सहकारी पीडितले बच्चाको स्कुलको बिल रास्वपा उम्मेदवारलाई बुझाएपछि…

लेडी जेसिजले कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख राजनीतिक दलका अधिकांश उम्मेदवारहरू उपस्थित थिए भने विभिन्न क्षेत्रका सरोकारवालाहरू पनि सहभागी भएका थिए ।

कार्यक्रमको क्रममा सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङलाई एउटा कागज बुझाए । त्यो कागज उनको छोराछोरीले पढ्ने विद्यालयको बिल थियो ।

Advertisement

‘उहाँको पार्टी सभापतिले मेरो सहकारीमा जम्मा भएको पैसा खाइदिनुभयो । बच्चाको स्कुल बिल तिर्न नसकेर निकालिने अवस्था आएको छ । उहाँले नै तिरिदिनुहोस् भनेर बिल बुझाएको हुँ,’ जैसीले भावुक हुँदै भने ।

कार्यक्रममा सहभागी अधिकांश पीडितहरू सहकारी ठगी प्रकरणप्रति आक्रोशित देखिए । उनीहरूले विशेष गरी रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोप र पार्टीको घोषणापत्रमा उल्लेखित ‘१०० दिनभित्र पीडितको रकम फिर्ता गर्ने’ प्रतिबद्धतामाथि प्रश्न उठाए । पीडितहरूले दुःख गरेर जम्मा गरेको रकम अपचलन हुँदा दैनिक जीवन कष्टकर बनेको गुनासो गरे ।

जवाफमा रास्वपा उम्मेदवार विना गुरुङले रवि लामिछानेमाथि लागेको मुद्दालाई राजनीतिक प्रतिशोध को संज्ञा दिइन् । ‘धेरैलाई थाहा छ कि यो मुद्दा राजनीतिक प्रतिशोध हो,’ उनले भनिन्, ‘पार्टीले घोषणापत्रमा स्पष्ट लेखेको छ— १०० दिनभित्र विशेष कोष खडा गरी न्यूनतम रकम फिर्ता गर्ने योजना छ ।’

उनले आफू पनि सहकारी सञ्चालक रहेकाले नियमनकारी निकायको कमजोरीका कारण समस्या उत्पन्न भएको जिकिर गरिन् ।

Advertisement

एमाले उम्मेदवार दामोदर बैरागीले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘सहकारी ठग्ने जोसुकै होस्, कानुनको दायरामा ल्याउनुपर्छ र पीडितको बचत सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,’ उनले भने ।

अन्य उम्मेदवारहरूले ठूला दलहरूले नै सहकारी ठगहरूलाई संरक्षण दिएको र संसदसम्म पुर्‍याएको आरोप लगाए । ‘जनताको पसिना लुटेर पार्टी चलाउने र तिनैलाई सांसद बनाउने प्रवृत्तिले आज यो अवस्था निम्तिएको हो,’ उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री