प्राविधिक कलेज सञ्चालन गरिने

तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएसआइटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो ।

Advertisement

वडा नं १४ को सुपौलीमा निर्माण हुन लागेको प्राविधिक कलेज भवनको शिलान्यास गर्दै नगरप्रमुख वासुदेव घिमिरेले प्राविधिक शिक्षामा सबैको पहुँच पु¥याउने गरीे कलेज सञ्चालन गर्न लागिएको बताउनुभयो । कलेजको सम्बन्धनका लागि त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको जानकारी दिँदै उहाँले सम्बन्धन पाए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने जनाउनुभयो ।

भवनको लागत अनुमान रु पाँच करोड १७ लाख रहेकामा कालीगण्डकी निर्माण कम्पनीले रु तीन करोड ७७ लाखमा ठेक्का पाएको नगरपालिकाका योजनाप्रमुख प्रदीप वनले जानकारी दिनुभयो । एल आकारमा तीन तलमा निर्माण हुने भवनमा २४ कोठा रहने गरी भवन डिजाइन गरिएको छ ।

एक वर्षमा निर्माणसम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ । साबिक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकाले सम्बन्धन पाए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ । कलेज निर्माणमा नगरपालिकाको रु दुई करोड र प्रदेश सरकारको समपुरकबाट रु दुई करोडको व्यवस्था मिलाइएको छ ।

राममणि क्याम्पसमा तालाबन्दी

Advertisement

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । विभिन्न २१ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियुले आज क्याम्पसप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिए पनि माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएपछि तालाबन्दी गर्नुपरेको सङ्गठनका अध्यक्ष सागर न्यौपानेले बताउनुभयो ।

उहाँले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्य अगाडि बढाउन, ई–लाइब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारी बनाउन माग गरिएकामा प्रशासनले बेवास्ता गरेको बताउनुभयो ।

क्याम्पसको सभा–सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाब पारदर्शी गर्न, हालै विज्ञान सङ्कायका संयोजकसहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानबिन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति नगरपालिकाभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री