युनिलिभर नेपालको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Advertisement

सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४२ करोड १० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको सञ्चालन आम्दानी वृद्धि हुनु र कुल खर्चमा कमी आउनुले नाफा वृद्धि गर्न योगदान गरेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशतले वृद्धि भई १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यसैगरी, कुल आम्दानी ३.०१ प्रतिशतले बढेको छ भने कुल खर्च १.०९ प्रतिशतले घटेको छ।

नाफामा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उकालो लागेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १२३ रुपैयाँ ३४ पैसाले बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य-आम्दानी अनुपात ४३.२७ गुणा पुगेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री