बिहीबार, ८ साउन २०८२

नेशनल लाइफ इन्स्योरेन्सले ३८ औं वार्षिकोत्सव सम्पन्न: सामाजिक कार्य र खेलकुदमा जोड

समयपोष्ट २०८१ फागुन १५ गते १५:३२

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८ औं वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।

कम्पनीको ३८ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीसँग आबद्ध बीमितहरू, अभिकर्ताहरू, कर्मचारीहरू र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बाल गृह तारकेश्वरलाई आर्थिक सहयोग प्रदान गरेको, त्यहाँका बालबालिकाहरूलाई खाना खुवाएको र रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो। साथै, देशभरका प्रादेशिक तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था र मानव सेवा आश्रमहरूमा यस्तै कार्यक्रमहरू सञ्चालन गरेको उहाँले उल्लेख गर्नुभयो।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरूलाई आन्तरिक गतिविधिमा संलग्न गराएर शारीरिक र मानसिक रूपमा सक्षम बनाउने उद्देश्यले अन्तर-कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। जसअन्तर्गत पुरुषहरूका लागि क्रिकेट, पुरुष र महिलाहरूका लागि फुटसल, ब्याडमिन्टन र बुद्धिचाल जस्ता खेलहरू समावेश थिए।

बुढानिलकण्ठस्थित होटल लेमन ट्रीमा मनोरञ्जनात्मक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको वार्षिकोत्सव समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नृत्य प्रस्तुत गर्ने कर्मचारीहरूलाई मायाको चिनो, खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक र प्रमाणपत्र, तथा रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री