शुक्रबार, २७ असार २०८२

अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्दैछौं

समयपोष्ट २०८१ फागुन ६ गते ९:३६

Advertisement

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा अनुभवी बीमा विज्ञ हुन् । उनी गत जेठ १९ गते नेपाल रिको सीईओमा नियुक्त भएका थिए । बीमा क्षेत्रमा लामो अनुभव सँगालिसकेका थापाले नेपाल रिको नेतृत्व सम्हाल्नुअघि विभिन्न बीमा कम्पनीहरुमा महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेका छन् । उनी यसअघि राष्ट्रिय बीमा संस्थानमा सहायक प्रशासकका रुपमा कार्यरत थिए । त्यसअघि उनले अजोड इन्स्योरेन्समा डेपुटी सीईओ (डीसीईओ) का रुपमा कार्यसम्पादन गरेका थिए । थापा बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनको नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै नेपाल रिले उनलाई खुला प्रतिस्पर्धाबाट सीईओ पदमा नियुक्त गरेको हो । नेपाल रिले थापाको नेतृत्वमा पुनर्बीमा बजारको विस्तार गर्ने, अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग सहकार्य मजबुत बनाउने, नयाँ व्यावसायिक रणनीति अपनाउने तथा प्रतिस्पर्धात्मक पुनर्बीमा बजार निर्माण गर्ने योजनासमेत अघि सारेको छ । सीईओ थापाले करिब सात महिनामा सँगालेको अनुभव र आगामी रणनीतिबारे समयबोधसँग गरेको कुराकानीः

यहाँले नेपाल पुनर्बीमा कम्पनीको नेतृत्व सम्हालेको करिब सात महिना भयो । यो अवधिसम्मको अनुभव कस्तो रह्यो?

मेरो लागि यो क्षेत्र नयाँ होइन । यसअघि जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रमा काम गरेको अनुभव भएकाले पनि पुनर्बीमासँग अपरिचित थिइनँ । तर, पुनर्बीमाको प्रकृति राष्ट्रिय स्तरसम्म सीमित नरही अन्तर्राष्ट्रिय बजारसम्म फैलिनु आवश्यक हुन्छ । जीवन र निर्जीवन बीमामा भएको जोखिमलाई पुनर्बीमाले ग्रहण गरेर पुनः हस्तान्तरण गर्नुपर्छ । जोखिम हस्तान्तरणको क्रममा केही नयाँ सिक्ने अवसर मिल्यो भने केही सिकाउने अवसर पनि पाएँ । यस क्रममा विभिन्न अनुभवहरु सँगाल्ने मौका पाएको छु ।

यसअघि यहाँले निजी कम्पनीमा काम गर्नुभयो । त्यहाँको कार्य संस्कृति (वर्क कल्चर) बाट यहाँ आउँदा सुधार गर्नुपर्ने पक्ष के के पाउनुभयो?

Advertisement

निजी तथा सरकारी मोडेलबीच निश्चित अन्तर हुन्छ । निजी कम्पनीहरुमा कर्मचारीहरुले आफ्नो प्रदर्शनलाई प्रत्यक्षरुपमा नतिजासँग जोड्ने गर्छन्, जसले उनीहरुलाई परिणाममुखी (रिजल्ट ओरिएन्टेड) बनाउँछ । तर, कतिपय सरकारी मोडेलका कम्पनीहरुको कार्यशैली केही फरक हुन्छ । नेपाल पुनर्बीमा कम्पनी पनि यो प्रणालीबाट अलग छैन ।

सर्वप्रथम कम्पनीमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने वातावरण तयार गरिरहेको छु । त्यसैगरी, स्थानीय र अन्तर्राष्ट्रिय बजारमा कम्पनीको सम्बन्ध र व्यापारलाई विस्तार गर्न ध्यान दिएको छु ।

मैले केही नीतिगत व्यवस्थालाई केन्द्रित गरेर सुधार गर्ने प्रयास गरिरहेको छु । व्यापार लिँदा र सेवा प्रदान गर्दा विभिन्न आन्तरिक विभागहरु संलग्न हुन्छन्, जसका आफ्नै कार्यविधिहरु छन् । कम्पनी स्थापना हुँदा बनेका ती कार्यविधिहरु समयानुकूल परिमार्जन आवश्यक देखिएको छ । कामको क्रममा देखिने बाधा–अड्चन क्रमशः हटाउँदै जानुपर्छ तर कतिपय अहिलेसम्म संशोधित भएका छैनन् । त्यसैले अहिले म यी कार्यविधिहरु परिमार्जनलाई प्राथमिकता दिइरहेको छु ।

मुख्य रुपमा क्लेम, अन्डरराइटिङ (जीवन तथा निर्जीवन बीमा दुवै), कर्मचारी विनियमावली, आन्तरिक खरिद विनियमावली, आर्थिक तथा प्रशासनिक विनियमावलीजस्ता नीतिहरु अद्यावधिक गर्न आवश्यक देखिएको छ । ती सबैलाई सुधार्ने प्रक्रिया सुरू भइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नका लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि, दक्षता तथा सीप विकास मुख्य प्राथमिकता रहेका छन् । त्यसैले अन्तर्राष्ट्रिय बजारले मागेजस्तो दक्ष जनशक्ति तयार गर्न म विशेष रुपमा केन्द्रित छु ।

यसैगरी, कम्पनीको रणनीतिक योजना निर्माणको कार्य पनि अघि बढेको छ । मेरो नीति तथा कार्यक्रममा पाँचवर्षे रणनीति तयार गर्ने लक्ष्य समेटिएको थियो, जसको प्रक्रिया हाल जारी छ ।अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नका लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि, दक्षता तथा सीप विकास मुख्य प्राथमिकता रहेका छन् । त्यसैले अन्तर्राष्ट्रिय बजारले मागेजस्तो दक्ष जनशक्ति तयार गर्न म विशेष रुपमा केन्द्रित छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम र सेमिनारहरुमा कर्मचारीहरुको सहभागिता बढाएर उनीहरुको दक्षता अभिवृद्धि गर्ने योजनामा छु । यसैगरी, कम्पनीको लागि रिइन्स्योरेन्स सफ्टवेयरको खरिद चरण अन्तिम अवस्थामा गरेको पनि जानकारी गराउँदछु ।

पहिले नेपालमा पुनर्बीमा कम्पनी एउटा मात्रै थियो । त्यसैले व्यापार खोज्न जानु पर्दैनथ्यो । व्यवसाय आफैँ नेपाली पुनर्बीमा कम्पनीलाई खोज्दै आउँदथ्यो । तर, अहिले निजी क्षेत्रबाट पुनर्बीमा कम्पनी थपिएसँगै व्यवसाय उसले पनि खोस्न थालेको छ । यसरी प्रतिस्पर्धा बढ्दै जाँदा के कस्ता चुनौती आएका छन् ?

मैले यसलाई अवसरको रुपमा लिएको छु । अवसरलाई समात्नका लागि केही चुनौतीहरु हुन्छन् तर मुख्य कुरा ती चुनौतीहरुलाई कसरी न्यूनीकरण गर्ने र व्यवस्थापन गर्ने भन्ने हो । पहिले हामी मात्र एक कम्पनी भएकाले सहजरुपमा काम गर्न सक्थ्यौं । तर, अहिले त्यो अवस्था छैन । त्यसैले प्रतिस्पर्धा गर्न सक्षम र दक्ष कर्मचारी निर्माणमा ध्यान केन्द्रित गरिरहेका छौं । बाहिरबाट हेर्दा अर्को कम्पनी थपिएपछि चुनौती थपिएको देखिए पनि वास्तविक रुपमा हेर्दा यो अवसर हो ।

निजी पुनर्बीमा कम्पनी भित्रिएसँगै नेपालको सम्पूर्ण जीवन बीमाको पुनर्बीमा नेपालमै हुने व्यवस्था मिलेको छ, जुन पहिला आफ्नो पुनर्बीमा विदेशमा गर्नुपर्ने बाध्यता थियो । तर, अहिले नेपालकै दुई कम्पनीले यो व्यवसाय सम्हालिरहेका छन् । यसले नेपालभित्रै पुनर्बीमा बजारको अवसर तथा विकास भएको देखाउँछ ।

तर, यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा एउटा चुनौती हो । निर्जीवन बीमा व्यवसायको सन्दर्भमा हामीले आफ्नो क्षमता पहिचान गरेर मात्र अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा पठाउन पाउने व्यवस्था छ । अर्थात्, जबसम्म हामी आफैंले गर्न सक्छौं, तबसम्म हामीलाई प्राथमिकता प्राप्त छ, जुन सकारात्मक पक्ष हो ।

सेवा, सुविधा, क्षमता तथा गुणस्तर सुधार गर्दै लैजान सकियो भने सरकारी कम्पनीको हैसियतले बीमा बजारमा उच्च विश्वास कायम छ, जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छैन ।

अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि हामीले ल्याएको पुनर्बीमा व्यवसायलाई अन्य पुनर्बीमा कम्पनीहरुसँग कोइन्स्योरेन्स मोडलमा लैजान सकिन्छ । विगतमा सहज रुपमा काम गर्न सकिन्थ्यो तर अहिले प्रतिस्पर्धाका कारण सीमित घरेलु बजारलाई दुई कम्पनीले सम्हाल्नुपर्ने अवस्था छ । तर, सेवा, सुविधा, क्षमता तथा गुणस्तर सुधार गर्दै लैजान सकियो भने सरकारी कम्पनीको हैसियतले बीमा बजारमा उच्च विश्वास कायम छ, जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छैन । यही कारणले पनि मैले यसलाई अवसरको रुपमा लिएको छु ।

नेपाल पुनर्बीमाको पहुँच देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि छ । अहिले नेपाल बाहिरको बजार हिस्सा कति छ?

हामीले सुरू गर्दा करिब ३२–३३ राष्ट्रसँग व्यापारिक कारोबार थियो । तर, पछिल्ला दिनमा हाम्रो अनुभवले सिकाएको एउटा महत्वपूर्ण कुरा के भने हामीले अन्तर्राष्ट्रिय व्यापार त ल्यायौं तर त्यसको अन्डरराइटिङ कसरी गर्ने, क्लेम सेटलमेन्ट कसरी गर्ने तथा जोखिमको विश्लेषण कसरी गर्ने भन्ने सन्दर्भमा हाम्रो दक्षता, आवश्यकताअनुसार त्यो स्तरमा पुगेको छैन भन्ने अनुभूति भयो ।

यस अनुभवले हामीलाई सिकाएको पाठ के हो भने थप गहिरो रुपमा जोखिम विश्लेषण आवश्यक छ । त्यसैले अहिले हामीले अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा व्यापार घटाएर १४ देशमा सीमित गरेका छौं ।

रेटिङ प्राप्त भएपछि अन्तर्राष्ट्रिय बजारमा ट्रिटी, फ्याकल्टेटिभ व्यापार पुनः खोल्नेछौं र पुनर्बीमाको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नेछौं ।

अन्तर्राष्ट्रिय बजारमा हाल हामी ट्रिटी बिजनेस गरिरहेका छौं, जुन एकदमै सीमित परिमाणमा । फ्याकल्टेटिभ व्यापार भने हालका लागि रोकेका छौं । यसको प्रमुख कारण हाम्रो कम्पनीको रेटिङ नभएकाले हो । रेटिङ नभएकाले हामीलाई गर्बेज टाइप व्यापार (कम गुणस्तरको पुनर्बीमा कारोबार) उठाउनुपर्ने अवस्था थियो, जसलाई हाल रोक्ने निर्णय गरेका छौं ।

कम्पनीलाई अगाडि बढाउने सन्दर्भमा हामी हाल रेटिङ प्रक्रियामा छौं र निकट भविष्यमा त्यसको नतिजा आउनेछ । रेटिङ प्राप्त भएपछि अन्तर्राष्ट्रिय बजारमा ट्रिटी, फ्याकल्टेटिभ व्यापार पुनः खोल्नेछौं र पुनर्बीमाको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नेछौं ।

नेपाल जोखिमले घेरिएको देश हो । यहाँ बाढी, पहिरो, भूकम्प सामान्यजस्तै छन् । साथै, जलवायु परिवर्तनको जोखिम पनि उत्तिकै छ । यसले गर्दा पुनर्बीमा कम्पनीले व्यापार (बिजनेस) लिन कत्तिको चुनौती छ?

यो चुनौती बीमा तथा पुनर्बीमा दुवै क्षेत्रमा उत्तिकै छ । जोखिम लिने पहिलो पक्ष बीमा कम्पनीहरु नै हुन् । बीमा कम्पनीहरुले जब बीमितबाट जोखिम लिन्छन्, त्यसको विश्लेषण गर्ने पहिलो जिम्मेवारी पनि उनीहरुकै हुन्छ । कुन तहको जोखिम छ भन्ने कुरा पहिचान गर्नु उनीहरुको प्रमुख काम हो ।

पछिल्ला दिनमा हामी जोखिम विश्लेषणका लागि मोडलिङ गर्ने काम गरिरहेका छौं । कुन जोखिम सामान्य हो र कुन क्याटास्ट्रोफिक जोखिम हो भन्ने कुरा पनि हामीले विस्तृत रुपमा अध्ययन गरिरहेका छौं ।

बीमा कम्पनीहरुले आफैंले पूरा लिन नसक्ने जोखिमलाई पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्छन् । त्यसैले हामीले पनि उक्त जोखिमको गहिरो अध्ययन गर्नुपर्छ । पछिल्ला दिनमा हामी जोखिम विश्लेषणका लागि मोडलिङ गर्ने काम गरिरहेका छौं । कुन जोखिम सामान्य हो र कुन क्याटास्ट्रोफिक जोखिम हो भन्ने कुरा पनि हामीले विस्तृत रुपमा अध्ययन गरिरहेका छौं ।

जलवायु परिवर्तनका कारण बीमा कम्पनीहरु थप चुनौतीको सामना गरिरहेका छन् । धेरै अप्रत्याशित समयमा प्राकृतिक विपत्तिहरु आइरहेका छन्, जसले जोखिम व्यवस्थापनलाई झन् जटिल बनाएको छ । यही व्यवस्थापनलाई सन्तुलित रुपमा अघि बढाउन जोखिम धेरै भएको क्षेत्रमा प्रिमियम पनि बढी तोकिन्छ ।

जहाँ जोखिम छ, त्यहाँ नाफाको सम्भावना पनि हुन्छ । तर, कहिलेकाहीँ बीमा र पुनर्बीमा कम्पनीहरुबीच प्रिमियम निर्धारणमा उचित सामञ्जस्यता नहुँदा समस्या देखिन सक्छ । जलवायु परिवर्तनकै असर जलविद्युत् क्षेत्रमा देखिएको छ । अन्तर्राष्ट्रिय पुनर्बीमा बजारले नेपालका जलविद्युत् परियोजनाहरुप्रति आलोचनात्मक दृष्टिकोण राखिरहेको अवस्था छ, जसले पुनर्बीमा व्यापारमा थप चुनौती उत्पन्न गरिरहेको छ ।

कम्पनीको पुँजी वृद्धिको प्रक्रिया कहाँ पुगेर रोकिएको छ ?

नियामकले तोकेको समयमा पुँजी वृद्धि पूरा गर्नका लागि हामीले विभिन्न मोडेलहरु तयार गरी बोर्डमार्फत अनुमोदन गरिसकेका छौँ र सम्बन्धित निकायहरुमा पठाएका छौँ । अन्तिम स्वीकृति नेपाल सरकारबाट हुने भएकाले हामीले यो प्रक्रिया अर्थ मन्त्रालयमा पठाएका छौँ ।

बीमा प्राधिकरणले निर्धारण गरेको म्याद यही माघ महिनासम्म मात्र थियो । तर, अर्थ मन्त्रालयबाट अहिलेसम्म निर्णय नआएकाले हामीले प्राधिकरणसँग थप समयको अनुरोध गरेका थियौँ । त्यसअनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सलाई एक वर्षको म्याद थप गरिएको छ । हामीले प्रस्तावित मोडेलहरुमा विभिन्न विकल्पहरु समेटेका छौँ । लाभांशबाटै पुँजी वृद्धि गर्ने, हकप्रद सेयर जारी गर्ने, हालको सार्वजनिक सेयर १६ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने भन्ने विषय समावेश गरिएको छ तर यो अनिवार्य भने होइन । एफपीओ जारी गर्ने तथा विदेशी रणनीतिक साझेदार भित्र्याउने मोडल पनि तयार पारिएको छ । यी सबै विकल्पहरु नेपाल सरकारको निर्णय र निर्देशनअनुसार अघि बढाइनेछ ।

अन्य व्यवसायमा सङ्कटको समयमा पीडितबाट असुल्ने काम गर्दछन् तर हामी सहज अवस्थामा वा आपतकालीन परिस्थितिमा ठूलो सहयोग प्रदान गर्न सक्छौं । यदि सबैले यस अवधारणालाई राम्ररी बुझे, भने बीमा र पुनर्बीमाको सम्भावना अपार हुनेछ ।

अन्त्यमा केही छुट्यो कि ?

आम जनताले बीमा (इन्स्योरेन्स) र पुनर्बीमा (रि–इन्स्योरेन्स) लाई बुझ्ने स्तर फरक हुन सक्छ । तर, आर्थिक प्रवाह (मोबिलिटी) र राष्ट्र निर्माण (नेसन बिल्डिङ) को लागि यी दुवैको महत्वपूर्ण भूमिका छ । अन्य व्यवसायमा सङ्कटको समयमा पीडितबाट असुल्ने काम गर्दछन् तर हामी सहज अवस्थामा वा आपतकालीन परिस्थितिमा ठूलो सहयोग प्रदान गर्न सक्छौं । यदि सबैले यस अवधारणालाई राम्ररी बुझे, भने बीमा र पुनर्बीमाको सम्भावना अपार हुनेछ । यसले देशको समग्र अर्थतन्त्रमा सहयोग पुर्याउन सक्छ । पुनर्बीमाको प्रकृति सिङ्गो देशमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय बजारमा समेत पुग्नुपर्ने भएकोले सम्बन्धित निकायहरुबाट सोहीअनुसारको बुझाइ, सहयोग र समन्वय दिनुहुनेछ भन्ने विश्वासका लागि पनि अनुरोध गर्दछु । समयबोध म्यागेजिनको माघ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री