
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अहिले गम्भीर राष्ट्रिय संकटमा फसेको बताउँदै राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जानु उचित नहुने धारणा राख्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी गर्नुभएको भिडियो सन्देशमा उहाँले वर्तमान अवस्थामा चुनाव भए थप द्वन्द्व, अशान्ति र खिचातानी निम्तिने चेतावनी दिनुभयो।
उहाँले भन्नुभयो, “सिंगो मुलुक अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको छ। देशको अस्मिता, स्वाभिमान र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्।” विगतमा विभिन्न नाममा भएका आन्दोलन र संघर्षहरूले नेपाल र नेपालीलाई के प्राप्त भयो भन्ने गहन आत्मसमीक्षा गर्ने समय आएको उहाँको जिकिर छ।
मुलुकको मुख्य शत्रु विपन्नता, गरिबी र राजनीतिक अस्थिरता भएको औंल्याउँदै उहाँले एउटा नेपालीले अर्कोलाई वैरी ठान्ने अवाञ्छित संस्कृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “अधिकार मात्र खोज्ने तर कर्तव्य बिर्सने प्रवृत्ति मौलाइरहेको छ,” उहाँले भन्नुभयो, “यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर सत्ताको भोग गर्ने सोचले होइन, मिलेर काम गर्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ।”
कुनै पनि व्यवस्थाका राम्रा र असल पक्षहरूलाई ग्रहण गर्नुपर्ने तथा नराम्रा र खराब पक्षहरूलाई त्याग्नुपर्नेमा जोड दिँदै उहाँले विश्वका धेरै राष्ट्रहरूले “पहिला आफ्नो देश, पहिला आफ्ना जनता र पहिला आफ्ना आवश्यकता” लाई प्राथमिकता दिँदै प्रजातन्त्रको अभ्यास गरिरहेको उदाहरण दिनुभयो। “नेपालको माटो, समाज र संस्कृति सुहाउँदो व्यवस्था निर्माण गर्नुपर्छ,” उहाँको भनाइ थियो।
प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सबै नेपालीलाई एकताबद्ध भएर राष्ट्रिय हित रक्षा गर्न आह्वान गर्नुभएको छ।










प्रतिक्रिया