
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा भन्सार अधिकृतसहित तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अर्थ मन्त्रालय अन्तर्गत त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक सेवा विभाग अन्तर्गत गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा यो उल्लेख छ।
पक्राउ परेका कर्मचारीहरूको साथबाट घुस रकम, स्रोत नखुलेको नगद तथा २३ थान मोबाइल सेट बरामद भएको छ। कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षको टेबलको ड्रयर र निजको साथबाट कुल १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरिएकोमा १० हजार रुपैयाँ घुसबापतको र बाँकी १ लाख ३६ हजार ४ सय २० रुपैयाँ स्रोत नखुलेको रहेको छ।
यसैगरी, नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुसबापतको २० हजार र स्रोत नखुलेको १८ हजार ८ सय ४८ गरी कुल ३८ हजार ८ सय ४८ रुपैयाँ बरामद भएको छ। अन्य स्रोत नखुलेको रकम जोड्दा जम्मा २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ र विभिन्न व्यक्तिहरूबाट २३ थान मोबाइल सेट बरामद गरिएको आयोगले जनाएको छ।










प्रतिक्रिया