
जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्वलाई मर्यादित, अनुशासित तथा सुरक्षित रूपमा मनाउन सर्वसाधारणमा सार्वजनिक अपिल गरेको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता र बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्ष होलीमा विभिन्न कडा प्रतिबन्धहरू लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ— सार्वजनिक स्थानमा होहल्ला, झैँ-झगडा गर्न, मादक पदार्थ सेवन गरी मर्यादा विघटन गर्न नहुने स्पष्ट निर्देशन दिइएको छ। कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने वा जबरजस्ती गर्ने कार्यलाई गम्भीर रूपमा लिई कारबाही गरिने चेतावनी दिइएको छ।
यस वर्ष होली निर्वाचनको मौन अवधिसँग मेल खाँदै आएकाले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न प्रशासनले विशेष जोड दिएको छ। होली खेल्ने क्रममा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क, लकेट वा यस्तै प्रचार सामग्री प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यस्ता सामग्री प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही हुने बताइएको छ।
प्रशासनले होली मनाउँदा कसैलाई बाधा नपुग्ने गरी आफ्नै घरको कम्पाउन्ड वा निजी स्थानमा परिवार तथा नजिकका आफन्तजनसँग मात्र रमाइलो गर्न आग्रह गरेको छ। खुला सडक, सार्वजनिक स्थानमा भेला भई भीडभाड गर्ने, मेला-महोत्सव आयोजना गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री, वितरण र सेवनमा समेत पूर्ण रोक लगाइएको छ।
उल्लंघन गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ। सर्वसाधारणलाई शान्ति, सुरक्षा र निर्वाचन प्रक्रियालाई सम्मान गर्दै होली मनाउन अनुरोध गरिएको छ।










प्रतिक्रिया