मंगलबार, २४ असार २०८२

भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ २०२५ को लागि कर्टन रेजर सम्पन्न

समयपोष्ट २०८१ माघ २५ गते २०:५७

Advertisement

काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रवार दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को कर्टन रेजर कार्यक्रम आयोजना गर्यो। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भए।

कार्यक्रमको सुरुवात गोलमेच सम्मेलनबाट भयो, जसमा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस-आईटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय तथा नेपाली स्टार्टअपका प्रतिनिधिहरू उपस्थित थिए।

विशेष सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा स्टार्टअपहरूका लागि अवसर सिर्जना गर्न नवीनतम प्रविधिहरूको उपयोगबारे चर्चा गरे। हालै जारी गरिएको एआई नीतिको मस्यौदाबारे जानकारी गराउँदै उनले एआई र स्टार्टअपको क्षेत्रमा भारत-नेपाल सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

Advertisement

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन सत्रमा भारतमा स्टार्टअप संस्कृति कसरी मुख्यधार बनेको छ भन्नेबारे जानकारी गराए। उनले भारतले डिजिटल प्रविधिमा गरेको उल्लेखनीय प्रगति र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले सीमापार स्टार्टअप सहकार्यलाई कसरी प्रवर्द्धन गरिरहेको छ भन्नेबारे प्रकाश पारे। साथै, नेपालका फोनपे र भारतको यूपीआईबीचको अन्तरसञ्चालनशीलता उल्लेख गर्दै मार्च २०२४ पछि चार लाखभन्दा बढी कारोबार भइसकेको बताए।

भारत सरकारको डीपीआइआइटीका सहसचिव संजीवले स्टार्टअप महाकुम्भ २०२५ को प्रस्तुति दिँदै उक्त कार्यक्रम स्टार्टअप क्षेत्रका लागि प्रमुख प्लेटफर्मका रूपमा स्थापित भइसकेको बताए। उनले फिनटेक, एआई, साइबर सुरक्षा, कृषि प्रविधि, स्वास्थ्य सेवा र गेमिङ जस्ता क्षेत्रमा केन्द्रित प्रदर्शनीहरू रहने जानकारी दिए। स्टार्टअप महाकुम्भमा ३,००० भन्दा बढी प्रदर्शक, १०,००० स्टार्टअप, १,००० लगानीकर्ता तथा ५०,००० भन्दा बढी व्यावसायिक आगन्तुकहरूको सहभागिता रहनेछ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआई) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले नेपालमा स्टार्टअप नीति विषयक प्रस्तुति दिए। यस्तै, आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले इन्क्यूबेसन प्रवर्द्धन र प्रविधि विकासमा आइआइटी मद्रासको भूमिका स्पष्ट पारे।

कार्यक्रममा दुईवटा प्यानल छलफलहरू भए। पहिलो प्यानल छलफलमा भारत र नेपालका स्टार्टअपहरूका लागि उपलब्ध अवसरहरूबारे चर्चा भयो। टेक एक्सआरका प्रमुख प्रशान्त मिश्र, एफ वान सफ्टका असगर अली, खल्तीका अमित अग्रवाल तथा आइआइटी मद्रासका राजेन्द्र मुथाले आफ्ना अनुभव साझा गरे। दोस्रो प्यानल छलफल डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा केन्द्रित रह्यो, जसमा वृद्धि सञ्जाल प्रा.लि.का शिक्षित भट्ट, नेपाल क्लियरिङ हाउसका नीलेश मान प्रधान, काठमाडौं विश्वविद्यालयका डा. बालकृष्ण बल तथा स्कुलनेटका हिमांशु तिवारीले आफ्ना विचार प्रस्तुत गरे।

कार्यक्रमभरि नेपाल-भारत स्टार्टअप सहकार्यको विविध सम्भावनाहरू, प्रविधिको उपयोग, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) को विकास तथा नवप्रवर्तनका अवसरहरूबारे विस्तृत छलफल भयो। सहभागीहरूले नेपाल र भारतका स्टार्टअपहरूबीच आपसी सहकार्य बढाउनुपर्नेमा जोड दिए।

नेपाल र भारत दुवै देश अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्न चाहने स्टार्टअपहरूका लागि राम्रो बजार हुन्। दुवै देशका स्टार्टअपहरूले सामाजिक चुनौतीहरू समाधान गर्न नयाँ प्रविधिहरूको उपयोग गरिरहेका छन्। नेपालमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले नयाँ स्टार्टअपहरूलाई नवप्रवर्तन गर्ने अवसर प्रदान गर्छ। भारतमा सफल भएको यो मोडेल नेपालका लागि पनि लन्चप्याड बन्न सक्छ। डीपीआई प्लेटफर्महरू बीचको सीमापार सम्पर्कले स्टार्टअपहरूलाई थप फाइदा पुग्नेछ।

नेपाली स्टार्टअपहरूले भारतबाट उपलब्ध पुँजी तथा परामर्श सञ्जाल, विशेष गरी आइआइटी मद्रास प्रवर्तक जस्ता इन्क्यूबेटरहरूबाट लाभ लिन सक्छन्। सहभागीहरूले आइआइटी मद्रास प्रवर्तक र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयबीचको सम्झौतापत्र जस्ता सम्बन्धहरूको प्रशंसा गरे। स्टार्टअप क्षेत्रमा नेपाल र भारतबीच थप सहकार्य आवश्यक रहेको भन्दै सहभागीहरूले सहकार्य विस्तार गर्न आग्रह गरे।

नेपाल सरकारका सचिव राधिका अर्याल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको विशेष सम्बोधनपछि कार्यक्रम समापन भयो।

भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा नेपाल-भारत स्टार्टअप कनेक्टलाई निरन्तर प्रवर्द्धन गरिने प्रतिबद्धता जनाइएको छ। साथै, स्टार्टअप महाकुम्भ २०२५ मा नेपाली स्टार्टअपहरूको उत्साहजनक सहभागिताका लागि नेपाल कक्ष उपलब्ध गराइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री