शुक्रबार, १६ चैत २०८०

एसइई परीक्षा स्थगित : परीक्षा नदिइकन घर फिर्ता हुनुपर्दा…….

समयपोष्ट २०७६ चैत ६ गते १९:२७

Advertisement

वासुदेव पौडेल
पोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले यस वर्षको एसइई परीक्षालाई लक्षित गर्दै गत मङ्सिर २३ गतेदेखि नै आवासीय छात्रावास सञ्चालन गरिरहेको थियो ।

विगतमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा कसरी ल्याउने भन्नेमा नै केन्द्रित थिए, विद्यार्थी, विद्यालय अनी अभिभावक । बुधबार दिउँसोसम्म परीक्षाको अन्तिम तयारीमा जुटिरहेका विद्यार्थीलाई साँझको एसइई स्थगितको समाचारले भने एकाएक गम्भीर बनायो ।

अन्तिम तयारीमा पुगेको एसइई परीक्षाको स्थगनले विद्यार्थी, विद्यालय एवं अभिभावक सबैमा एक किसिमको अन्यौलता सिर्जना गरेको उक्त विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेले बताउनुभयो । एसइई स्थगनसँगै परीक्षाको तयारी स्वरुप तीन महिनादेखि सञ्चालित छात्रावासमा बसिरहेका विद्यार्थीलाई आजैदेखि अर्को सूचना नहुँदासम्मका लागि घरघरमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

“कोरोना भाइरसको सम्भाव्य जोखिमलाई लक्षित गरी सरकारले परीक्षा स्थगन गर्नु स्वभाविकै भए पनि केही दिनअघि मात्रै उक्त निर्णय आइ दिएको भए राम्रो हुने थियो”, उहाँले भन्नुभयो । परीक्षा नदिइकन घर फिर्ता हुनुपर्दा विद्यार्थीले बोझिलो महसुस गरेको बताउँदै उहाँले विद्यालयका परीक्षा जस्तै एक हप्ता अघि एसइईको परीक्षा सार्न सकेको भए विद्यार्थी, विद्यालय तथा अभिभावक सबैको अन्यौलता हट्ने थियो भन्नुभयो ।

आजदेखि शुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भइसके पनि सरकारले बुधबार साँझ मात्रै एसइई स्थगनको निर्णय गरेको थियो । यस वर्षको एसइई परीक्षामा गण्डकी प्रदेशबाट मात्रै ४७ हजार ५१३ विद्यार्थी सहभागी हुँदै थिए । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने प्रदेशको राजधानी रहेको कास्की जिल्लाबाट मात्रै १० हजार ८४० परीक्षार्थी एसइईमा सहभागी हुँदै थिए ।

जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीका अनुसार जिल्लाका कूल २८९ वटा विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाका लागि ३२ वटा केन्द्र निर्धारण गरिएको थियो । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट हुन सक्ने सम्भाव्य जोखिमलाई दृष्टिगत गरी सरकारले एसइई स्थगित गरेकोे प्रदेश शिक्षा निर्देशनालयका अधिकृत रवीमोहन आचार्यले बताउनुभयो ।

“सबैभन्दा ठूलो मानिसको स्वास्थ्य नै हो, यसलाई मध्यनजर गर्दै सरकारले एसइई केही समयमा लागि स्थगित गरेको हो”, उहाँले भन्नुभयो, “हालका लागि स्थगित भए पनि चाँडै नै परीक्षा हुन्छ भन्ने सोचसहित प्रत्येक परीक्षार्थीले उच्च मनोवलका साथ आफ्नो तयारीलाई निरन्तरता दिनुपर्छ ।” अन्तिम समयमा आएर परीक्षा स्थगित गरिनुले विद्यार्थीमा मानसिक तनाव सिर्जना भएको पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले बताउनुभयो ।

विद्यालयबाट यस वर्षको एसइईमा एक सय ४८ जना विद्यार्थी सहभागी हुन लागेको जानकारी दिँदै उहाँले परीक्षाको तयारीलाई लक्षित गरी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा नै अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो । एसइई स्थगित भएसँगै आजैदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि विद्यार्थीलाई आ आफ्नो घरमा फिर्ता गराइएको उहाँले जानकारी दिनुभयो ।

“विद्यार्थीहरू परीक्षा सक्न नपाएका कारण गह्रौ महसुस गर्दै फर्किएका छन्,” उहाँले भन्नुभयो, “चाँडै नै परीक्षाको अर्को सूचना आउने भन्दै तयारी निरन्तर जारी राख्न भनेका छौँ ।” अन्तिम समयमा गरिएको परीक्षा स्थगनले विद्यार्थीमा मनावैज्ञानिक प्रभाव पारेको पोखरा महानगरपालिका–२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीका प्राचार्य विष्णुहरि पौडेलले बताउनुभयो ।

स्वास्थ्य प्रतिको पूर्वसजगता अपनाउँदै सरकारले परीक्षा स्थगनको निर्णय गरे पनि चाँडै नै परीक्षा हुन्छ भन्ने सोचका साथ विद्यार्थीलाई नियमित अध्ययनको अनुकूल वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री