मंगलबार, ११ वैशाख २०८१

अरुको जोखिम व्यवस्थापन गर्ने बीमा कम्पनीहरु अहिले स्वयम् जोखिममा छन्

समयपोष्ट २०७७ फागुन २४ गते ८:५२

Advertisement

बीमा कम्पनीको सङ्ख्या र पुँजी वृद्धिसँगै बीमा पहुँच बढेको छ । यहाँको विचारमा बीमा क्षेत्रमा अबको चुनौती र जोखिम के–के हुन् ?

हो, तपाईंले भनेजस्तै कम्पनीको सङ्ख्यामा भएको वृद्धिसँगै बीमाको पहुँच पनि बढ्दै गएको कुरा सत्य हो । गत साल जारी गरिएका बीमा पोलिसीको सङ्ख्याका आधारमा हेर्ने हो भने पहुँच बढेको देखिन्छ । तर, पहुँचको मापन पोलिसीको सङ्ख्याले मात्रै गर्दैैन । हामीले कुन प्रकारको पोलिसी बिक्री भएको छ, कुन वर्गमा बढी बिक्री भएको, कति वर्षे पोलिसी छ, प्रिमियम कति छ र करार अवधि पूरा नहुञ्जेल प्रिमियम तिरेको छ कि छैन, बीमा पोलीसी बिक्री खर्च कति छ ? जस्ता कुराहरु पनि विश्लेषण गर्न जरुरी छ । बीमाबजार विस्तार हुँदै जाँदा बजार कति इफिसियन्ट भयो, कति सर्वसुलभ भयो ? भन्ने कुरामा पनि हाम्रो ध्यान जानु आवश्यक छ । बजारलाई इफिसियन्ट बनाउनका लागि धेरै कुराहरु सही हुनुपर्दछ ।

आज पनि तीन चौथाईभन्दा बढी जनसङ्ख्या बीमाको पहुँचमा छैन । उनीहरुलाई कसरी बीमा सेवा दिने भन्ने चुनौती कायमै छ । बीमा कम्पनीको सङ्ख्या बढ्दै जाँदा नियमन र सुपरीवेक्षणको चुनौती एकातिर छ भने अर्कोतिर सुशासन कायम गर्ने काम पनि उत्तिकै कठिन छ । आमजनतामा बीमाप्रति बिश्वास जगाउनु पनि त्यति सजिलो छैन । बीमा क्षेत्रमा चुनौतीहरु धेरै छन् तर सम्भावना पनि उत्तिनै छन् ।

अरुको जोखिम व्यवस्थापन गर्ने बीमा कम्पनीहरु अहिले स्वयम् जोखिममा छन् । निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी बिक्री गरेको र अत्यधिक दाबी भुक्तानी परेको हुँदा उनीहरुको पुँजी नै जोखिममा परेको छ भने जीवन बीमा कम्पनीहरुको सरेण्डर र ल्याप्सको दर बढ्दै जाँदा पोलिसी सिफ्ट गर्ने गलत प्रवृत्तिका कारण धेरै जोखिम देखिन्छ ।

यहाँको विचारमा नेपालको अवस्थाअनुसार चुक्ता पुँजी कति भएका कति जीवन, निर्जीवन बीमा कम्पनी आवश्यक छ ?

तपाईंको प्रश्नको उत्तर दिन सजिलो छैन । कुनै पनि अर्थतन्त्रमा कतिवटा बीमा कम्पनी आवश्यक छन् भन्ने प्रश्नको उत्तर सैद्धान्तिक रुपमा दिन गाह्रो हुन्छ । कम्पनीको सङ्ख्या नियमनकारी निकायको नीति, सरकारको बीमा नीति, प्रतिव्यक्ति आय, सामाजिक बीमा र सामाजिक सुरक्षा प्रणालीजस्ता धेरै कुराहरुले असर गर्दछन् ।

जहाँसम्म न्यूनतम चुक्ता पुँजीको कुरा छ, जीवन बीमा कम्पनीका लागि कम्तीमा दुई अरब र निर्जीवन बीमा कम्पनीका लागि कम्तीमा एक अरब रुपैयांँ हुुनुपर्ने व्यवस्था गरिएको छ । तर, न्यूनतम पुँजीका अलावा कारोबारको आधारमा थप पुँजी पनि आवश्यक पर्दछ । यदि कुनै बीमा कम्पनीले ठूलो परिमाणमा जोखिम बहन गरेको छ भने उसको न्यूनतम पुँजी स्वतः बढाउनुपर्ने व्यवस्था बीमा समितिले निर्देशिकामार्फत् गरेको छ । यसलाई सोल्भेन्सी मार्जिन रेसियोको आधारमा पुँजीको व्यवस्थापन गर्ने विधि पनि भनिन्छ । त्यसैले बीमा कम्पनीको न्यूनतम पुँजी कायम गर्नुअघि बजारले कति प्रतिफल दिन सक्दछ भन्ने कुराको लेखाजोखा गर्नु आवश्यक हुन्छ ।

बीमा पनि वित्तीय क्षेत्रभित्रकै एउटा अङ्ग हो तर बैङ्किङ क्षेत्र सबै कुरामा जति प्रोफेसनल छ, त्यसको तुलनामा बीमा पछि पर्नुको कारण के हो ?

नेपालको बीमा क्षेत्रले अन्तर्राष्ट्रिय असल अभ्यासहरुबाट सिक्न जरुरी छ । कम्पनीहरु व्यावसायिक हुनका लागि गरिने लगानीले तत्काल खर्च बढी हुने देखिए तापनि दीर्घकालीनरुपमा प्रतिफल धेरै प्राप्त हुन्छ भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ ।

बीमा क्षेत्र किन व्यावसायिक हुन सकेन भन्ने प्रश्न आफैंमा महत्वपूर्ण छ । यो निकै सोचनीय विषय पनि हो । यसमा सबै पक्षहरु गम्भीर हुन आवश्यक छ । बैङ्किङ क्षेत्रको तुलनामा बीमा क्षेत्रमा प्रोफेसनालिज्मको अवस्था कमजोर छ भन्नेबारेमा ठोस अध्ययन भए/नभएको मेरो जानकारीमा छैन तर पनि बीमा क्षेत्रको प्रोफेसनालिज्म पछि पर्नुका धेरै कारणहरु छन् । बीमा एक विशिष्ट सेवा भएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति विशेष ज्ञान र सीपयुक्त हुन आवश्यक छ । जबसम्म बीमाको अन्तरवस्तुका बारेमा गहिरो ज्ञान भएका मानिसहरु बीमा क्षेत्रमा आउँदैनन्, तबसम्म प्रोफेसनालिज्मको विकास हुन सक्दैन । किनकि दक्ष जनशक्तिले मात्रै सुशासन कायम गर्न सक्दछ, टिकाउ खालको विकास हुन सक्दछ । बैङ्किङ क्षेत्र बढी उदार, खुला र प्रतिस्पर्धी छ र यसले अन्तर्राष्ट्रिय अभ्यासबाट धेरै सिकेको छ । राष्ट्र बैङ्कको नियमन बढी प्रभावकारी हुनुको साथै वैदेशिक लगानीका कारण पनि बढी व्यावसायिक भएको छ । बैङ्कले आफ्नो जनशक्ति विकासमा पनि पर्याप्त लगानी गरेको देखिन्छ । नेपालको बीमा क्षेत्रले अन्तर्राष्ट्रिय असल अभ्यासहरुबाट सिक्न जरुरी छ । कम्पनीहरु व्यावसायिक हुनका लागि गरिने लगानीले तत्काल खर्च बढी हुने देखिए तापनि दीर्घकालीनरुपमा प्रतिफल धेरै प्राप्त हुन्छ भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ ।

कोरोना महामारीकै बीचमा ल्याइएको कोरोना बीमाको सुरु–सुरुमा जति प्रशंसा भयो, पछि त्यति नै आलोचना भयो । कतिपयले हचुवाको भरमा ल्याइयो भनेर पनि आलोचना गर्दछन् । यहाँलाई के लाग्छ ?

कोरोना बीमा सैद्धान्तिक आधारबिना ल्याइएको प्रोडक्ट भएका कारण बीमा कम्पनीहरुले धेरै नै घाटा खानुप¥यो । यो हचुवाको भरमा ल्याइएको हुनाले नै समस्याहरु पैदा भएका हुन् । जसले कोरोना बीमा ल्याउनेहरुको प्रशंसा गरे, उनीहरु बीमाको सिद्धान्त नबुझ्नेहरु थिए । ढिलो भए पनि अहिले सबैले कुरा बुझे तर बीमा कम्पनीले निकै ठूलो घाटा व्यहोर्नुपर्ने भयो । भविष्यमा यस्तो मूर्खतापूर्ण निर्णय नहोस् भनेर सचेत हुन जरुरी छ । रणनीतिक खालको निर्णय लिँदा धेरै छलफल, बहस र अन्तक्र्रिया हुन जरुरी हुन्छ । विज्ञहरुको सल्लाह–परामर्श लिएरमात्रै अघि बढ्नुपर्दछ ।

निर्जीवन बीमा क्षेत्रमा पुनर्बीमा गर्ने कम्पनी भएनन् भन्ने पनि सुनिन्छ । पुनर्बीमाको वास्तविक समस्या के हो ?

धेरै पुँजीसहितको कम्पनी खडा हुँदा उसले आफ्नो देशको मात्रै व्यवसायमा भर पर्दैन, विश्वभरिकै व्यवसाय लिन सक्दछ । पुनर्बीमा कम्पनी सञ्चालनका लागि निकै दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।

निर्जीवन बीमा कम्पनीको जोखिम जीवन बीमा कम्पनीको तुलनामा धेरै हुन्छ । नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा २० प्रतिशत जोखिम बहन गर्नका लागि नेपाल सरकारले जिम्मेवारी दिएको हुँदा सो बराबरको जोखिम बहन गरेको छ भने बाँकी जोखिम विदेशी बीमा कम्पनीहरुले लिने गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले ठूलो मात्रामा जोखिम स्वयम् बहन गर्न सक्ने अवस्था छैन किनकि उसको पुँजी कम छ । त्यसैले उसले सानो अंश आफूसँग राखेर ठूलो हिस्सा विदेशी बीमा कम्पनीलाई दिने गरेको छ । ठूलो मात्रामा जोखिम बहन गर्नका लागि पर्याप्त मात्रामा पुँजी हुन आवश्यक हुन्छ । धेरै पुँजीसहितको कम्पनी खडा हुँदा उसले आफ्नो देशको मात्रै व्यवसायमा भर पर्दैन, विश्वभरिकै व्यवसाय लिन सक्दछ । पुनर्बीमा कम्पनी सञ्चालनका लागि निकै दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।

एक्चुरी पनि भारतकै भर पर्नुपरेको छ । नेपालमा एक्चुरी उत्पादनका लागि के समस्या छ ?

बीमा समितिले एक्चुरीसम्बन्धी ऐन ल्याउनका लागि पहल गर्नुपर्दछ, सरकारले ऐन पास गर्ने जिम्मेवारी लिनुपर्दछ ।

आजसम्म एक्चुरी विषयको अध्ययन–अध्यापन नेपालमा हुन सकेको छैन, अन्य देशको भर पर्नुपर्ने बाध्यता छ । आजभन्दा ३० वर्षअघि नेपालमा चार्टर्ड एकाउन्टेन्टको न अध्ययन हुन्थ्यो न सोसम्बन्धी परीक्षा लिने व्यवस्था नै थियो । तर, आज नेपालमा नै चार्टर्ड एकाउन्टेन्टको परीक्षा लिइन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन लागू भएको छ । यसैगरी नेपालमा एक्चुरीसम्बन्धी ऐन जारी गरी बीमा क्षेत्रलाई अति आवश्यक पर्ने एक्चुरीजस्तो उच्च दक्ष जनशक्तिको उत्पादन गर्न आवश्यक छ । बीमा समितिले एक्चुरीसम्बन्धी ऐन ल्याउनका लागि पहल गर्नुपर्दछ, सरकारले ऐन पास गर्ने जिम्मेवारी लिनुपर्दछ । आशा गरौं, निकट भविष्यमा नेपालभित्रै एक्चुरी विषयको पढाइ हुनेछ र नेपाली जनशक्तिले विदेशमा समेत आफ्नो दक्षता प्रदर्शन गर्नेछ ।

बीमा कम्पनी धेरै भए पनि बीमा प्रडक्टमा विविधता आएको देखिँदैन । सबै कम्पनी पुरानै प्रडक्टमा लुछाचुँडी गरिरहेका छन् । बीमा क्षेत्रमा नयाँ कस्ता प्रडक्ट आउन आवश्यक छ ?

कुनै पनि प्रोडक्ट त्यो देशको आर्थिक, सामाजिक, कानुनी अवस्थालाई ध्यान दिएर ल्याउन आवश्यक हुन्छ । नेपाली जनताको आवश्यकता र चाहना जीवन बीमातर्फ लगानीसहितका बीमा योजना, पेन्सन योजना, एन्युटी योजनाहरु बढी लोकप्रिय हुन सक्दछन् ।

नेपालका बीमा कम्पनीहरुले विविध प्रकारका बीमा पोलिसी जारी गरेका छन् तर विदेशमा जे–जति पोलिसी छन्, ती सबै पोलिसी भने नेपालको बीमाबजारमा उपलब्ध नभएको कुरा सत्य हो । निर्जीवन बीमाअन्तर्गत पनि पर्याप्त मात्रामा पोलिसीहरु नेपालमा छैनन् । धेरै बीमा कम्पनीका धेरै पोलिसीहरुमा समानता पाइन्छ । कुनै पनि प्रोडक्ट त्यो देशको आर्थिक, सामाजिक, कानुनी अवस्थालाई ध्यान दिएर ल्याउन आवश्यक हुन्छ । नेपाली जनताको आवश्यकता र चाहना जीवन बीमातर्फ लगानीसहितका बीमा योजना, पेन्सन योजना, एन्युटी योजनाहरु बढी लोकप्रिय हुन सक्दछन् । निर्जीवन बीमातर्फ कर्मचारी दायित्व बीमा, साइबर जोखिम बीमाको अभ्यास गर्न जरुरी छ । यसबाहेक के–कस्ता पोलिसी आवश्यक हुन्छ भन्ने विषयमा कम्पनीहरुले आममानिसहरुको मनोभावनाको अनुसन्धान गर्न जरुरी छ ।

बीमा समितिले लगानी निर्देशिका लागु गरे पनि कम्पनीहरु खाली व्याज आम्दानीमा मात्र सीमित देखिन्छन् । अन्य क्षेत्रमा लगानी गर्न के समस्या छन् ?

बीमा समितिले जारी गरेको लगानी निर्देशिकाअन्तर्गत लगानीका १० फरक क्षेत्रहरु र तिनको सीमा तोकिदिएको छ तर पनि कम्पनीहरुले प्रतिफलमा भन्दा सुरक्षालाई बढी जोड दिएको पाइन्छ । नेपालमा बैङ्कको मुद्दति खाताको प्रतिफल राम्रो भएकोले यो लगानीका लागि आकर्षक र सुरक्षित क्षेत्र हो । बीमा कम्पनीको लगानी कोषको रकम सरकारले उत्पादनमूलक क्षेत्र र इन्फ्रास्ट्रस्क्चरको क्षेत्रमा आकर्षित गर्न सक्दछ । सेयरबजार अर्को आकर्षित क्षेत्र हो तर नेपालको सेयरबजारमा धेरै लगानी गर्नु बीमा कम्पनीहरुलाई जोखिम हुन सक्दछ ।

अन्य केही भए ?

बीमाको इतिहास लामो भए पनि बीमाको विकासमा नेपाल निकै पछि छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन आवश्यक छ । बीमा क्षेत्रको विकास र प्रवद्र्धनका लागि तपाईंको पत्रिकाले पुर्‍याएको योगदानका लागि धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि निरन्तररुपमा बीमा क्षेत्रका विकृति र विसङ्गतिहरुलाई उजागर गर्न, राम्रा पक्षहरुको प्रचारप्रसार गर्न, बीमाप्रति आमजनताको विश्वासनीयता कायम गर्न र जनचेतना अभिवृद्धि गर्नका लागि आवश्यक काम गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री