पनीहरु छुट्याइदिनुपर्छ । वान वे विन्डो गर्नुपर्छ । अहिले पनि कृषिमा धेरै खर्च भएको छ । बीमाको दायराबाट जाने भनेको एउटा सिस्टमबाट जान्छ । त्यसले कृषकहरुलाई मद्दत पुग्छ । ग्रामीण भेगमा पहिले फुस्रो देखिएका डाँडाहरु अहिले हरिया भएका छन् । यो महामारीले कृषिमा केही गर्नुपर्छ भनेर मानिसहरुलाई जागरुक बनाएको छ । पहिले पनि हामीहरु कृषिमा आधारित थियौं, अहिले पनि छौं । बीचमा उत्पादकत्व कम भएको थियो, अहिले बढ्यो जस्तो लाग्छ । व्यावसायिक र आधुनिक तरिकाले कृषि गर्न युवापुस्ता जोश–जाँगरका साथ अगाडि बढ्नुपर्छ ।

हामी बीमाको पहुँचको कुरा गर्छौं तर अधिकांश सरकारी संरचनाहरुकै बीमा भएको छैन । त्यसका लागि तपाईंहरुले सरकारलाई जागरुक गराउन सक्नुुभएन कि के हो ?
राज्यले नीति बनाउनुपर्ने कुरामा हामीले बुझाउनुपर्छ जस्तो लाग्दैन । तर, यहाँ फण्डलगायतका कुराहरु हुन सक्छन् । उहाँहरुले अलोकेसन गरेर छुट्टै तरिकाले हामी सबै कभर गर्छौं भनेपछि प्रिमियम जेनेरेट भएपछि प्रिमियम आफै क्लेम पर्यो भने अर्को सालबाट रिभिजन गरेर कम हुन्छ । जस्तो– सरकारी गाडीको रेट थर्ड पार्टी गर्दा सर्वसाधारणको भन्दा कम छ । गर्यो भने सकिन्छ । कसले इनिसियसन लिने भन्ने कुरा हो । सरकारले बीमाबारे बुझ्यो भने जनतालाई बुझाउन अझ सजिलो हुन्छ । भूकम्पपछि पुनर्निर्माण भयो । फेरि पनि त्यस्तै भवितव्य नआउला भन्ने छैन । यसकारण त्यसलाई बीमाको दायरामा ल्याउँदा राम्रो हुन्छ । भोलि राज्यले कसैको मुख ताक्नुपर्ने अवस्था आउँदैन । हामीले केही प्रतिशत रिटर्न गर्छौं भने अरु रि–इन्स्योरेन्सबाट आउँछ । दाताको मुख ताक्नुपर्ने अवस्था आउँदैन ।

निर्जीवन बीमा कम्पनी बजारमा प्रतिस्पर्धी भएको छ । यो प्रतिस्पर्धामा सगरमाथालाई कसरी उतार्नुभएको छ ? अहिलेको अवस्था र आगामी योजना के–के छन् ?
सगरमाथाको आफ्नो बेग्लै इतिहास छ । नामजस्तै हाम्रो कामले चिनाउँदै आएका छौं । प्रतिस्पर्धाको कुरा गर्दा अस्वस्थ प्रतिस्पर्धा गरेर व्यवसाय वृद्धि गर्नुपर्छ भन्ने छैन । हामीले गरेको बीमा प्रपर वेमा हुनुपर्यो । परेको खण्डमा क्लेम राम्रो दिने खालको मनसाय हो । आगामी दिनमा हामी त्यहीरुपमा अगाडि बढ्नेछौं । बिजनेस लिनका लागि केक साइजलाई घटाउने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, कम्प्लाइन्स मिट नगर्ने, त्यो हिसाबमा हामी अगाडि बढ्दैनौं । राम्रो सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाएर हामी अगाडि बढिरहेका छौं । स्टेक होल्डरबाट दिने प्रोफिटबाट राम्रै रिर्टन दिइरहेका छौँ । आगामी दिनमा पनि त्यही छ । हामीले शाखा विस्तारमा बल गरिरहेका थियौँ, त्यसको रिजल्ट आई नै रहेको छ । अब हामी डिजिटलाइजेसनमार्फत् तल्लो लेवलसम्म गाउँघरसम्म कसरी पुग्ने भनेर वर्क आउट गरिरहेका छौं । दुई वर्षअघिबाट कन्सेप्ट निकालेर पोलिसीहरु जारी गरिसकेका छौं । हाम्रा जति पनि प्रडक्टहरु छन्, त्यसलाई त्यहीँ माध्यमबाट अनलाइन गर्न पाए राम्रो हुन्छ । त्यसमा हामीले फोकस गरिरहेका छौं । बजारमा यति धेरै प्रतिस्पर्धा छ कि राम्रो सेवा दिइएन भने कुनै पनि व्यवसाय चल्दैन । ग्राहकहरुलाई राम्रो सेवा–सुविधा दिन सकियो भने मात्र व्यवसाय फस्टाउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री