शुक्रबार, १६ चैत २०८०

इटालीबाट धेरैले पाठ सिके, थपिँदै एकान्त बासमा जाने मुलुक

समयपोष्ट २०७६ चैत १४ गते ८:१८

Advertisement

कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न नेपाली अहिले एकहप्ते एकान्त बास (लक डाउन)मा छन् । नागरिकको ज्यान रहे अरु विकास र समृद्धि फेरि प्राप्त गर्न सकिन्छ । इटलीले यही कुरा पहिले नअपनाउदाँ ठूलो क्षति बेहोरीरहेको छ । त्यही पाठ सिकेर धेरै मुलुक एकान्त बास (लक डाउन)मा बसेका छन् ।
नेपाल जस्तै विश्वका धेरै मुलुक यतिबेला एकान्त बास अर्थात ‘लक डाउन’को अवस्थामा छ । कतिपय मुलुक आफ्ना नागरिकलाई एकान्त बासबाट सामान्य अबस्थामा मा फर्काउने अभियानमा छन् । अर्थात यतिबेला विश्वका कुल जनसंख्यामध्ये २० प्रतिशत बढि जनसंख्यालाई घरबाट बाहिर निस्कन निषेध गरिएको अवस्थामा छ । कोरोना भाईरस फैलनबाट रोक्नका लागि घरभित्रै बस्ने, बाहिर हिँडडुल नगर्ने अवस्थालाई नै ‘लक डाउन’ एकान्त बासको अवस्था भनेर बुझिएको छ ।
भारतमा चीनपछिको ठूलो हिस्सा

भारत सरकारले मंगलबार २१ दिनको लक डाउनको घोषणा गर्दै आफ्ना १.३ अर्ब जनतालाई घरभित्रै बस्न आदेश दिएको छ । अघिल्लो दिन सोमबार नेपाल सरकारले एक साताका लागि सबैलाई घरभित्रै बस्न आदेश जारी गरेको थियो । यतिबेला अत्यधिक प्रभावित भैरहेको इटलीमा १५ दिन अघि मार्च १० मा नै बाहिर निस्कने र अन्य गतिविधि गर्न रोक लगाइएको थियो ।
त्यस्तै स्पेन र फ्रान्सले पनि देशभित्रका नागरिकको स्वास्थ्य सुरक्षा गर्नका लागि घरबाहिर निस्कन प्रतिबन्ध लगाउदै एकान्त बास लक डाउनको घोषणा गरिसकेको छ ।

इटलीमा त्राहीमाम

चीन बाहेक इटालीमा संसारमै सबैभन्दा बढी कोरोनाभाइरसको मृत्यु भैसकेको छ । चीनमा भन्दा दोब्बर मानिस कोरोनाको चपेटामा परि मृत्यु बरण गर्न वाध्य भएका छन् । सुरुवाति अवस्थामै पूर्व सुरक्षाका उपाय अपनाउन नसक्दा यो परिणति इटलीले भोग्नु परेको हो । इटली यतिबेला भने पूर्ण लक डाउन एकान्त बासमा छ ।
बिहीबारसम्म इटलीमा ७४ हजार ३८६ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये ७ हजार ५३० को ज्यान गइसकेको छ । एकै दिनमा एकहजार बढिको ज्यान कोरोनाले लिइरहेको छ ।
चीनमा पछिल्लो समय गएको २४ घण्टामा आउटब्रेक भएकै स्थान बुहानमा ६७ जनामा नयाँ संक्रमण फेला परेको छ । र यस अवधिमा ६ जनाको मृत्यु भएको छ । यो संख्या विगत पाँचदिनको शुन्यता पछिको हो । ति व्यक्तिहरु स्थानीय नभइ बाहिरबाट आएको दाबी गरिएको छ ।
चीनमा हालसम्म ८१ हजार २८५ मध्ये ३ हजार २८७ जनाको मृत्यु भएको छ । इटलीको बढावाले विश्वकै संक्रमितको संख्यामा बढोत्तरी गर्दै चार लाख ७१ हजार ८३७ पुर्याएको छ । २१ हजार २९७ को ज्यान गएको छ । एक लाख १४ हजार ७११ निको भएका छन् । १९८ देश प्रभावित बनेका छन् । विश्वव्यापी महामारीको फैलावटकै कारण पछिल्लो समय लक डाउनमा बस्ने देशको संख्या पनि बढ्दै छ ।
भारतको पूर्ण लक डाउनमा चीन पछिको सबैभन्दा ठूलो जनसंख्या समेटेको छ । जसमा चीनको झण्डै आधा जनसंख्या रहेको अनुमान गरिएको छ ।
चीनमा केही खुकुलो बनाइएको छ । बुहानको प्रतिबन्धमा कम गरिएको छ । सुरुवातमै उसले आफ्ना २० प्रान्तका सबै बासिन्दालाई एकान्त बास क्वारेन्टाइनको नीति अवलम्बन गरेकै कारण छिटो उन्मुक्ति पाउँदै गएको हो । उता युरोपमा फस्टाउदै गरेको कोरोनाको कहरबाट बच्न बेलायतले पनि सोमबारदेखि पूर्ण लक डाउनको स्थिति अवलम्बन गरेको छ । त्यहाँका प्रहरी मानिसलाई घरमै बस्न कडाइका साथ उत्रेका छन् ।

एकान्त बासमा जाने देश बढ्दै

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको फैलावटलाई माहामारीको घोषणा गर्दै सावधानी अपनाउन सचेत गराइरहेको छ । उसले सबै देशलाई बिरामीको संख्या सीमित गर्न र भाइरसको फैलावटलाई ढिला बनाउन प्रभावकारी भएका प्रयासहरू जारी राख्न आह्वान गरेको छ ।
जस अनुसार दक्षिण अफ्रिकामा पछिल्लो समय संक्रमण यथा स्थिति जस्तै अवस्थामा छ । तर पनि उसले बिहीबारदेखि २१ दिनका लाडि लक डाउन घोषणा गर्दैछ ।
न्यूजील्याण्डले पनि बुधबारदेखि पूर्ण लक डाउन गरेको छ । त्यहाँ बाहिरबाट आएकालाई अनिवार्य १४ दिनको क्वारेन्टाइनबासमा बस्न कडाइ गरिएको छ । कोलम्बियामा भने ७० बर्ष माथि उमेर समुहलाई घरभित्रै बस्न सरकारले भनेको छ ।
त्यहाँ मंगलबारदेखि राष्ट्रव्यापी क्वारेन्टाइन सेवा सुरु गरिएको छ । अष्ट्रेलियामा अतिआवश्यक बाहेकका अन्य व्यवसाय सोमबारदेखि बन्द गरिएको छ । जोर्डनमा शनिबारदेखि अनिश्चितकालिन लक डाउनको भएको छ ।
घरबाहिर निस्केमा त्यहाँ एकबर्ष जेल सजाय हुने व्यवस्था छ । मार्च २१ बाट नै अर्जेन्टिनाले मुलुकका नागरिकलाइृ लक डाउनमा राखेको छ । इजरायल भने विदेशी नागरिकलाई पहिल्यै प्रतिबन्ध गर्दै यतिबेला आंशिक लक डाउनको अवस्थामा छ । बेल्जियमले मार्च १७ मै लक डाउन घोषणा गर्यो ।
त्यस अघि मार्च १६ मा युरोपियन युनियनले अनावश्यक यात्रालाई ३० दिनको लागि प्रतिबन्ध लगाएको छ । जर्मनीले भने सेमी लक डाउनको स्थितिमा छ । जसले १६ राज्यमा चर्च, खेलकुद, क्लब र बार लगायतका क्षेत्र बन्द गरेको छ ।
मलेसिया र एल साल्भाडोरमा आवश्यक बाहेकका बजार र व्यवसाय प्रकाशन समेत बन्द गरेको छ । चेक रिपब्लिकका पसल, होटल तथा यात्रामा १६ मार्चमै प्रतिबन्ध लगाइएको छ ।
डेनमार्क, मोरक्को, केन्या, पोल्याण्डले सार्वजनिक क्षेत्र बन्द गरेको छ । कुवेत, आयरल्याण्ड नर्वेले भने पूर्ण लक डाउन अपनाउँदै घरबाहिर निस्कन बन्देज लगाएको छ । अन्य मुलुकले पनि कोरानाबाट बच्न आफ्ना सीमा नाका पूर्ण रुपमा बन्द गर्दै सुरक्षात्मक उपाय अपनाएका छन् । गोरखापत्रमा चाँदनी हमालले लेखेकी छिन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री