
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। बैंकले विगत १८ वर्षदेखि ग्राहकलाई सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नयाँ शाखा थपिएसँगै काठमाडौं उपत्यकामा बैंकका ३९ तथा वाग्मती प्रदेशभर ५५ शाखा पुगेका छन्।
पानीपोखरी शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले एक विशेष समारोहबीच गर्नुभएको हो। कार्यक्रममा अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले शाखाका कर्मचारीलाई अनुशासन र मर्यादित ढंगबाट कार्य गर्दै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रेरणा दिनुभयो।
उद्घाटन कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टोलीका सदस्यहरू, स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो।
बैंकले नयाँ शाखामार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। शाखा सञ्चालनको अवसरमा यहाँ खाता खोल्दा पहिलो वर्षका लागि कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा निःशुल्क उपलब्ध हुनेछ। साथै, डिम्याट खाता खोल्दा पहिलो वर्षको शुल्क छुटको व्यवस्था गरिएको छ। लकर सेवामा अनिवार्य मौज्दातमा २५% र पहिलो वर्षको लकर शुल्कमा ५०% छुट उपलब्ध गराइनेछ।
हालै मात्र बैंक अफ द इयर २०२४ उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै नेपालमै पहिलो पटक फोनपे संगको सहकार्यमा सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) संचालनमा ल्याएको छ। साथै, बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा प्रदान गर्ने सुविधा पनि शुरु गरेको छ।
हाल, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६० जिल्लामा १९८ शाखा, १६३ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।










प्रतिक्रिया