सोमबार, ३० असार २०८२

बीमा विलासिता होइन, सुरक्षाको उपाय हो

समयपोष्ट २०८१ फागुन ४ गते ११:१४


अहिले निर्जीवन बीमा क्षेत्रका चुनौती के छन् ?

Advertisement

हाल नेपालमा निर्जीवन बीमा क्षेत्रको अवस्था मिश्रित देखिन्छ । बीमा सचेतना अझै पर्याप्त रुपमा विकसित भएको छैन । यद्यपि, २०७२ सालको भूकम्पपछि केही प्रगति भएको छ । नेपाल प्राकृतिक विपद् जस्तै– बाढी, पहिरो, आगलागी, भूकम्पको उच्च जोखिममा रहेको देश हो । बारम्बार आउने यी विपत्तिबाट जोगिन बीमा एक प्रभावकारी उपाय हो भन्ने बुझाइ अझै आम नागरिकमा व्यापक रुपमा विकास भइसकेको छैन ।

विकास निर्माणका संरचनाहरुमा लोन तथा फन्डिङको बीमा भने भइरहेको छ तर व्यक्तिगत सम्पत्तिको बीमामा उल्लेख्य वृद्धि भएको छैन । मानिसहरुले आफ्नै कमाइबाट आर्जन गरेको सम्पत्तिलाई सुरक्षित गर्ने मानसिकता अझै विकसित गर्न आवश्यक छ ।

मर्जरपछि निर्जीवन बीमा क्षेत्रको पुँजी ठूलो भए पनि त्यसअनुसारको प्रतिफल दिन चुनौतीपूर्ण देखिन्छ । बजारको आकार अपेक्षाकृत सानो भएकाले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने स्थिति बनेको छैन । यदि बजारको विस्तार गर्न सकियो भने मात्र लगानीकर्ताले सन्तोषजनक प्रतिफल प्राप्त गर्न सक्छन् ।

हाल विश्वभर नै क्षतिको अनुपात बढ्दो क्रममा छ, जसका कारण पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीहरुबाट सहयोग पाउन कठिन भइरहेको छ । पुनर्बीमा कम्पनीहरुले जोखिम मूल्याङ्कन गरी दर निर्धारण गर्छन् तर नेपालमा त्यसको उपयुक्त प्रणाली अभाव देखिन्छ ।

Advertisement

कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्र नेपालको आर्थिक मेरूदण्डका रुपमा रहेका छन् । जलवायु परिवर्तन र भौगोलिक अवस्थाका कारण विभिन्न क्षतिहरु भइरहेका छन्, जसका लागि बीमा अनिवार्य देखिन्छ । हाल विश्वभर नै क्षतिको अनुपात बढ्दो क्रममा छ, जसका कारण पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीहरुबाट सहयोग पाउन कठिन भइरहेको छ । पुनर्बीमा कम्पनीहरुले जोखिम मूल्याङ्कन गरी दर निर्धारण गर्छन् तर नेपालमा त्यसको उपयुक्त प्रणाली अभाव देखिन्छ । हाल नेपालमा नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स गरी दुई पुनर्बीमा कम्पनीहरु छन् तर उनीहरुबाट आवश्यक साचेअनुसार सहयोग प्राप्त हुन सकेको छैन ।

स्वास्थ्य बीमा निकट भविष्यमै आशाजनक देखिन्छ । त्यसलाई प्रवद्र्धन गर्ने उपाय खोज्न आवश्यक छ । यस्तै, कृषिमा देखिएका समस्याहरु समाधान गरेपछि बीमाको पहुँच विस्तार गर्न सकिन्छ । नेपालमा निर्जीवन बीमा क्षेत्रलाई मजबुत बनाउन नीति सुधार, बजार विस्तार, पुनर्बीमा कम्पनीहरुको प्रभावकारी भूमिका र जनसाधारणमा बीमा सचेतनाको अभिवृद्धि आवश्यक देखिन्छ ।

बीमा कम्पनीहरुले समयमा भुक्तानी नदिँदा आम जनतामा बीमाप्रति आवश्यक विश्वास बढ्न सकेको छैन । आम जनताको विश्वास अभिवृद्धि कसरी गर्न सकिएला ?

अधिकांश बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्दै आएका छन् । त्यसैले नै मानिसहरु बीमामा आकर्षित भएका छन् । तर, कतिपय घटनाहरुमा केही ग्राहकहरु वा कम्पनीहरुकै संलग्नतामा अनियमितता पनि देखिएको छ । यस्ता समस्यालाई न्यून गर्न कडाइका साथ नियमन र अनुगमन आवश्यक छ ।बीमित व्यक्तिले बीमा गर्दा जोखिम मूल्याङ्कन ठीकसँग गर्नुपर्छ । बीमा बजार मूल्यअनुरुप हुनुपर्छ ।

बीमा प्रणालीप्रति विश्वास बढाउनका लागि ग्राहक शिक्षादेखि लिएर कम्पनीहरुको पारदर्शिता र सरकारी नियमन सशक्त बनाउनु जरूरी छ ।

कम बीमा शुल्क तिरेर बढी दाबी गर्न सकिन्छ भन्ने गलत धारणा हटाउनुपर्छ । बीमा सम्झौतामा बीमालेखका शर्तहरु स्पष्टरुपमा उल्लेख गरिनुपर्छ । बीमा कम्पनीहरुले प्रत्येक वर्षको व्यवसाय प्रतिवेदन सार्वजनिक गर्छन्, जसबाट कुन कम्पनीले कति दाबी भुक्तानी ग¥यो भन्ने तथ्याङ्क थाहा पाइन्छ । उदाहरणका लागि– गत वर्ष करिब ४० अर्बको बीमा व्यवसाय भएकोमा २८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिएको थियो । यसबाट स्पष्ट हुन्छ कि बीमा कम्पनीहरु दाबी भुक्तानी गर्न तत्पर छन् तर प्रक्रियालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । बीमा प्रणालीप्रति विश्वास बढाउनका लागि ग्राहक शिक्षादेखि लिएर कम्पनीहरुको पारदर्शिता र सरकारी नियमन सशक्त बनाउनु जरूरी छ ।

सरकारको दायित्वमा पर्ने कृषि बीमाको भुक्तानी बीमा कम्पनीहरुले अझै प्राप्त गर्न सकेका छैनन् । कोभिड बीमा भुक्तानी पनि अन्योलपूर्ण छ । यहाँले नेतृत्व गरेको सङ्घबाट पहल कम भयो कि ?

सङ्घबाट निरन्तर पहल गरिएको छ । कोभिड बीमाको केही रकम सरकारले भुक्तानी गरिसकेको पनि छ । आर्थिक मन्दीका कारण सरकारबाट बजेट विनियोजन नहुँदा समस्या उत्पन्न भएको हो । कोभिड बीमाको मुद्दा अहिले विचाराधीन रहेकाले यसबारे विस्तृत टिप्पणी गर्नु उचित नहोला ।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सरकारले गम्भीर भएर बीमा योजनामा ध्यान दिन जरूरी छ । यसलाई दीर्घकालीन रुपमा प्रभावकारी बनाउन नीति स्पष्ट र सहयोगी हुनुपर्छ ।

कृषि बीमाका सन्दर्भमा बीमा कम्पनीहरुले उल्लेख्य भूमिका निर्वाह गरिसकेका छन् । सरकारले बीमा रकम भुक्तानी नगरेपछि दुई पटकसम्म सेवा बन्द गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय रुपमा कृषि बीमालाई प्रवद्र्धन गर्न राज्यले अनुदान प्रदान गर्ने चलन छ किनभने अनुदानबिना यसलाई दीर्घकालीन रुपमा टिकाइराख्न कठिन हुन्छ । जब राज्यले बीमा कम्पनीलाई भुक्तानी गर्छ, तब कम्पनीहरुले पनि दाबी भुक्तानी सहजरुपमा दिन सक्छन् । तर, बीमा कम्पनीहरुले अहिलेसम्म पनि कृषकहरुलाई सेवा दिन रोकिएका छैनन्, जुन सरकारका लागि सोचनीय विषय हो । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सरकारले गम्भीर भएर बीमा योजनामा ध्यान दिन जरूरी छ । यसलाई दीर्घकालीन रुपमा प्रभावकारी बनाउन नीति स्पष्ट र सहयोगी हुनुपर्छ ।

निर्जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा छ । यसलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

हाल बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा रहेको छ । विशेषगरी मर्जर भएका र नभएका कम्पनीहरुबीच । यसलाई न्यूनीकरण गर्न बीमा कम्पनीहरु र ग्राहक दुवैले सचेत हुन आवश्यक छ । अस्वस्थ प्रतिस्पर्धाले दीर्घकालीन रुपमा बीमा उद्योगलाई नोक्सान पु¥याउँछ । बीमा व्यवसाय भनेको कम मूल्यमा किन्ने होइन, उचित मूल्यमा सही सेवा बेच्ने प्रक्रिया हो । कतिपय कम्पनीहरुले अल्पकालीन व्यापार वृद्धिका लागि अनावश्यक छुट दिने वा प्रलोभन देखाउने प्रवृत्ति अपनाएका छन्, जसले दीर्घकालीन रुपमा ग्राहक र कम्पनी दुवैलाई असर पुर्याउँछ।

नियामक निकायहरुले अनावश्यक छुट तथा अस्वस्थ प्रतिस्पर्धालाई रोक्न प्रभावकारी अनुगमन गर्नुपर्छ ।

ग्राहकहरु पनि लोभमा परेर यस्ता अफरहरु स्वीकार गर्छन् तर दाबी गर्दा आवश्यक कटौती वा जटिलता सिर्जना हुन सक्छ । बीमा पोलिसी लिँदा छुट मात्र होइन, सेवाको गुणस्तर, दाबी प्रक्रिया र विश्वसनीयता पनि विचार गर्नुपर्छ ।

यस समस्यालाई समाधान गर्न बीमा कम्पनीहरुले नैतिक व्यावसायिक अभ्यास अपनाउनुपर्छ । ग्राहकहरुलाई बीमाको वास्तविक मूल्य र जोखिमबारे स्पष्ट जानकारी दिनुपर्छ । नियामक निकायहरुले अनावश्यक छुट तथा अस्वस्थ प्रतिस्पर्धालाई रोक्न प्रभावकारी अनुगमन गर्नुपर्छ । प्रतिस्पर्धा स्वस्थ रह्यो भने मात्र बीमा व्यवसाय दीर्घकालीन रुपमा स्थिर र विश्वासिलो बन्न सक्छ ।

नेपाल बीमक सङ्घले बनाएको आचारसंहिता कत्तिको प्रभावकारी भएको छ ?

नेपाल बीमक सङ्घले आचारसंहिता तयार पारेको छ । केही कम्पनीहरुले यसलाई राम्रोसँग पालन गरेका छन् भने केहीले अपेक्षाकृत कम पालन गरेका छन् । यसको प्रभावकारी कार्यान्वयनका लागि नियामक प्राधिकरणले आवश्यक कारबाही गर्नुपर्ने हुन्छ । तर, उचित अनुगमन र कार्यान्वयनको अभावले गर्दा समस्या उत्पन्न भइरहेको छ ।

निर्जीवन बीमामा प्रविधिको प्रयोगले कत्तिको सहज बनाएको छ ?

निर्जीवन बीमामा प्रविधिको प्रयोगले केही सहजता ल्याएको छ । पहिलाको तुलनामा डिजिटल प्रणालीको प्रयोगले सुधार त भएको छ तर अझै पर्याप्त छैन । अहिले अनलाइनमार्फत बीमा बिक्री गर्नुलाई मात्र डिजिटलाइजेशन मान्ने प्रवृत्ति छ, जबकि डिजिटल सेवाले ग्राहक सेटलमेन्ट प्रक्रियासम्म पुग्नुपर्छ । केही बीमा कम्पनीहरुले प्रविधि सुधार गर्न प्रयास गरिरहेका छन् तर पूर्णरुपमा प्रभावकारी बन्न अझै लगानी र प्रतिबद्धता आवश्यक छ ।

अन्य देशहरुमा प्रविधिको व्यापक प्रयोग भइसकेको छ, विशेषगरी क्लेम सेटलमेन्ट प्रक्रियामा । नेपालमा प्रमुख बीमा कम्पनीहरुले दाबी भुक्तानी प्रणाली प्रभावकारी बनाए बिजनेस प्रवद्र्धन गर्न अझ सहज हुने देखिन्छ । हाल बीमा पोलिसी बिक्री, भुक्तानी प्रणाली र क्लेम सेटलमेन्ट डिजिटल माध्यमबाट गर्न थालिएको छ । तर, अझै कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोग हुन सकेको छैन । डिजिटलाइजेसनको अर्को चरणमा एआई प्रविधिको समावेश आवश्यक छ, जसलाई क्रमशः विस्तार गर्नुपर्छ ।

नेपाल ठूला जोखिमहरुले घेरिएको क्षेत्र हो । यसलाई ध्यानमा राखेर निर्जीवन बीमा कम्पनीहरुले आफ्नो रणनीति कसरी बनाएका छन् ?

नेपाल विभिन्न ठूला जोखिमहरुले घेरिएको क्षेत्र भएकाले निर्जीवन बीमा कम्पनीहरुले आफ्नो रणनीति जोखिम व्यवस्थापनमा केन्द्रित गरेका छन् । बीमा व्यवसाय नै जोखिममा आधारित हुने भएकाले कुनै पनि घटना वा दुर्घटनालाई रोक्न सकिँदैन । तर, क्षति न्यूनीकरणका लागि विभिन्न बीमा पोलिसीहरु उपलब्ध गराइन्छन् । बीमा कम्पनीहरुले केही जोखिम आफ्नै व्यवस्थापनमा राख्छन् भने बाँकी पुनर्बीमाका (रिइन्स्योरेन्स) माध्यमबाट सुरक्षित गरिन्छ ।

बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो पोलिसी बेच्ने गर्छन् । जब बीमा प्रिमियम विभिन्न अनुपातमा बाँडिन्छ, ठूलो क्षति भएको अवस्थामा पनि भार न्यून हुन्छ । जलविद्युत्, बाढी, पहिरोजस्ता जोखिमहरु व्यवस्थापन गर्न बीमा कम्पनीहरुले पुनर्बीमाका रणनीतिहरु अपनाएका छन् । जब क्षतिको अनुपात उच्च हुन्छ, स्वाभाविक रुपमा बीमा प्रिमियम दर पनि बढ्छ ।

यदि क्षतिको दर बढ्दै गयो भने बीमा कम्पनीहरुका लागि पुनर्बीमा महँगो हुन जान्छ, जसको प्रत्यक्ष असर ग्राहकले तिर्ने बीमा शुल्कमा पर्छ ।

विश्वभर बीमा बजार जोखिम मूल्याङ्कनका आधारमा काम गर्छ । प्रत्येक देशको दुर्घटना दर, क्षति दर तथा जोखिमको प्रवृत्ति अध्ययन गरेर पुनर्बीमा कम्पनीहरुले प्रिमियम दर निर्धारण गर्छन् । यदि क्षतिको दर बढ्दै गयो भने बीमा कम्पनीहरुका लागि पुनर्बीमा महँगो हुन जान्छ, जसको प्रत्यक्ष असर ग्राहकले तिर्ने बीमा शुल्कमा पर्छ ।

विदेशमा पनि सतप्रतिशत बीमा हुँदैन तर नीति निर्माणकै आधारमा अनिवार्यरुपमा बीमा गराउनुपर्छ । बीमा कुनै विलासिता होइन, सुरक्षाको उपाय हो । समयमै बीमा नगर्दा ठूलो दुर्घटना हुँदा वित्तीय क्षति झेल्नुपर्छ । लस एञ्जलसको हालैको उदाहरणलाई हेर्दा पनि– जसले बीमा गरेको छ, उनीहरुको दाबी पुनर्बीमा कम्पनीहरुले भुक्तानी गर्नेछन् । यस्तो अवस्थामा बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय पुनर्बीमा बजारबाट नै आफ्नो दाबी रकम उठाउने गर्छन् ।

आगामी दिनमा नेपालका बीमा कम्पनीहरुले पुनर्बीमा खरिद गर्दा विश्व बजारमा प्रिमियम दर महँगो हुन सक्छ । त्यसको असर अन्ततः ग्राहकले तिर्ने बीमा शुल्कमा पर्नेछ । यसैले दीर्घकालीन रणनीति निर्माण गर्दा जोखिम मूल्याङ्कन, पुनर्बीमा व्यवस्थापन र ग्राहकहरुलाई उचित सेवासँगै सचेतना प्रदान गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक छ ।

विदेशमा जन्मदेखि मृत्युसम्मका सबै योजनाहरु बीमासँग जोडिएका हुन्छन् तर नेपालमा अझै यो स्तरको संरचना किन तयार भएको छैन ?

नेपालमा बीमा योजनाहरुको व्यापकता र प्रणालीमा अपेक्षित सुधार अझै हुन सकेको छैन । तर, सबै बीमा कम्पनीहरुले केही नयाँ प्रयासहरु गरिरहेका छन् । जब बजारको भोल्युम बढ्छ, प्रिमियम दर कम हुने र त्यसैले बीमा अफोर्ड गर्न सजिलो हुने सम्भावना हुन्छ । स्वास्थ्य बीमा नेपालमा सबैभन्दा महँगो हो र यसका बारेमा सरकारको आफ्नै पहल चलिरहेको छ । केही मानिसहरु सन्तुष्ट छन् भने केहीले भने आफ्नो अनुभव सकारात्मक छैन । प्रमुख समस्या भनेको भुक्तानी प्रणाली हो, जसमा अझै सुधारको आवश्यकता छ ।

स्वास्थ्य बीमाको पहुँच बढाउनको लागि आधारभूत सेवाहरु जस्तै– गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाजस्ता आवश्यकताहरुलाई ध्यानमा राखेर योजनाहरु अघि बढाउनुपर्छ । यदि सानो हेल्थपोष्टले आफ्ना सेवाहरुको बिलिङ प्रक्रिया सुरू गर्छ भने त्यस्तो अवस्थामा न त सरकार त्यसलाई थेग्न सक्छ न त बीमा कम्पनीहरुले । यसका लागि सरकारलाई प्राथमिक पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने हुन्छ । अस्पतालमा भर्ना भएर उपचार गर्दा बीमा योजनाले सहयोग पुर्याउँदा मानिसहरुको बल्ल बीमाको महत्व बुझनेछन् ।

बीमालाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकार तथा नियमनकारी निकायबाट के अपेक्षा छ?

बीमा क्षेत्रलाई प्रभावकारी बनाउन सरकार तथा नियामक निकायले नीति निर्माण र त्यसको उचित कार्यान्वयन गर्नुपर्छ । बीमा कम्पनीहरुले राम्रो सेवा प्रदान गर्दै जानु नै पर्छ । तर, जब क्लेमको कुरा आउँछ, त्यसको छिटो–छरितो व्यवस्थापन आवश्यक छ । यसो गर्दा बीमा कारोबारको भोल्युम पनि बढ्नेछ । कतिपय अवस्थामा हामी स्वयं बसेर समस्या समाधान गरेका छौँ किनभने बीमा आम सर्वसाधारणको पैसा हो र सो रकमको सुरक्षादेखि प्रतिफल सुनिश्चित गर्नुपर्छ । बीमा गरिसकेपछि ग्राहकलाई प्रचलित नियमअनुसार दायित्व पूरा गर्नुपर्छ ।

सरकार तथा नियामक निकायहरुले नीति तथा नियमहरु बनाए पनि तिनको कार्यान्वयन फितलो देखिन्छ । उदाहरणका लागि– थर्ड पार्टी बीमाको निर्णय क्याबिनेटमा वर्षौँसम्म अड्कियो । अन्ततः सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला यो नीति पारित भयो, जसले गर्दा बीमाको पहुँच तथा सङ्ख्यामा वृद्धि भयो । यसले बीमा कम्पनीहरुलाई बलियो बनायो, रोजगारी सिर्जना गर्यो, पूँजी सङ्कलन भयो र लगानीका अवसरहरु बढे ।

सरकारले थर्ड पार्टी बीमा अनिवार्य गरेपछि यातायातका कर्मचारीहरुले यसलाई गम्भीरताका साथ लिन थाले । पहिलेजस्तो बाटो बन्द र आगजनीका घटनाहरु न्यून भए । तर, अझै पनि यातायात व्यवस्थापनमा चुनौतीहरु छन् । उदाहरणका लागि– दर्ता भएका गाडीहरुको वास्तविक सङ्ख्या मिल्दैन, कर्मचारीहरुको उदासीनताका कारण कार्यान्वयन कमजोर छ । अधिकांश गाडी लोनमा किनिएका हुन्छन् तर कतिपय अवस्थामा बीमा नगरीकनै चलाइन्छ । मोटरसाइकलहरुको हकमा त रोड ट्याक्ससमेत नतिर्ने प्रवृत्ति देखिन्छ । बिक्री गर्ने बेला ठूलो रकम तिर्नुपर्ने भएकाले कतिपयले गाडी डम्प गरिदिन्छन् ।

क्लेम वास्तविक हुनुपर्छ, पाोलिसीका नियम तथा सर्तहरुअनुसार हुनुपर्छ र त्यसलाई छिटोछरितो सेटल गर्नुपर्छ । हामीले यही अभ्यासलाई निरन्तरता दिइरहेका छौँ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार बीमा र रोड ट्याक्सजस्ता दायित्वहरु प्याकेज प्रणालीमार्फत एकैपटक तिर्ने व्यवस्था लागू गर्न सकिन्छ । यसले सर्वसाधारणलाई पनि सुविधा पुर्याउनेछ । अहिलेको प्रणालीमा न त रोड ट्याक्स नियमित उठ्छ, न बीमा गरिन्छ, न भ्याट सङ्कलन हुन्छ । यसको परिणामस्वरुप सरकारलाई राजस्व नोक्सानी हुन्छ । यदि व्यवसायको भोल्युम वृद्धि भएमा रोजगारी अवसर बढ्नेछ, सरकारको कर आम्दानी वृद्धि हुनेछ र विकासका परियोजनाहरुमा थप लगानी गर्न सकिनेछ । सामान्य विषयजस्तो देखिए पनि यसको प्रभाव गहिरो हुन्छ । त्यसैले नीति नियमहरु बनाउने मात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वर्तमान अवस्था र भविष्यका योजना के छन् ?

बीमा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पक्ष नै क्लेम व्यवस्थापन हो । हाम्रो धारणा स्पष्ट छ— क्लेमको प्रक्रियामा ग्राहकलाई दुःख दिनु हुँदैन । क्लेम वास्तविक हुनुपर्छ, पाोलिसीका नियम तथा सर्तहरुअनुसार हुनुपर्छ र त्यसलाई छिटोछरितो सेटल गर्नुपर्छ । हामीले यही अभ्यासलाई निरन्तरता दिइरहेका छौँ । म यहाँ आबद्ध भएदेखि नै हामीसँग निरन्तररुपमा जोडिरहनु भएका ग्राहकहरु हुनुहुन्छ, जुन हाम्रो गुणस्तरीय सेवा र विश्वासको परिणाम हो । हामीले जितेको यो विश्वासलाई अझ मजबुत बनाउँदै अगाडि बढ्नेछौँ । हाम्रो टिम हरेक ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध छ ।

हामी बजारमा आवश्यक बीमा उत्पादन (प्रडक्ट) को विश्लेषण गर्दै अगाडि बढिरहेका छौँ । ‘हात–हातमा बीमा’ भन्ने हाम्रो मूलभूत अवधारणाअनुसार हामीले डिजिटलाइजेसनलाई विशेष प्राथमिकता दिँदै आएका छौँ । यसलाई अझ प्रभावकारी रुपमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा निरन्तर कार्य भइरहेको छ ।

हाम्रो उद्देश्य केवल पोलिसी बेच्नु होइन, उपयुक्त पोलिसी उपलब्ध गराउनु हो । क्लेम परेमा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।

स्वास्थ्य बीमाका सन्दर्भमा हाम्रो ‘सगरमाथा आरोग्य बीमा’ एक विशिष्ट (युनिक), किफायती र व्यापक कभरेज भएको योजना हो । हाल यसको वार्षिक प्रिमियम मात्र एक हजार छ सय रुपैयाँ रहेको छ, जसले यसलाई सबैका लागि सुलभ बनाएको छ । साथै, कृषि बीमाका लागि केही एनजीओ (NGO) र अन्तर्राष्ट्रिय संस्थाहरु (INGO) सँगको सहकार्यमा पनि कार्यरत छौँ ।

आगामी दिनमा हामी केही नयाँ बीमा उत्पादनहरु बजारमा ल्याउने योजनामा छौँ । स्वास्थ्य बीमा क्षेत्रको राम्रो सम्भावना देखिएकाले त्यसमा विशेष ध्यान केन्द्रित गर्दैछौँ । अन्य सबै बीमा व्यवसायहरुको प्रकृति प्रायः समान हुन्छ तर मुख्य कुरा त्यसलाई प्रभावकारी रुपमा बजारमा कसरी प्रवद्र्धन गर्ने भन्ने हो ।

हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौँ । हाम्रो उद्देश्य केवल पोलिसी बेच्नु होइन, उपयुक्त पोलिसी उपलब्ध गराउनु हो । क्लेम परेमा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ र यही सेवाका माध्यमबाट हामी निरन्तर वृद्धि गर्दै जानेछौँ । समयबोध म्यागेजिनको माघ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री