युनिग्लोब कलेजका १४ जना विद्यार्थीहरु स्वर्णपदक सहित पोखरा विश्वविद्यालयबाट दीक्षित
पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह फागुन ८ गते (फेब्रुअरी २०, २०२५) का दिन विश्वविद्यालय परिसर, ढुंगेपाटन, कास्कीमा भव्यताका साथ सम्पन्न भएको छ। शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा आयोजित समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गर्नुभयो।
दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित भएका छन्, जसमध्ये ३० जनाले विशिष्ट स्वर्ण पदक प्राप्त गरे भने ७४५ विद्यार्थी डिन लिस्टबाट सम्मानित भए।
यस अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजका १४ विद्यार्थीले ४.०० जिपिए हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेका छन्। ती विद्यार्थीहरूमा बिराट गौतम, झरना रेग्मी, जोशिला दाहाल, रमन सिलवाल, श्रुति आचार्य, आकृति देवकोटा, आस्तिका महतो, निशा खड्का, नितिशा गौतम, रश्मी पौड्याल, अपसरा ईमाम, अकलेश कुमार मिश्र, कौशिकी पन्त र मनिषा कुमारी कार्की छन्। साथै, युनिग्लोब कलेजका ४८ विद्यार्थी डिन लिस्टमा समावेश भएका छन्।
पोखरा विश्वविद्यालयको अघिल्लो दीक्षान्त समारोहहरूमा पनि युनिग्लोब कलेजका २१ विद्यार्थी स्वर्ण पदक प्राप्त गरिसकेका छन्। हालसम्म ३५ स्वर्ण पदक जित्दै युनिग्लोब कलेज पोखरा विश्वविद्यालय अन्तर्गत सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने शैक्षिक संस्था बनेको छ।
युनिग्लोब कलेजका प्रबन्ध निर्देशक डा. गंगाधर दाहालले विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक सफलता सुनिश्चित गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो। कलेजका प्राचार्य एवं अध्यक्ष डा. नर बहादुर बिष्टका अनुसार, विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि कलेजको निरन्तर शैक्षिक लगाव र परिश्रमको परिणाम हो। उनले स्वर्ण पदक विजेता र डिन लिस्टमा अटाएका विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्दै कलेजका शिक्षक, अभिभावक तथा प्रशासनिक टिमलाई धन्यवाद ज्ञापन गरे।
युनिग्लोब कलेजका शैक्षिक निर्देशक प्रा. डा. राधे श्याम प्रधानको मार्गदर्शनमा कलेजले उल्लेखनीय सफलता हासिल गरिरहेको छ। उहाँको नेतृत्व र समर्पणले विद्यार्थीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सन् २०१८, २०१९ र २०२२ मा ‘सर्वोत्तम बिजनेस कलेज अवार्ड’ प्राप्त गरिसकेको युनिग्लोब कलेजले हालसम्म १३ अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको छ। कलेजका ४५० भन्दा बढी विद्यार्थीले ६० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलन तथा तालिममा सहभागिता जनाइसकेका छन्।
यसका अतिरिक्त, युनिग्लोब कलेजले चारवटा त्रैमासिक अनुसन्धानमूलक जर्नल प्रकाशन गर्दै अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिरहेको छ। साथै, इन्टरप्रेन्योरसिप इन्क्युबेशन सेन्टर, फाइनान्स ल्याब, कम्युनिकेशन ल्याब तथा अन्य सीपमूलक तालिमहरू सञ्चालन गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट शिक्षालयका रूपमा आफूलाई स्थापित गरिसकेको छ।
प्रतिक्रिया