मंगलबार, २५ वैशाख २०८१

आवश्यक परीक्षण नहुँदा कोरोना संक्रमितलाई जाँचै नगरी पठाइएको छ : डा. दिक्षित

समयपोष्ट २०७६ चैत ६ गते १७:४२

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताइन् । तर, डा. दिक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।

उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

सरकारले आवश्यकत्तानुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

Advertisement

उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस नेपालमा आउने÷नआउने कुनै ग्यारेन्टी नभएको स्पष्ट पारेका छन् । उनले भने,‘रोग आउन पनि सक्छ, नआउन पनि सक्छ । यसबारे जनमानसमा झन बढी त्रास बढेको पाईएको छ ।’

उनले नेपालमा जाँचनै हुँदैन कि रोग नै छैन भन्ने प्रश्न धेरैमा भएको भन्दै स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘आतंकित नहोऔं, सचेतना अपनाऔं ।’

पुनले हुलमुलमा नजान, कसैसित नजिक भएर कुरा नगर्न, साबुन पानीले हात धुँदा वैज्ञानिक आधारले धुन, संक्रमित भएमा घरको छुट्टै कोठामा बस्नपनि सुझाव दिए । पुनले यो महामारीबारे अशिक्षितलाई भन्दापनि शिक्षितलाई सम्झाउन गाह्रो भएको समेत गुनासो पोखे ।

नागरिक समाजका अगुवा चरण प्रसाईले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन् । उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फर्काइदिएकोमा आपत्ति गर्दै सरकारको विश्वास गुमेको गुनासो पोखे ।

उनले भने,‘विरामी फर्काउने र राम्ररी चेकजाँच नहुने भएपनि सरकारलाई कसरी विश्वास गर्ने ?’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिका कारण पनि झन विश्वसनियता गुम्दै गएको उनको भनाई थियो ।

प्रसाईंले कसैलाई पनि नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा खेलवाड गर्ने छुट नभएको भन्दै सरकारको यसतर्फ ध्यानाकार्षण गराए । सरकारले जनतालाई कोरोना भाइरसबारे जानकारी दिनुपर्ने उनको जोड थियो । धेरै मानिसमा समस्या लिएर अझैपनि कहाँ र कसरी जाने भन्नेमा अन्यौलता रहेको भन्दै सरकारले जनतालाई स्पष्ट र आश्वस्त पार्न नसकेको उनको गुनासो थियउो । उनले भने,‘सरकारले जनताको आशंका मेटाउनुपर्छ ।’
गैरसरकारी संस्था महासंघका अध्यक्ष जित राम लामाले कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको बताए । उनले आफुहरु सरकारसँग सहकार्य गरी महामारी नियन्त्रण गर्न तयार रहेको जानकारी दिए ।

सरकारले यसमा जनतालाई विश्वास दिलाउन नसकेको भन्दै उनले सबैको आफ्नो कार्यक्षेत्र सुरक्षित भई ढुक्क महसुस गर्ने वातावरण मिलाइदिन समेत आग्रह गरे । उनले भने,‘सरकारले ढुक्क हुनेगरी वातावरण बनाउनुपर्छ । स्वास्थ्यकर्मी, मिडिया र नागरिकलाई कसरी सुरक्षित हुने भन्नेमा तालिम दिन पनि म आग्रह गर्दछु ।’

एनले यो महामारीबाट बच्नको लागि अन्र्तराष्ट्रियस्तरमा गैरसरकारी संस्थाहरुलाई सहयोग माग्नुपर्ने पनि बताए । उनले यसमा समूदाय र सामुदायिक संस्थालाई परिचालित गर्नु सरकार तयार भएमा नागरिक समाज पनि तयार रहेको बताए ।

उनले सरकारको आलोचना भन्दापनि महामारीको विरुद्धमा कसरी लड्ने भन्नेमा सचेत हुनु आजको आवश्यकत्ता रहेको बताए । सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गर्दै उनले यो लडाई जितेमा सारा नेपालीको जीत हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री