काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : खोकना विवाद थाँती राख्दै फर्सिडोललाई वैकल्पिक सुरु विन्दु बनाउने तयारी

default

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरु विन्दु खोकनामा जग्गा अधिग्रहण तथा सांस्कृतिक–पुरातात्विक विवाद सुल्झाउन नसकेपछि सरकारले वैकल्पिक योजना अघि बढाउने निर्णय गरेको छ । ललितपुरको फर्सिडोललाई नयाँ सुरु विन्दु बनाउने गरी तयारी थालिएको छ ।

खोकनामा साढे आठ वर्षदेखि जारी विवादले आयोजनाको प्रगतिमा ठूलो अवरोध पु¥याएको थियो । पुल्चोक इन्जिनियरिङ कलेजले गरेको सम्भाव्यता अध्ययनका आधारमा फर्सिडोललाई वैकल्पिक सुरु विन्दु बनाउन सकिने देखिएपछि नेपाली सेनाले यो विकल्पलाई अघि बढाउने तयारी गरेको हो । फर्सिडोल खोकनाभन्दा करिब ३.३ किलोमिटर तल पर्छ, जसले गर्दा खोकनाको सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्व जोगाउन सकिने अपेक्षा गरिएको छ ।

Advertisement

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, प्रधानमन्त्री कार्यालयमा भएको पछिल्लो छलफल र प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार थप प्रक्रिया अगाडि बढाइने छ । यद्यपि, मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट औपचारिक निर्देशन प्राप्त भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी काम सुरु हुने उनले बताए । नीतिगत तहमा निर्णय भइसके पनि आधिकारिक पत्र बाँकी रहेको छ ।

खोकनाका स्थानीयले लामो समयदेखि सांस्कृतिक सम्पदा जोगाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए । यसले प्याकेज नम्बर ११ अन्तर्गतको खोकना–डुकुछाप खण्डको जग्गा अधिग्रहण प्रक्रिया ठप्प भएको थियो । गत माघ ३ गते प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको स्थलगत निरीक्षण टोलीले खोकना विवादले समग्र आयोजनाको गति रोकेको निष्कर्ष निकालेपछि वैकल्पिक मार्गमा जान दबाब बढेको थियो ।

आयोजनाको समग्र प्रगति भने अझै सन्तोषजनक छैन । २०७४ साउन २७ गते नेपाली सेनालाई जिम्मा दिँदा चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटक–पटक म्याद थपिए पनि पुस मसान्तसम्म भौतिक प्रगति ४५.१५ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत मात्र छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७.५५ प्रतिशतले मात्र वृद्धि भएको छ ।

सरकारले दोस्रो संशोधित लक्ष्यअनुसार २०८३ चैत मसान्तसम्म आयोजना सक्ने योजना बनाएको छ, तर वर्तमान गतिले यो लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिन्छ । सुरुमा १ खर्ब ७५ अर्ब १९ करोड अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ, जसमा २०.९५ प्रतिशत वृद्धि भएको छ । हालसम्म ८२ अर्ब ९७ करोड खर्च भइसकेको छ ।

Advertisement

खोकना बाहेक मकवानपुरका केही क्षेत्रमा पनि जग्गा अधिग्रहण प्रक्रिया जारी छ । तर २४.८ देखि ७०.९७ किलोमिटर खण्डमा जग्गा अधिग्रहण सम्पन्न भई तीव्र निर्माण भइरहेको छ ।

सातवटा सुरुङमार्गमध्ये धोद्रे र लेनडाँडाको ब्रेक थ्रु भइसकेको छ । महादेवटार सुरुङको दायाँतर्फ ६४ प्रतिशत र बायाँतर्फ ७४ प्रतिशत खन्ने काम सकिएको छ । अन्य सुरुङहरू प्रारम्भिक चरणमा छन् । ८९ वटा पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भइसकेको छ, ५४ वटाको जग र ३४ वटाको माथिल्लो संरचना निर्माण सम्पन्न भएको छ । ८२ मिटरसम्मका १३ वटा विशेष पुल निर्माणले नेपाली इन्जिनियरिङ क्षमता प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री