नौविसे–नागढुंगा सडक खण्डको निर्माण अन्तिम चरणमा: ८५ प्रतिशत काम सम्पन्न

धादिङ जिल्लामा निर्माणाधीन नौविसे–नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले हालसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको जनाएको छ ।

नौविसे–नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार, पहिलो प्याकेजअन्तर्गत १२.५ किलोमिटर सडक विस्तार तथा दुईवटा पुल निर्माणको काम धेरैजसो सम्पन्न भइसकेको छ । अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे (फाइनल लेयर ब्ल्याकटपिङ) र खानीखोलामा आकाशे पुल (ओभरहेड पेडेस्ट्रियन ब्रिज) निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Advertisement

फाइनल कालोपत्रेपछि सडक सुरक्षा मापदण्ड पूरा गर्नका लागि साइन बोर्ड, रंगरोगन तथा अन्य सम्बन्धित कार्यहरू अगाडि बढाइनेछन् । आयोजनाले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तथा त्यसअघि होली पर्वका कारण केही समय काम प्रभावित हुन सक्ने बताएको छ ।

खानीखोला क्षेत्रमा आकाशे पुल निर्माणका क्रममा टहरा हटाउने विवादले केही ढिलाइ भएको थियो । तर, अधिकांश स्थानीयलाई स्थानान्तरणको काम सम्पन्न भएकाले अब निर्माणले गति लिने आयोजनाको विश्वास छ ।

ठेकेदार कम्पनी सगुन कन्टक्सनका प्रबन्ध निर्देशक शहदेव खड्काले निर्वाचनका कारण अलिकति ढिलाइ हुने सम्भावना रहे पनि मुख्य कार्यहरू तोकिएको समयभित्रै सक्ने दाबी गरेका छन् । यसअघि सडकमा रहेका विद्युत् पोलहरूका कारण पनि निर्माण कार्य प्रभावित भएको थियो ।

२०७९ सालबाट निर्माण सुरु भएको यो आयोजनाको सुरुमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटक–पटक म्याद थपिए पनि अबको केही समयमा यो खण्ड पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

Advertisement

यो सडक खण्ड काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने महत्वपूर्ण ट्रंक रोडको हिस्सा हो । स्थानीय बासिन्दासँग जोडिएको भएकाले निर्माणका क्रममा सामाजिक विभाजन तथा विवादहरूले पनि चुनौती थपेका थिए । तर, आयोजनाले अब अन्तिम चरणका कार्यहरू तीव्र गतिमा अगाडि बढाउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री