
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वृद्ध भत्ता कार्यक्रम आफ्नो योजनाबाट २०५१ सालमा सुरु भएको दाबी गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र रौतहटमा मतदातालाई सम्बोधन गर्दै उनले गरिबी उन्मूलन, बेरोजगारी अन्त्य, आवास तथा जमिनविहीनलाई व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘२०५१ सालमा हामी सरकारमा थियौं, वृद्ध भत्ता दिने काम सुरु गर्यौं। आज नेपालमा ४ हजार रुपैयाँ पुगेको छ, जुन भारतमा पनि यति धेरै छैन। यो योजना ल्याउने प्रधानमन्त्री मनमोहन अधिकारी र हामी माधव नेपाल थियौं। अपाङ्गता भएका तथा विधवाहरूको भत्ताका लागि पनि हामीले पहल गरेका हौं।’
माधव नेपालले रौतहटको बागमती र बकैया नदीको बाढी समस्या समाधान गर्ने वाचा गरे। उनले थपे, ‘यी नदीमा बाँध बनाउने काम हामी सरकारमा हुँदा नै सुरु गरेका थियौं। आज गौर, दुर्गा भगवती, राजदेवी, यमुनामाई क्षेत्रका जनताले केही राहत पाएका छन्, तर अझै धेरै काम बाँकी छ। यी समस्या समाधान गर्न हिम्मतवान् नेतृत्व चाहिन्छ।’
उनले गौर–चन्द्रनिगाहापुर सडकलाई डबल लेन तथा फोर लेन बनाउने काम अगाडि बढाएको उल्लेख गर्दै केही प्रतिस्पर्धीले पुल बनाउने श्रेय नदिने आरोप लगाए। ‘कतिपयले माधव नेपालले पुल बनाएनन् भन्छन्, तर यो पुलको श्रेय मलाई नै जान्छ,’ उनले भने।










प्रतिक्रिया