शुक्रबार, ७ वैशाख २०८१

संविधानको प्रभावकारी कार्यान्वयन गर्न निर्धारित समयमा तीनै तहको निर्वाचन हुनुपर्छ : उपराष्ट्रपति

समयपोष्ट २०७३ फागुन ४ गते ८:३२

उपराष्ट्रपति नन्दकिशोर पुनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहको निर्वाचन गर्नुपर्ने  बताएका छन् । मंगलबार महिला उद्यमी महासंघले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको राजधानीमा उद्घाटन गर्दै पुनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् । उनले कार्यक्रममा बोल्दै नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था गरेको उल्लेख गर्दै महिला उद्यमीका समस्यहरूलाई सम्बोधन गर्न सरकारलाई आग्रह समेत गरे । 

Advertisement

कार्यक्रममा पुनले महिला सहभागिता बिना राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने  बताए । “महिला उद्यमीले व्यापार–व्यवसायमा अघि बढ्न धेरै चुनौती छ,” पुनले भने, “ तर व्यवसाय गर्न चुनौती छ भनेर महिला उद्यमीहरू घरको चुलो–चौकोमा सीमित हुनुहुँदैन् ।”

कार्यक्रममा महासंघ उपाध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनी लाभदायक हुने बताइन् । “प्रदर्शनीबाट प्रविधि, ज्ञान, डिजाइन र लगानीसमेत जानकारी लिन सकिन्छ,” राणाले भनिन्, “महिलाको आर्थिकस्तर सुधार्न महिलाले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने नीति ल्याउन सरकार अग्रसर हुनुपर्छ ।”

उनले महिलाको आर्थिकस्तर सुधारन महिला उद्यमी ग्रामको व्यवस्था गर्न माग गरिन् । उनले प्रविधि र लगानीमा सहभागिता बढाउँदै महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन प्रदर्शनी ठूललो भूमिका खेल्ने बताइन् । कार्यक्रममा नेपालको हस्तकला र सीप अभिवृद्धिमा लामो समयदेखि योगदान पुर्याएकी महिला उद्यमी इन्दिरा सापकोटा र बिना पौडेललाई सम्मान गरिएको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही फागुन ७ गतेसम्म चल्नेछ । मेलामा नेपाल–भारत, चीन, भुटान, अफगानिस्तानलगायत ८ देशका महिला उद्यमीले उत्पादन गरेका  हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको छ । मेला अवलोकन गर्न ५० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न मेलाबाट सहयोग पुग्ने विश्वास लिइएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री