शनिबार, १५ वैशाख २०८१

ग्राहकहरुसँग नजिक हुने बाटो पहिल्याएका छौं

समयपोष्ट २०७७ फागुन १९ गते १४:१८

Advertisement

जीवन बीमा क्षेत्रमा कोरोनाले कस्तो प्रभाव पार्यो ?
कोरोनाले बीमा क्षेत्रमा असर नगर्ने भन्ने कुरा रहेन । जीवन बीमाको व्यवसाय वृद्धि हुने भनेको अभिकर्ताहरुमार्फत् हो । त्यसका लागि अभिकर्ताहरुले ग्राहकहरुलाई प्रत्यक्षरुपमा नै भेट्नुुपर्ने हुन्छ । चैत ११ गतेपछि ग्राहकहरुसँग सीधा सम्पर्क हुन नसक्दा त्यसको असर हामीकहाँ परेको छ, जसले गर्दा विगतको भन्दा प्रिमियम कम हुने अवस्था आएको छ । तर, हाम्रोमा भने प्रिमियम टार्गेटबमोजिम नै कलेक्ट भयो । अभिकर्तामार्फत् हुने व्यवसाय घटे पनि सामूहिक कर्पोरेट लेवलमा हुने व्यवसाय भने निरन्तर भएको हुनाले हाम्रो टार्गेट मिट भयो । तर, हाम्रा शाखा विस्तारका कार्यहरु रोकिए । लोकसेवाले नतिजा प्रकाशित गर्ने समयमा लकडाउन हुँदा कर्मचारी नियुक्ति प्रक्रिया, अभिकर्ताका तालिम रोकिए । संस्थानको मात्र नभएर समग्रमा जीवन बीमा क्षेत्रमा असर परेको छ ।

कोरोना बीमाको भुक्तानीमा भएको ढिलाइले आममानिसमा समग्र बीमा क्षेत्रमा यस्तै हो कि भन्ने नकारात्मक म्यासेज गएको छ । जबकि त्यो कोरोना बीमा हामीसँग सम्बन्धित नै होइन । केही सञ्चारमाध्यमहरुले ‘कोरोना बीमाको रकम भुक्तानीमा ढिलाइ’ भन्दै राष्ट्रिय बीमा संस्थानको भवनको तस्बिर राखेर प्रचार गरेकोसमेत पाइयो ।

कोरोना बीमा ल्याउँदा गृहकार्य पुगेन कि ?
यसमा गृहकार्य नपुुगेकै हो । अलि बढी छलफल गरेर यसले पार्ने दूरगामी प्रभावको आँकलन गरेर गरिएको भए यो खालको स्थिति आउने थिएन होला, जसलाई अलि पछि करेक्सन पनि गरियो । त्यस खालको मोडालिटीमा गएको भए अलि सजिलो हुन्थ्यो कि ?

बीमा संस्थानजस्ता पुराना कम्पनीहरुलाई डिजिटलाइज्ड गर्न कोरानाकाल कत्तिको उपयोगीसिद्ध भयो ?
नयाँ कम्पनीहरु नयाँ–नयाँ प्रविधिका साथ आएका छन् । यसमा उहाँहरुलाई समस्या भएन । तर, हामीजस्ता पुराना संस्थाहरु पूर्णरुपमा डिजिटलाइज्ड हुन अझै केही समय लाग्छ । हामीले पुराना तथ्याङ्कहरु माइग्रेसन गर्न सकेका छैनौं । ती तथ्याङ्क माइग्रेसन नगर्दासम्म हामीले नयाँ सफ्टवेयरसँग लिङ्क गर्न सक्दैनौं । त्यसले गर्दा पूर्णडिजिटलाइज्ड गर्न हामीलाई अझै केही महिना लाग्छ । तर, नयाँ व्यवसायहरु हामीले त्यही मोडालिटीमा सञ्चालन गर्न लागेका छौं । लकडाउनकै समयमा पनि परम्परागतभन्दा अलि फरक किसिमले ग्राहकलाई दिनुपर्ने सेवा रोकेनौं । बीमा अत्यावश्यक क्षेत्रभित्र पर्ने भएको हुँदा कार्यालय नै बन्द गर्ने काम पनि हामीले गरेनौं । सेवालाई निरन्तरता नै दियौँ । डिजिटलाइज्ड गर्ने हिसाबमा हामीले काम अगाडि बढाइरहेका छौं ।

जीवन बीमा क्षेत्रका मुख्य जोखिमहरु के हुन् ?
जोखिमसँग बीमा कम्पनीहरु डराउनुु हुँदैन । एकाधरुपमा कहिलेकाहीँ साना–तिना फ्रडहरु हुने गर्छन् । सीधा देखिने एउटा जोखिम त्यो हो भने अन्य बीमा समितिले दिएको निर्देशनबमोजिम हाम्रा प्रडक्टहरु बिक्री गर्नुपर्ने भएको हुँदा त्यति ठूलो जोखिम छ जस्तो लाग्दैन । तर, कहिलेकाहीँ बीमितको बारेमा सही सूचना प्राप्त गर्न नसक्दा र उसको बारेमा राम्ररी अध्ययन गर्न नसक्दा त्यसबाट केही जोखिम आउन सक्ने स्थिति हुन्छ । अभिकर्तामार्फत् हुने व्यवसाय भएकाले अभिकर्ताहरुले व्यापार आइसकेपछि मात्र कमिसन पाउँछन् । त्यसले गर्दा बीमितका कमजोरी पनि लुकाइन्छ कि ? त्यसो भयो भने जोखिम बढ्दै जान्छ । व्यवहारमा त्यस्तो फेला नपरे पनि हुने सम्भावना छ ।

बीमा समितिले लगानी निर्देशिका कार्यान्वयनमा ल्याए पनि किन मुद्दति निक्षेपबाहेक अन्य क्षेत्रमा लगानी हुन सकेको छैन ?
टोटल टेक्निकल रिजर्भलाई आधार मानेर सेक्टरहरु छुट्याइएको छ । जुन कम्पनीहरुको लाइफ फण्ड कम छ, धेरै सेक्टरहरु लिएर जान उहाँहरुलाई अप्ठ्यारो छ । हामीजस्ता पुराना र लाइफ फण्ड राम्रा भएकाहरुलाई सेक्टरलरुपमा जान निर्देशिकाले त्यति रोकेको छैन । त्यही निर्देशिकाका सामान्य नियमभन्दा अलि फरक किसिमले जानु पर्यो भने स्वीकृति लिएर गर्न सकिने भन्ने व्यवस्था गरिएको छ । यसमा बीमा समितिले पनि स्वीकृति दिने गरेको छ । त्यति हुँदाहुँदै पनि बीमा कम्पनीको लगानीको क्षेत्र अत्यन्त कम नै छ । मुद्दति निक्षेपमै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो समयमा सेयरमा जाने अवस्था बनेको छ । केही समयअघि हामीले जलविद्युत्मा लगानी गरेका थियौं । एचआईडीसीएल र अपर तामाकोशीमा हाम्रो राम्रै लगानी रहेको छ । बीमा क्षेत्रको मात्र लगानी गर्न सक्ने बण्डहरु जारी गरिदिए हामीलाई अर्को क्षेत्र प्राप्त हुन्थ्यो । तर, व्यावहारिकरुपमा त्यस्तो हुन सकेको छैन ।

अहिले हामीले बजारमा पुराना किसिमकै पोलिसीहरु बेचिरहेका छौं । त्यसमा फिचर्सहरु परिवर्तन गरेर र राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा चलिरहेका विशेषतासहितको नयाँ बीमालेख जारी गर्ने हिसाबमा हामी अगाडि बढिरहेका छौं ।

पछिल्लो समय जीवन बीमा कम्पनीबीच निकै प्रतिस्पर्धा चलेको छ । नयाँ कम्पनीहरु आधुनिक प्रविधिसहित विभिन्न सेवा–सुविधा लिएर आइरहेका छन् । तिनीहरुसँग प्रतिस्पर्धा गरेर जाने संस्थानको योजना कस्तो छ ?
नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु छन् । त्यसकारण प्रतिस्पर्धा त हुने नै भयो । फेरि पुुराना कम्पनी भनेरमात्रै पनि भएन किनकि हामी पुराना प्रविधिबाट सञ्चालित थियौं । हिजोका दिनमा हामी डस बेस्ड सफ्टवेयरबाट काम गर्दथ्यौँ, जसमा एउटा डेस्कटपको काम अर्को डेस्कटपमा जोडिँदैनथ्यो । अहिले हामीले वेब बेस्ड सफ्टवेयर सुरु गरेका छौं । हाम्रो प्रधान कार्यालय र शाखा कार्यालयहरु एउटै एकीकृत सफ्टवेयरमार्फत् सञ्चालन गर्न थालेका छौं, जसले गर्दा ग्राहकहरुले आफ्नै ठाउँमा सेवा प्राप्त गर्न पाएका छन् । प्रविधिकै कुरा गर्दा हामीले एसएमएस सेवाको सुरुवात गरेका छौं भने मोबाइल एप्सको पनि सुरुवात गरेका छौं । अब डिजिटल पेमेन्टका कामहरु अगाडि बढाउने हाम्रो योजना छ । जबसम्म नयाँ सफ्टवेयरमा सतप्रतिशत डेटा माइग्रेसन हुँदैन, तबसम्म पूर्णरुपमा अगाडि बढ्न सक्ने स्थिति छैन । तर, त्यो बाटोमा हामी अगाडि बढिरहेका छौं । अर्को भनेको, ग्राहकले कस्तो खालको प्रडक्टहरु खोजिरहेका छन्, त्यही खालको प्रडक्ट बनाउनुपर्ने अवस्था छ । अहिले हामीले बजारमा पुराना किसिमकै पोलिसीहरु बेचिरहेका छौं । त्यसमा फिचर्सहरु परिवर्तन गरेर र राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा चलिरहेका विशेषतासहितको नयाँ बीमालेख जारी गर्ने हिसाबमा हामी अगाडि बढिरहेका छौं । अहिले टर्म लाइफ इन्स्योरेन्सको माग भइरहेको र बीमा संस्थानले नगरिरहेको हुँदा त्यो प्रडक्ट हामीले एक्चुरीमा पठाएर बीमा समितिबाट स्वीकृति प्राप्त गरिसकेको अवस्था छ । आगामी वार्षिकोत्सवबाट हामीले उक्त प्रडक्ट लञ्च गर्दैछौं । सङ्ख्यात्मक र गुणात्मकरुपमा अभिकर्ताहरु बढाउने हिसाबले अभिकर्ता तालिमलाई व्यापक ढङ्गले विस्तार गरिरहेका छौं । साथै, शाखा विस्तारको कार्यलाई पनि प्रमुख कार्यभारको रुपमा अगाडि बढाएका छौं । विगतका दिनहरुमा हाम्रा आठवटा शाखा भनिए तापनि एक–दुुईवटा शाखाबाट मात्र व्यवसाय हुन्थ्यो । तर, अहिले हाम्रो शाखा बाईसवटा पुगिसकेको छ । ती सबै शाखाबाट हाम्रो कारोबार सुरु भइरहेको छ ।

लामो समयदेखि रोकिएको अडिटको काम अहिले के भइरहेको छ ?
जीवन बीमाको अडिट बीमाङ्कीय मूल्याङ्कनसँग जोडिने रहेछ । म यहाँ आइसकेपछि २०६४ सम्मको मात्र मूल्याङ्कन भएको अवस्था थियो, जसले गर्दा हाम्रो डेटा परीक्षणको काम अगाडि बढ्न सकेन । २०६८/६९ को व्यालेन्ससीट २०७४ मा बीमा समितिमा पुु¥याइसकेको अवस्था छ । त्यो स्वीकृति भएन । बीमाङ्कीय मूल्याङ्कन सँगसँगै हुनुुपर्ने त्यो काम पेन्डिङ भएको हुनाले भएन । म आइसकेपछि २०७५ माघमा हामीले २०६४ सम्मको मूल्याङ्कन गरेर पठायौं । २०७६ को श्रावणमा २०७० सम्मको मूल्याङ्कन गरेर पठाइसकेको अवस्था हो । त्यो समयमा नै स्वीकृत भएर अगाडि बढ्न सकेको अवस्था हुन्थ्यो भने हाम्रा बाँकी मूल्याङ्कनका काम र लेखापरीक्षणको काम पनि अगाडि बढ्दथ्यो । त्यो काम लामो समयसम्म हुन नसक्नुुमा विविध कारणहरु छन् । भर्खरैमात्र पौषमा २०६८ सम्मको मूल्याङ्कनको स्वीकृति प्राप्त गरेका छौं । त्यसको आधारमा उसले दिएको निर्देशनअनुसार व्यालेन्ससीटलाई एड्जस्टमेन्ट गरेर त्यसलाई फाइनल गर्ने चरणमा हामीले काम गरिरहेका छौं ।

हाम्रो यो भवन रहेको जग्गा ३०–४० वर्षदेखि आफ्नो नाममा आउन नसकेको अवस्था थियो । अहिले रजिष्ट्रेसन पास गरेर लिने प्रक्रियाको करिब–करिब अन्त्यतिर पुगेका छौं । यसबारे मन्त्रिपरिषद्मा प्रस्ताव गएको छ । त्यो स्वीकृत भएर आयो भने एउटा महत्वपूर्ण काम हासिल हुने अवस्था छ ।

संस्थानमा यहाँको कार्यकाल पनि अब केही महिनामा सकिँदैछ । यहाँले गरेका मुख्य उपलब्धिहरु के–के हुन् ?
प्रविधिमा हामीले एकखालको फड्को मारेका छौं । अर्को, शाखा सञ्जाल, अभिकर्ता विस्तार, नयाँ–नयाँ प्रडक्ट ल्याउने कुरा, कार्यालयको लेवाउट परिवर्तन गर्ने कुरा, नयाँ कर्मचारी नियुक्ति र उनीहरुलाई तालिम गर्ने कुरा उसको सीप विकास गर्नेजस्ता कुराहरु प्रमुखताका साथ गरेका छौं । नीति निर्माण, कार्यविधि बनाउने, भोलि कता जाने भन्ने डिरेक्सनका कुराहरुलाई व्यवस्थित गर्दै अगाडि बढेका छौं । बजारीकरणका कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाएका छौं ।

बाहिरबाट हेर्दा नगरेको काम भनेको लेखापरीक्षण र साधारणसभा भयो, जुन कुरा यो संस्थान एक्लैको पहलले मात्र हुन नसक्ने रहेछ । बीमा समितिले स्वीकृति दिएर अगाडि बढ्यो भने लेखापरीक्षणको काम पनि सम्पन्न गर्न सक्ने अवस्थामा छौं । आन्तरिकरुपले विगत २०७४ सम्मको लेखापरीक्षण भएको छ । त्यसलार्ई फाइनल गर्नमात्र बाँकी हो । बीमा समितिको स्वीकृति भइसकेपछि त्यसलाई एड्जस्टमेन्ट गरेर त्यो काम अगाडि बढाउन सकिन्छ । हाम्रो यो भवन रहेको जग्गा ३०–४० वर्षदेखि आफ्नो नाममा आउन नसकेको अवस्था थियो । अहिले रजिष्ट्रेसन पास गरेर लिने प्रक्रियाको करिब–करिब अन्त्यतिर पुगेका छौं । यसबारे मन्त्रिपरिषद्मा प्रस्ताव गएको छ । त्यो स्वीकृत भएर आयो भने एउटा महत्वपूर्ण काम हासिल हुने अवस्था छ । यी कुरा भए भनेमात्र हाम्रो स्ट्रेन्थ राम्रो देखिन्छ । राष्ट्रिय बीमा संस्थानलाई ग्राहकले विश्वास गरेको छ । तर, ग्राहकको अगाडि पुुग्न नसकेको विगतको यथार्थ हो । त्यसलाई सुधार गरेर परिमार्जन गर्दै ग्राहकहरुसँग नजिक हुने बाटो हामीले पहिल्याएका छौं । त्यसकारण अब हामीलाई अगाडि बढ्न सहज छ । प्रिमियम कलेक्सन, लाइफ फण्डका कुराहरुमा तेस्रो, चौंथो पोजिसनमा हामी छौं । त्यसलाई सुधार गर्दै गइयो भने अझ माथि जाने हिसाबले हाम्रा कामलाई निरन्तर अगाडि बढाइरहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री