शुक्रबार, १४ वैशाख २०८१

प्रमुख निर्वाचन आयुक्तको प्रश्न ‘अहिलेसम्म आयोगमा कुनैपनि ऐन/कानूनहरु आईपुगेन्, कसरी निर्वाचन गराउने ?’

समयपोष्ट २०७३ माघ २७ गते ११:०७

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले आयोगमा  अहिलेसम्म सरकारबाट निर्वाचनसम्बन्धी कुनैपनि ऐन/कानूनहरु नआएको स्पष्ट पारेका छन्। 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रुमख निर्वाचन आयुक्त डा. यादवले सरकारले दिनुपर्ने निर्वाचनसम्बन्धी ऐन तथा कानूनहरु आयोगलाई नदिएको गुनासो गरेका छन्। उनले भने,‘निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भैसकेको छ, तर आयोगले अहिलेसम्म पाएको छैन, अनि कसरी हामीले काम गर्ने ?’
यादवले सरकारले निर्वाचनको मिति समेत अहिलेसम्म नतोकेको गुनासो पोखे। उनले भने,‘सरकारले हामीलाई निर्वाचनको लागि तयारी गर्नुहोस् भनेर पत्राचार गर्यो, हामीले त्यही पत्रको आधारमा काम गरिरहेका छौं, हामीले त्यो पत्रको जवाफ पनि कार्यविधि सहित सरकारलाई दिईसकेका छौं, सरकारले निर्वाचनको मिति तोकेको छैन्।’ 
उनले निर्वाचनको मिति र स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन चाँडो भन्दा चाँडो उपलब्ध गराउनुपर्ने माँग गर्दै त्यसो भएमात्रै आफूहरुले जेठभित्र चुनाव गराउन सक्ने स्पष्ट पारे।
 यादवले भने,‘२०६३ सालमा जेठमा चुनाव गराउने भनेर मिति घोषणा गर्दा आयोगले त्यतिवेला चैत्र २९ गते चुनाव गराउन सक्दैनौं भनेर हामीले सरकारलाई भनेका थियौं, त्यस्तो स्थिति अहिले नआओस्, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता धरापमा पर्न सक्छ भनेर हामी निर्वाचनको लागि तयारी अवस्थामा जुटेका छौं।’ उनले आगामी २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यतालाई आत्मसात गर्दै सरकारसँग आफूहरुले माँग गरेको अनुसारको सबै कुरा छिटो पाउनुपर्ने बताए। 
उनले अघि थपे,‘ऐन, कानून, मिति पाएनौं भने चुनाव हुँदैन भनेर भन्ने स्थिति नआओस्।’ प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने,‘हुन त सरकारले स्थानीय तह पूर्नंसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने तयारी गरिरहेको छ, दलहरुवीच चाँडो सहमति होस् भन्ने हामी चाहन्छौं।’
उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोग समेत चाँडो गठन गर्नुपर्ने माँग गरे। उनले निर्वाचन सफल बनाउनको लागि मिडियाको ठूलो हात हुने भएकोले सकारात्मक सहयोग गर्नुपर्ने धारणा राखे। यादवले निर्वाचन गर्नको लागि आयोगलाई निश्चित समय समेत आवश्यक भएकोले चाँडो भन्दा चाँडो निर्वाचनको मिति घोषणा होस् भन्ने पक्षमा आफूहरु रहेको जनाए। 
उनले निर्वाचनको मिति र अन्य प्राविधिक कुराहरु सरकारबाट नपाएपनि आयोग तयारी अवस्था मै रहेको बताए। उनले भने,‘हामी चुप लागेर बसेका छैनौं, आफ्नो भित्री तयारीमा जुटिसकेका छौं, जेठ १ गते निर्वाचन गराउन सक्छौं।’ उनले आयोगले खुट्टा नकमाएको समेत स्पष्ट पारे। 
त्यस्तै उनले निर्वाचनलाई स्वच्छ, पारदर्शी, विश्वसनीय र मत वदर हुन नदिनको लागि आधुनिक भोटिङ् मेशिन उपयोग गर्ने भन्नेबारेमा समेत बहस भैरहेको जनाए। 
उनले भने,‘भोटिङ् मेशिन स्वदेशी प्रयोग गर्ने कि विदेशी प्रयोग गर्ने भन्नेबारेमा नेपालमा धेरै बहस भैसकेको छ, तर स्वदेशी मेशिनको बारेमा हामीले विचारविमर्श गरेकै हो, हुन त विकसित ठूला प्रजातान्त्रिक राष्ट्रहरुमा अहिलेपनि पेपर ब्यालेटकै आधारमा मतदान हुने गर्छ, नेपालमा पनि संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा भारतको सहयोगमा भारतीय विद्युतीय मतदान उपकरण प्रयोग भएको हो, उपनिर्वाचमा पनि ६ वटा ठाउँमा विद्युतीय मतदान प्रयोग भएको हो ।’
उनले अब हुने स्थानीय तहको निर्वाचनमा भारतीय भोटिङ् मेशिनले धान्न नसक्ने बताउँदै अरु विदेशी राष्ट्रहरुबाट मेशिन ल्याउने कि भन्नेबारे छलफल भैरहेको जनाए। उनले भने,‘तर हामी निश्चित प्रक्रिया पूरा गरेर मात्रै ल्याउँछौं, मेशिन किन्ने कुरा त सरकारले गर्ने अधिकार हो।’ 
यादवले नेपालमा स्वदेशी उत्पादनको भोटिङ् मेशिन नै नभएको दाबी गर्दै भने,‘नेपालमा एसेम्बल्ड भएको मेशिन पनि प्रमाणिकरण भएको छैन, यदि प्रमाणिकरण भएर आउँछ भने हामीलाई कुनै आपत्ति हुँदैन्।’
विद्युतीय भोटिङ् मेशिन प्रयोग गर्नेबारे निर्वाचन आयोगमा हालै भएको अन्तरक्रियालाई लिएर निर्वाचन आयोगले विदेशी मेशिन किनिसकेको भनेर गलत प्रचार गरेको बताउँदै आपत्ति जनाए। 
उनले भने,‘नेपालमा हामीले एनआईडी र एमआरपीको बारेमा राम्रोसँग थाहा छ, हामी सम्पूर्ण प्रोकुरमेन्ट पूरा गरेर मात्रै यसबारेमा अघि बढ्छौं।’ उनले विदेशी भोटिङ् मेशिन त्यतिकै हचुवाको भरमा ल्याउने कुरा नभएको समेत तर्क  गरे। उनले थपे,‘फिजिविलीटी अध्ययन गरेरमात्रै ल्याउने कि नल्याउनेबारे सरकारले निर्णय गर्छ।’
उनले राजनीतिक दलहरुवीच सहमति र विश्वासको वातावरण बने निर्वाचन सहज र सरल हुने बताए। 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री