पूनर्संरचना प्रतिवेदन हप्ता दिनभित्र टुङ्गाउने मन्त्री परिषदको निर्णय
मन्त्रीपरिषदको बैठकले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमाथि सुझाव कार्यदलले बुझाएको सुझाव प्रतिवेदनबारे छलफल भएको थियो ।
बैठकमा मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु समेतको राय लिएर पूनर्संरचना प्रतिवेदन टुङ्गाउने निर्णय गरेको हो ।
‘आजको बैठकमा स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन र माननीय मन्त्री हितराज पाण्डेको कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमाथि छलफल भयो । सुझाव कार्यदलले मधेशमा स्थानीय तहको संख्या बढाउन दिएको सुझाव मनासिव रहेको बैठकले ठहर गरेको छ, बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले भने, विज्ञहरु समेतसँग छलफल गरेर पूनर्संरचना प्रतिवेदन टुंगाउन मन्त्री पाण्डेको कार्यदललाई एक साताको समय दिने निर्णय गरिएको छ ।’
बैठकले फागुन १० गतेबाट सुरु हुने संसदबाट संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया